जाँड
सारांश
- बिना तामाङ हेटौडा नगरपालिका– ९ लामसुरेमा जन्मिएकी बिना थिङ तामाङ हाल बुढानीलकण्ठ– १ काठमाडौंकी बासिन्दा हुन् ।
- शिक्षण पेशासँगै निरन्तर साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी बिनाका “छुकी” कथासंग्रह र “रातोघर” कवितासंग्रह प्रकाशित छन् ।
- विभिन्न कविता प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गरेकी बिनाले थुप्रै साहित्यिक पुरस्कार र सम्मानहरु प्राप्त गरिसकेकी छन् ।
बिना तामाङ
हेटौडा नगरपालिका– ९ लामसुरेमा जन्मिएकी बिना थिङ तामाङ हाल बुढानीलकण्ठ– १ काठमाडौंकी बासिन्दा हुन् । शिक्षण पेशासँगै निरन्तर साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी बिनाका “छुकी” कथासंग्रह र “रातोघर” कवितासंग्रह प्रकाशित छन् । विभिन्न कविता प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गरेकी बिनाले थुप्रै साहित्यिक पुरस्कार र सम्मानहरु प्राप्त गरिसकेकी छन् । यहाँ प्रस्तुत छ, उनै बिना थिङ तामाङको “जाँड” शीर्षकमा कविता–
म भन्दैछु
नपोखाउनुस न त्यो घ्याम्पाबाट
मेरै रगत जस्तो
छिप्पिएको निङार
अनि नफुटाउनुस न
पेटासीभित्रको त्यो सानो नानी
जहाँ झरेको छ
मेरो पसीनाको खोल्ची
जसलाई पिएर अचेल
मानबहादुर तामाङहरु हैनन्
मिनबहादुर बिष्टहरु मात्छन् र
बाटोमै तुर्क्याउँछन्
उहिले उहिले कखरी पढ्न नपाएको झोंकमा
हाम्रा म्हेमेहरुले
उचालेछन् जाँडका डबका
पारेछन् स्वाट्ट भुईमै नराखी
भर्नु जो थियो रित्तो पेट
अनि मातेर जोतेछन्
बाँझो जमिन
उमारेछन् अन्न
केलाएछन् झार
जब झरिला भए बाली
भित्र्याए साहु इजी (हरि) ले
आफ्नो धनसारमा
किनकी उनिहरुलाई जित्ने बानी
परेको थियो
त्यो हारको झोंकमा म्हेमेहरुले पुन:
उचालेछन् जाँडका डबकाहरु
अनि रित्याएछन् आफैलाई
निरन्तर निरन्तर मानबहादुरहरु
जड्याँहा बने
हरिहरुले तमासा हेरे
सदियौं यो क्रम जारी रह्यो
समयसंगै
बिस्तारै मान्यताहरु भत्किए
पहाडहरु ओर्लिए
अचेल म जाँड पिउँदिन
म्हेमेले जस्तै
तर म जाँड बनाउँछु अझै
र बिक्री गर्छु
तपाईंलाई थाहा छ?
मदिरा बाजी परेछ भने
अहिले हरिसहरुले जित्छन्
किनकी उनिहरुलाई जित्ने बानी
परेको छ
नोट
म्हेमे= बाजे
पेटासी =रक्सी बनाउने भाँडा
नानी= बाफ चिसिएर रक्सीको रुपमा परिणत भैइ झरेर जम्मा हुने माटोको सानो भाँडो
प्रतिक्रिया