इटहरीका मेयर माथि हातपात ! प्रहरीमा उजुरी
सारांश
- काठमाडाै, २७ वैशाख ।
- इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि हातपात गरेको आरोपमा इटहरीका तीन स्थानीयविरुद्ध बुधबार (२५ बैशाख) किटानी जाहेरी परेको छ।
- इटहरी–५ का सन्तोष अधिकारी, राजकुमार खड्का र इटहरी–४ का पूर्णकृष्ण श्रेष्ठविरुद्ध किटानी जाहेरी परेको हो।
काठमाडाै, २७ वैशाख । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीमाथि हातपात गरेको आरोपमा इटहरीका तीन स्थानीयविरुद्ध बुधबार (२५ बैशाख) किटानी जाहेरी परेको छ। इटहरी–५ का सन्तोष अधिकारी, राजकुमार खड्का र इटहरी–४ का पूर्णकृष्ण श्रेष्ठविरुद्ध किटानी जाहेरी परेको हो।
इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार उनीहरूविरुद्ध मेयर चौधरीमाथि हुलहुज्जतसहित गालीगलौज गरेको आरोप लागेको छ। खड्का खेतीपैनी बचाऊ संघर्ष समितिका अध्यक्ष हुन् भने श्रेष्ठ सचिव र अधिकारी समितिका सदस्य।
भएको के थियो ?
संघर्ष समिति तथा तुलसा टोल विकास समितिको अगुुवाईमा बुधबार करिब ५० जनाको टोली इटहरी उपमहानगरस्थित मेयर चौधरीको कार्यकक्ष पुुगेको थियो। उनीहरूले बर्खा लागिसकेको हुँदा खेती खोलामा डोजर लागेर बन्द भएको अवस्थामा आफ्ना घर असुरक्षित भएको भन्दै खोला ‘क्लियर’ गर्न माग गरेका थिए।
तुलसा टोल विकास संस्थाका अध्यक्ष निलम बस्नेतका अनुसार उक्त टोलीले १४ बुँदासहितको माग लिएर मेयर चौधरीलाई भेट्न गएको थियो। करिब १ बजेतिर कार्यकक्ष पुगेको टोलीले मेयरलाई आफ्ना लिखित माग बुझ्न आग्रह गरेको थियो। तर, मेयर चौधरीले उक्त टोलीको कुरा नसुनी ‘३ बजे मात्र कुरा सुन्छु’ भन्दै हिँडेको समितिका अध्यक्ष राजकुमार खड्काले जानकारी दिए।
उनले भने, ‘हामीले आफ्ना घरछेउको खोलामा तटबन्धन लगाउन माग गर्दै खोला सफा गर्ने कार्य जारी राख्न आग्रह गर्दा उल्टै हातपातको आरोप लागेको छ।’ टोल विकासका अध्यक्ष बस्नेतले मेयर चौधरीमाथि कसैले पनि हातपात नगरेको बताए।
‘कार्यकक्षबाट चुपचाप हिँडेका मेयरलाई आफ्ना कुरा किन नसुनी हिँड्नुुभएको?’ भन्दा उहाँ प्रहरी कार्यालयतिर लाग्नुुभयो’ उनले भने, ‘त्यसपछि पीडित जनता पनि उहाँसँगै प्रहरी कार्यालयसम्म पछ्याउँदै पुगेका हुन्, हातपातको प्रयास भएको भन्नु हास्यास्पद कुरा हो।’
एमाले र उपमहानगरपालिकाको दावी
बुधबार ३ बजे बसेको इटहरी कार्यपालिकाको बैठकले मेयर चौधरीमाथि हातपात भएको भन्दै आपत्ति तथा खेद प्रकट गरेको छ। उपमेयर लक्ष्मी गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मेयर कार्यकक्षबाट अन्य कार्यक्रमका लागि बाहिरिँदै गर्दा उक्त टोलीले नगर प्रमुखलाई पछ्याई तानी, ठेली, बाटो छेकी हुलहुज्जत गरी भौतिक आक्रमणसम्म गर्नसक्ने प्रयास गरेको थियो।’
विज्ञप्तिमा मेयर चौधरीमाथि भौतिक आक्रमण हुन लाग्दा नगर प्रहरीले रोकेको तर प्रहरीमाथि नै भौतिक आक्रमण भएको उल्लेख छ।
बिज्ञप्तीमा जनाइए अनुसार बुुधबार बसेको नगर कार्यपालिकाको आकस्मिक बैठकले मेयरमाथि भएको आक्रमणको घोर भत्र्सना गरेको छ। भनिएको छ, ‘यस प्रकारको दुखद घटना घटाउने, कानुन हातमा लिने दोषीउपर कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायमा अनुरोध गर्छौं।’
उक्त घटनाको विषयमा नेकपा एमाले इटहरी नगर कमिटीले पनि प्रेस विज्ञप्तिमार्फत् विरोध गरेको छ। नगर अध्यक्ष रेवती घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगर प्रमुखमाथि भएको दुुव्र्यवहारप्रति आपत्ति जनाउँदै घटनामा संलग्नलाई कारबाहीको माग गरिएको छ र कसैले कानुन हातमा लिन नहुने बताइएको छ।
भनिएको छ, ‘आम नगरवासीमा आफ्ना असन्तुष्टि तथा गुनाशा र पिरमर्का राख्नुपरे संयमपूर्ण तरिकाबाट विधिवत रूपमा राखी समाधान खोज्नसमेत हार्दिक अपिल गर्दछौं।’
Hari Krishna Dahal
Meyarko galati….