नियमविपरीत दशगजाभित्रै भारतीय बस्ती
सारांश
- काठमाडौं, २३ माघ – लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ ।
- यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ ।
- अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन ।
काठमाडौं, २३ माघ – लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन । दशगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय पक्षले प्रवेशद्वार बनाएको छ । प्रवेशद्वार उत्तरतर्फ दशगजाको जग्गा खाली हुनुपर्नेमा त्यहीँ भन्सार कार्यालय र दुई दर्जन बस्ती छन् । यो खबर आजको कान्तिपुर दैनिकमा भरत जर्घामगरले लेखेका छन् ।
जग्गा खाली रहेकाले घर बनाएर बसेको भारत, लौकाहाका सन्तोष साहले बताए । ‘बिहान–बेलुका मजदुरी गरी गुजारा चलाउँछौं,’ उनले भने, ‘दशगजामै कस्टम कार्यालय भएकाले हामीले पनि घर बनाएर बसेका हौं ।’ आफूहरू वर्षांदेखि त्यहीँ बसिरहेको जनाउँदै उनले सबै गरी १२ वटाजति घर बनेको जानकारी दिए । यहाँ अधिकांश सुकुम्बासीकोबसोबास छ ।
‘जिल्लाबाट सीडीओ र एसपीसाबहरू यतातिर आउँदा हामी जहिल्यै पनि दशगजाबाट भारतीय कस्टम हटाउनुपर्छ भनेर कुरा राख्छौँ तर अहिलेसम्म पहल भएन,’ ठाडीका स्थानीय अगुवा कन्हैया भट्टले भने, ‘कस्टम कार्यालयअगाडि नै दशगजामा भारतीय नागरिकले चियापसल खोलेका छन्, बस्तीसमेत बसालेका छन् ।’ ठाडी सीमामा भारतीय लौकाहा बजार छ । त्यहाँ आइतबार र बिहीबार साप्ताहिक हाट बजार लाग्छ ।
त्यस क्रममा भारतीय पक्षले साइकल, मोटरसाइकल र चारपांग्रे सवारी नेपालतर्फ पार्किङ गर्दा यताका व्यापारीले सास्ती भोग्नुपरेको भट्टले सुनाए । सुरक्षास्रोतका अनुसार भारतको निकटवर्ती सहर जयनगरमा दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकमा नेपालपक्षले सीमाछेउका मदिरा पसल हटाउने तथा भारतीय पक्षले ठाडीसँग जोडिएको दशगजाबाट भन्सार कार्यालय हटाउने सहमति भएको थियो । नेपाली सीमाछेउका मदिरा पसल हटाइए पनि भारतीय पक्षले भन्सार कार्यालय अझै हटाएको छैन ।
‘कस्टमसँगै भारतीय पक्षले सीमामै चेकजाँचका लागि ढाट नै राखेको छ,’ सशस्त्र प्रहरी बल ठाडीका प्रमुख सुशील बस्नेतले भने, ‘भारतीय सीमा सुरक्षा बलका अधिकारीसँग दशगजा क्षेत्रबाट कस्टम कार्यालय सार्न आग्रह गरेका छांै, कार्यान्वयन भएको छैन, फेरि पनि पहल गर्छु ।’
भारतीय भन्सारका अधिकारीले भने स्थायी संरचना नभई व्यापारिक कारोबार र जाँचमा सहजताका लागि तत्काललाई छाप्रोबाट काम चलाउने गरिएको बताउँदै आएका छन् । नेपालपट्टिका भन्सार प्रमुख राजेन्द्र हमालले दुई देशको सीमा र कूटनीतिका कुरा भएकाले आफूले केही भन्न नसक्ने प्रतिक्रिया दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया