राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका: उपराष्ट्रपति पुनमगर
सारांश
- काठमाडौँ, १९ माघ ।
- उपराष्ट्रपति नन्दबहादुर पुनमगरले नेपालको हरेक राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको बताएका छन् ।
- शुक्रबार भृकुटीमण्डप प्रदर्शनीकक्षमा राष्ट्रिय फोटो पत्रकार समूह केन्द्र काठमाडौंद्वारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दा सो कुरा बताएका हुन् ।
काठमाडौँ, १९ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनमगरले नेपालको हरेक राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको बताएका छन् । शुक्रबार भृकुटीमण्डप प्रदर्शनीकक्षमा राष्ट्रिय फोटो पत्रकार समूह केन्द्र काठमाडौंद्वारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दा सो कुरा बताएका हुन् ।
उपराष्ट्रपति पुनमगरले शासकहरुबाट खोसिएका जनताका अधिकारलाई स्थापित गर्न जीवनको कुनै पर्बाह नगरी कार्यक्षेत्रमा फोटो पत्रकारहरुले देखाएको कामको उच्च प्रशंसा गरेका थिए । उपराष्ट्रपति पुनमगरले हजार शव्द भन्दा एउटा फोटोको महत्व सयौँ गुण बढी हुने बताउँदै सत्यतथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पु¥याएको योगदानको स्मरण गरेका थिए ।
नेपाल फोटो पत्रकार समूह (एनएफपिजे)ले आयोजना गरेको उक्त प्रदर्शनी पहिलो हो । प्रदर्शनीमा सञ्चार क्षेत्रसँग सम्वन्धित उपकरण स्टलमा समावेश गरिएका छन् । प्रदर्शनी माघ २१ गतेसम्म आयोजना गरिने भएको छ ।
कार्यक्रममा रक्षामन्त्री भीमसेनदास प्रधानले सत्य र निष्ठाको अर्का नाम फोटो पत्रकारिता भएको बताए । त्यस्तै, नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले फोटो पत्रकारसँग समाज रुपान्तरण गर्ने शक्ति, सामथ्र्य र प्रभाव हुने बताए ।
एनएफपिजेका अध्यक्ष ध्रुव आले र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले फोटो पत्रकारहरु समाजको ऐना भएकाले राज्यबाट पत्रकारको सुरक्षा हुनुपर्ने बताए । कार्यक्रममा हरि रेग्मी कार्यक्रम संयोजक, नेपाल मुद्रण संघका अध्यक्ष माधव केसी, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल, एनएफपिजेका अध्यक्ष ध्रुव आले लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण सचिव प्रदिपराज वन्तले गरेका थिए ।
प्रदर्शनीमा जापान, ताइवान, भारत, चीन लगायतका देशमा निर्माण भएका सञ्चार उपकरणहरु ६० कक्ष मार्फत विक्री वितरणमा राखिएका छन् ।

प्रतिक्रिया