कान्छो छोरा पनि बाकसमै फर्के, रोजगारीमा गएका ३ भाइको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कान्छो छोरा पनि बाकसमै फर्के, रोजगारीमा गएका ३ भाइको मृत्यु

सारांश

  • म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ ।
  • कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ ।
  • २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् ।

म्याग्दीको दुर्गम मालिका गाउँपालिकाको रुम गाउँ अहिले शोकमग्न छ । कारण, वैदेशिक रोजगारीमा गएका जवान युवा धर्मलाल रोकामगर गाउँले गुमाएको छ । २८ वर्षीय छोरो गुमाएका ७५ वर्षीया लीलामती र ८० वर्षीय धनबहादुर झन् मर्माहत छन् ।

धर्मलाल लालमती र धनबहादुरका कान्छा छोरा थिए । बुढा बाआमाको गुजारा चलाउनकै लागि अविवाहित उनी मलेसिया पुगेका थिए । आगामी दसैँमा घर फर्किने र बिहे गर्ने योजना थियो उनको । तर, उनको सपना मलेसियामै समाप्त भयो ।

रोकामगर परिवारका लागि यो पहिलो प्रहार होइन । त्यसअघिको पीडा पनि खपिनसक्नु छ । लीलामती र धनबहादुरले अरू दुई छोरा यसअघि नै गुमाइसकेका थिए, त्यो पनि वैदेशिक रोजगारीकै क्रममा । १२ वर्षअघि माइला छोरा भक्तबहादुरको कतारमा र जेठा छोरा तमबहादुरको १० वर्षअघि मलेसियामा मृत्यु भएको थियो । १८ महिनाको अन्तरमा भएका दुई निर्मम घटनाबाट बिछिप्त बुढा बाआमालाई कान्छा धर्मलालले सम्हाल्दै आएका थिए ।

तर, झण्डै एक साताअघि धर्मलालले पनि संसार छाडे । अब रोका दम्पतीको सहारा साइँला छोरा थमबहादुरमात्रै छन् । रोजगारीकै लागि मलेसिया रहेका उनी पनि एक साताअघिमात्रै नेपाल फर्किएका थिए । मलेसियाबाट छुट्ने बेला उनले भाई धर्मलाललाई भेटेका थिए । आम्दानी राम्रो नभएपछि जागिर छाडेर घर फर्किएका उनी भाइ गुमाउँदाको पिडाले विछिप्त छन् । ‘सम्पती कमाउन गएको परिवारको सदस्य नै गुमेपछि अब के नै आशा बाँकी रहयो र !’ थमबहादुरले भने, ‘दुई दाइको निधन भएपछि भाइ र मैले नै जेनतेन घरपरिवार सम्हाल्दै आएका थियौँ, भाइले पनि संसार छोडेर गयो ।’

थमबहादुरसँगको अन्तिम भेटमा धर्मलालले भनेका थिए रे, दशैँमा घर आउँछु र विहे गर्छु । भाईको बचन सुनाईदिँदा बुढी आमा बुहारी पाउने आशले उद्देलित भएको थमबहादुरले स्मरण गरे । तर, अहिले यी सब उनलाई सपनाझैँ लागिरहेछ । ‘हप्ता दिनअघि हाँसी हाँसी विदा भएको भाईलाई बन्द बाकसमा भेट्दा सपनाझैँ लागेको छ,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव बुझ्दै गर्दा उनले भने ।

नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?