सरकार नै सूचनाको हक कार्यान्वयनमा सकारात्मक छैन : आयुक्त तिम्सिना
सारांश
- घोराही, २९ चैत ।
- राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हक कार्यान्वयनको विषय विकास र समृद्धिसँग जोडिएको बताएकी छन् ।
- नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त तिम्सिनाले सूचना प्रवाहले पारदर्शिता ल्याउने र समृद्धिमा मद्दत पुग्ने बताइन् ।
घोराही, २९ चैत । राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हक कार्यान्वयनको विषय विकास र समृद्धिसँग जोडिएको बताएकी छन् । नेपाल पत्रकार महासंघ दाङले बिहीबार घोराहीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै आयुक्त तिम्सिनाले सूचना प्रवाहले पारदर्शिता ल्याउने र समृद्धिमा मद्दत पुग्ने बताइन् ।
सूचनाको हकलाई कानुनमा मौलिक हक भनेर उल्लेख गरे पनि सरकार नै यसको कार्यान्वयनमा उदासीन देखिएको आरोप लगाइन् । सरकारले आफ्ना सेवा प्रदायक निकायहरुलाई सूचनाको हकसम्बन्धी विषयमा दक्षता बनाउन नसक्दा कार्यान्वयनको पक्ष फिलतो भएको उनको भनाई छ ।
आयुक्त तिम्सिनाले सूचना पाउनका लागि अपनाइने प्रक्रियाका बारेमा सूचना लिने जानकार हुनुपर्ने र सूचना दिनेले पनि सूचना दिनु मेरो जिम्मेवारी हो भन्ने भावना हुनुपर्ने उल्लेख गरिन् । जनताले जान्न पाउने अधिकारभित्र सूचनाको हक पर्ने भएकाले बेथितिमात्रै नभई थिति बसाल्ने अस्त्रका रुपमा लिन आवस्यक रहेको औंल्याइन् ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले सूचनाको हक कार्यान्वयनका लागि आफूहरुले समन्वयकारी भूमिकामा बस्ने बताए । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सूचना प्रवाहलाई जिम्मेवारीका रुपमा लिएको बताए । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अमरराज आचार्यले सबै सरकारी कार्यालयहरुमा सूचना अधिकारीको व्यवस्था गरिएको जानकारी दिए ।
महासंघका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव उदय जीएम, दाङका पूर्बअध्यक्ष केबी मसाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, पत्रकारहरु केपी घिमिरे, सुनिलकुमार पोख्रेल लगायतले अहिले पनि सहजै सूचना प्राप्त गर्न सक्ने वातावरण नरहेको बताएका थिए ।
प्रतिक्रिया