नैतिक संकटमा प्रधानन्यायाधीश पराजुली, राजीनामा दिनुपर्ने दवाव
सारांश
- काठमाडौं, २६ पुस ।
- सर्वोच्च अदालतले नै प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि छानविन सुरु गर्ने आदेश दिएपछि प्रधानन्यायाधीश पराजुलीमाथि राजीनामा दिनुपर्ने नैतिक दवाव परेको छ ।
- नैतिक संकटमा परेपछि उनी तनावमा रहेको बताइएको छ ।
काठमाडौं, २६ पुस । सर्वोच्च अदालतले नै प्रधानन्यायाधीश गोपाल पराजुलीका नागरिकता र शैक्षिक प्रमाणपत्रमाथि छानविन सुरु गर्ने आदेश दिएपछि प्रधानन्यायाधीश पराजुलीमाथि राजीनामा दिनुपर्ने नैतिक दवाव परेको छ । नैतिक संकटमा परेपछि उनी तनावमा रहेको बताइएको छ ।
अदालती छानविनको प्रक्रियामा मुछिएपछि प्रधानन्यायाधीश पराजुलीका अगाडि दुईवटा विकल्प बाँकी रहेको कानुनका जानकारहरु बताउँछन् । पहिलो, छानविन पूरा नहुँदासम्म नैतिकरुपले अदालती प्रशासनको काम नगरिकन हाजिर मात्रै गर्ने वा बिदामा बस्ने । दोस्रो, नैतिकताका आधारमा राजीनामा दिने । परिमार्जित उमेर अनुसार प्रधानन्यायाधीश पराजुलीको कार्यकाल आगामी बैशाख १५ गतेसम्म छ । पुरानो मितिअनुसार पराजुलीले गत साउनमै अवकाश पाइसक्ने थिए ।
सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुृमार श्रेष्ठको संयुक्त इजलासले बुधबार प्रधानन्यायाधीश पराजुलीका दुबै नागरिकताका प्रतिलिपि र शैक्षिक प्रमाणपत्र, उमेरका सम्बन्धमा न्यायपरिषदबाट भएको निर्णय र शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिसमेत झिकाउनू भन्ने आदेश गरेको छ । अदालतको यही आदेशसँगै पराजुली छानविनको दायरामा परेका हुन् ।
सर्वोच्च अदालतको आदेशले अझै थप बोलेको छ । आदेशको दोस्रो बुँदाले डा. शशि श्रेष्ठका सम्बन्धमा यसअघि भएको निर्णयको समेत फाइल तानेको छ । जबकि चिकित्साशास्त्रको डीन नियुक्ति सम्बन्धी सो निर्णय गोपाल पराजुलीसमेतको बेञ्चले गरेको थियो । यसबाट प्रधानन्यायाधीश पराजुली थप नैतिक दबावमा परेका छन ।
प्रतिक्रिया