महरालाई सभामुखको जिम्मेवारीमा पठाउने प्रचण्ड चाहना
सारांश
- काठमाडौं, ११ फागुन ।
- एमाले–माओवादी केन्द्रको पार्टी एकीकरण र नयाँ सरकार गठनमा झण्डै अदृश्य भूमिकामा रहेका माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा एक्कासी चर्चामा आएका छन् ।
- कुनै पनि पद प्राप्तिको दौडमा नरहेका महरालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” स्वयंले सभामुखमा पठाउने चाहना व्यक्त गरेपछि उनी पुनः एकपटक चर्चामा आएका हुन् ।
काठमाडौं, ११ फागुन । एमाले–माओवादी केन्द्रको पार्टी एकीकरण र नयाँ सरकार गठनमा झण्डै अदृश्य भूमिकामा रहेका माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महरा एक्कासी चर्चामा आएका छन् । कुनै पनि पद प्राप्तिको दौडमा नरहेका महरालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” स्वयंले सभामुखमा पठाउने चाहना व्यक्त गरेपछि उनी पुनः एकपटक चर्चामा आएका हुन् ।
वरिष्ठ नेता महराले यसअघि आफ्ना निकटवर्तीहरुलाई आफू कहींकतै पदको दौडमा नरहेको बताउने गरेका थिए । दाङ– २ बाट प्रतिनिधिसभामा भारी मतान्तरले विजयी महरा मन्त्रिमण्डलमा नजाने निश्चित भएपछि माओवादी केन्द्रले आफ्नो भागमा परेको सभामुख पदका लागि सधैं पाको र संयोजनकारी भूमिकामा रहने नेता कृष्णबहादुर महरालाई उपयुक्त पात्रको रुपमा देखेको माओवादी केन्द्रनिकट स्रोतले बतायो ।
आफ्नो भागमा परेका मन्त्रीहरुको नाम छान्न बुधबार बसेको सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डले नै सभामुखमा महरालाई पठाउने चाहना व्यक्त गरेका थिए । यसअघि सभामुखमा ओनसरी घर्ती पुनः दोहोरिने चर्चा थियो । अध्यक्ष प्रचण्डले नै महरालाई सभामुखमा पठाउने चाहना व्यक्त गरेपछि ओनसरीको सम्भावना टरेको बताइन्छ । महराले नै गृहमन्त्रीमा रोल्पाकै वर्षमान पुन “अनन्त”लाई प्रस्ताव गरेकाले सभामुखमा महराका लागि अनन्त पनि सकारात्मक बन्ने देखिएको माओवादी स्रोत बताउँछ । सबैलाई मान्य हुने नाम भएकोले सभामुखमा सम्भवतः महराकै नाममा सहमति हुने देखिन्छ ।
वरिष्ठ नेता महरा २०४८ सालमै रोल्पाबाट प्रतिनिसभामा विजयी भएर संसदीय राजनीतिको अभ्यास थालेका थिए । १० वर्षे जनयुद्धमा पार्टीका महत्वपूर्ण जिम्मेवारीहरुलाई कुशलतापूर्वक निर्वाह गरेका महराले शान्तिप्रक्रियाको चरणमा पनि सरकारमा माओवादीको तर्फबाट नेतृत्व गरेका थिए । सरकार–माओवादी वार्ताका क्रममा पहिलो र तेस्रो माओवादी वार्ता टोलीका संयोजक रहेका महरा २०६४ को संविधानसभा निर्वाचनमा दाङ– ३ बाट र २०७० मा भएको दोस्रो संसदीय निर्वाचनमा रोल्पा– १ बाट निर्वाचित भएका थिए । उनी यसअघिका सरकारमा माओवादीको नेतृत्व गरेर उपप्रधान तथा अर्थ, गृह, परराष्ट्र, सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
Shashi Sharma
Right man right place
Mukti Dhakal
Very good