बिचौलियाको हातमा प्रहरी संगठन,आइजिपी निरिह!

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बिचौलियाको हातमा प्रहरी संगठन,आइजिपी निरिह!

सारांश

  • काठमाडौं, ९ जेठ।
  • आइजीपी बढुवामा भएको चरम चलखेलका कारण प्रहरीको कमाण्ड विचौलियाको हातमा पुग्ने खतरा बढेको छ ।
  • प्रहरी सरुवामा विचौलियाहरु हाबी भएपछि यस्तो संकेत देखिएको हो ।

काठमाडौं, ९ जेठ। आइजीपी बढुवामा भएको चरम चलखेलका कारण प्रहरीको कमाण्ड विचौलियाको हातमा पुग्ने खतरा बढेको छ ।

प्रहरी सरुवामा विचौलियाहरु हाबी भएपछि यस्तो संकेत देखिएको हो ।
एसपी, एसएसपी र डिआईजीको सरुवामा पूर्ण रुपमा विचौलिया र नेताको आवरणका माफियाहरु हाबी भएका छन् । गृहमन्त्रीका निकट माफियाहरु तथा आइजीपी बनाउन सर्वेन्द्र खनाललाई सहयोग गरेका केही विचौलियाहरुले अहिले प्रहरी संगठन चलाउन थालेको आरोप छ ।

एसपी सरुवामा महत्वपूर्ण जिल्लाहरुमा विचौलिया हाबी भए । कास्की र चितवनमा गृहमन्त्री निकट व्यक्तिहरुले एसपीको सरुवा गराएका हुन् । ‘जसले खनाललाई आइजीपी बनाएर बोकेर हिंडे, उनीहरुले नै कास्कीमा ओमबहादुर रानालाई लगेका हुन्, मुख्यालयका एक अधिकारी भन्छन्, ‘चितवनमा गृहमन्त्री निकट व्यक्तिहरुले आफ्नो धन्दा चलाउन सुशीलसिंह राठौरलाई लगेका हुन् ।’
दुवै जना बदनाम अधिकृत मानिन्छन् ।

संगठनका क्षमतावान र इमान्दारलाई पन्छाएर बदनामहरुलाई जिल्ला पठाएपछि संगठनमा आइजीपी खनालको छवि नराम्रोसँग गिरेको दृष्टि साप्ताहिकमा खबर छ   । कास्की र चितवन मात्र होइन, तराईका सबैजसो जिल्लामा चलखेलका आधारमा सरुवा भएको छ । कतिपय सरुवामा आइजीपी निरीह बनेपछि अहिले प्रहरीमा सरुवामा लागि फेरि नेताहरुको घर चहार्ने परम्परा सुरु भएको छ । संगठनको नेतृत्वले राम्रा र खराब अधिकृतहरुलाई त्यहीअनुसार व्यवहार गर्न नसक्दा प्रहरी संगठनमा निराशा छाएको छ ।

एसएसपी सरुवामा पनि त्यस्तै भएको छ ।  बढुवा हुनेबित्तिकै राजेन्द्र ढकाल, शरद खत्री, बिक्रम चन्द, मोहन आचार्य, राजेन्द्र चौधरी, शेखर कोइरालालगायतलाई अञ्चलको इन्चार्ज बनाएर पठाइएको छ ।  उनीहरु सबैले राजनीतिक सिफारिसका आधारमा बढुवालगत्तै इन्चार्ज पाएका हुन् ।
त्यस्तै डिआईजी सरुवामा पनि सेटिङ चलेको छ । सबै प्रदेशमा नेताहरुको सिफारिसअनुसार प्रदेश इन्चार्जहरु पठाइएको छ । गुन्डा र तस्करहरुसँग मिलेर काम गर्ने दिनेश अमात्यलाई २ नम्बर तथा सुन काण्डमा निलम्बनमा परेका दीपक थापालाई ३ नम्बर प्रदेशको इन्चार्ज बनाइएको छ । जबकि १ वर्षअघि नै बढुवा भएका स्वच्छ छविका एसएसपीहरुलाई पनि इन्चार्ज दिइएको छैन ।

अर्का विवादास्पद डिआईजी मनोज नेउपानेलाई मेट्रोको जिम्मेवारी दिइएको छ । पुष्कर कार्की, धिरु बस्नेत, ठुले राईजस्ता स्वच्छ छविका डिआईजीहरुलाई खनालले पाखा लगाएका छन् ।
प्रहरी मुख्यालयमा पनि बदनामहरुकै राज छ । विराटनगरको परशुराम बस्नेत काण्डमा कारबाही परेका सहकुल थापालाई खनालले आफ्नै सचिवालयमा राखेका छन् । सचिवालयमा राखिएका एसपी दानबहादुर कार्की पनि बानेश्वर वृत्तमा हुँदा आर्थिक हिनामिनामा कारबाही गरी हटाइएका अधिकृत हुन् । त्यस्तै दरबारमार्ग वृत्तमा हुँदा डनहरुलाई कल डिटेल उपलब्ध गराएकोमा कारबाही भोगेको एसपी चन्द्रकुबेर खापुङ जस्ता अधिकृत खनालले रोजेर कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिएका छन् । गृहमन्त्रीको सचिवालय र निवासमा बिचौलियाहरुको भीड बढ्न थालेको छ ।

गृहमन्त्रालयमा पनि अवस्था त्यस्तै छ । मन्त्री रामबहादुर थापाले कुरा चर्का गरेपनि आफ्नै मन्त्रालय अन्तर्गत के भइरहेको छ भन्ने उनलाई थाहा हुन्न ।  उनकै सचिवालयमा सहयोगीहरुले सरुवा बढुवामा डिल गरिरहेका हुन्छन् ।  अर्काेतर्फ आइजिपी खनालले सिधैं प्रचण्डलाई खुशी बनाएर बढुवा भएकाले प्रहरीमा धेरै जसो सेटिङ प्रचण्डकै सचिवालयबाट हुने गरेको छ ।  सोही सेटिङका आधारमा डिआईजी दीपक थापा प्रदेश ३ मा इन्चार्ज भएका हुन् । पद जोगाउन आइजीपी यसरी नेता र विचौलियाहरुसँग नतमस्तक हुँदा संघीयताको संक्रमणमा रहेको प्रहरी संगठन तस्कर, माफिया र नेताहरुको कठपुतली हुने जोखिम बढेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Chitra Karki

    Ho ra

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?