द्यापार (कटुकथा)

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
१६ पटक हेरिएको
Shares
द्यापार (कटुकथा)

सारांश

  • दिनभर कामको थकाईले हत्तु भएर कोठामा एकछिन आराम गर्न भनी के बसेको थिएँ ।
  • एउटा फोन आयो ।
  • नम्बर नयाँ थियो तर प्रयोजन उही पुरानो ।

दिनभर कामको थकाईले हत्तु भएर कोठामा एकछिन आराम गर्न भनी के बसेको थिएँ । एउटा फोन आयो । नम्बर नयाँ थियो तर प्रयोजन उही पुरानो । जुन कुरा म काठमाडौँ आए देखि नै गर्दै आएको थिएँ ।

जुन काममा म निपुर्ण थिएँ र दशमा दश पाएको थिएँ, आफ्ना छिमेकि र आफन्तहरुबाट । एक आफन्त आउँदै रहेछन् । नजिकका होइनन्, टाढाका । नाम मात्र सुनेको, न कहिले भेटेको न कहिले देखेको । जाउँ भने शरिरले आरामको माग गरिरहेछ, नजाउँ भने मै भनेर आका छन् कहाँ जालान । फेरी नजाने भने स्वत ठूलो भएको घोषित हुनुपथ्र्यो । अन्ततः खुट्टालाई ओभरटाइम गराएरै भएपनि बसपार्क गएँ ।

अब पाँच मिनेटमा आइपुग्छु होला भनेका उनी म बसपार्क पुग्दासम्म पनि आएका थिएनन् । जाममा परेका रे , मलाई फोन गर्ने बित्तीकै । बसपार्कमा निकै भिड थियो । कति मान्छे खुसी हुँदै आफ्नो सपनाको सहर प्रस्थान गर्दै थिए, कति गदगद हुँदै बसमा चढ्दै थिए यो धुलोमाण्डु छाडेर आफ्नो प्यारो जन्मभुमी जान लागेकोमा, कति पु¥याउन आएका थिए कति लिन आउँदै थिए आफ्ना मान्छे, कति मान्छे पखेटा हाल्न काठमाडौँ आउँदै थिए अनि कति भर्खर ओर्लेका आकाशबाट । यहीँनेर अरुकोआरिस गर्नेको पनि ठूलो जमात थियो, गृहस्थान जान लागेकालाई देखेर । अनि सपनको भारी बोकि आउनेहरुलाई भारी नै फुकाउन नपाउँदै निकट भविष्यको कल्पना गर्दै कठैभावले मनमनै जिब्रो पड्काउने पनि यहीँ थिए ।

दिन ढल्केर साँझ परिसकेको थियो भने साँझ पनि पल्टेर राति हुँदै थियो । कानमा एयरफोनको बुजो हालेर अलि कम धुलो आउने ठाउँको चिसो बेञ्चमा बसीरहेको थिएँ । गोजीमा रहेको मोवाइलबाट माधुर्य संगीत एयरफोनको तारबाट उकालो लाग्दै थियो । म बसेको बेञ्च पछाडि मैले सुनीरहेको संगीतलाई नै अवरोध गर्ने गरी केहि कुरामा बहस भैरहेको थियो । मलाई याद छ, म त्यहाँ बस्दादेखि नै त्यो टोली त्यहीँ थियो । अनि त्यही समुहको वार्ताले वाक्क बनाएर नै मैले कानमा एयरफोन लगाएको थिएँ ।

अब वार्ताटोलिको बहश झन झन चर्किँदै गएपछि एयरफोनले पनि काम गरेन । म मन नलागी नलागी उनीहरुको वार्ता सुनीरहेको थिएँ । एकपटक मेरो अनिमन्त्रित अतिथिलाई फोन गरेँ । अझै जाममा रहेछन् । फेरी वार्ताका वादी प्रतिवादी दुवैको वहश सुने क्रमश ।
‘पाँच सय त हुँदैन एकदमै थोरै भयो त्यो त ! दुई हजार गरुँ हुन्छ भने हन्छ हैन भने अरु लाइनमा छन् ।’ वार्ता टोली कै एक सदस्यले भन्यो । सायद भनी । मैले कसैलाई देखेको थिइन । सायद त्यहाँ कुनै कुराको व्यापार हुँदै थियो । जसको मोल धेरैमा दुई हजार र कममा पाँच सय थियो । तर केको ? मैले बुझ्न सकिन ।

एकपटक त्यो व्यापारीक समुह भएतिर नजर डुलाएँ । समुहमा दुईवटा महिला थिए, अनि तीन पुरुष । मैले अनुहार हेरेर पत्ता लगाउने प्रयास गरेँ, क्रेता र बिक्रेता कोको भनेर तर सफल भइन । सायद बस्तुको पहिचान विना नै क्रेता बिक्रेता छुट्याउन खोज्नु मेरो गल्ती थियो । म अब बिक्रि चाहिँ के हुँदैछ भन्ने कुरा पत्ता लगाउन खोजेँ । के त्यो वस्तु पुरषले बोकेको ठूलो झोलामा छ ? या त्यो महिलाले भिरेको सानो आधुनिक थैलोमा ? पहिलो उक्ति सुनेर यो त पक्का थियो की बिक्रेता एक महिला हो तर को को कुन कुन समुहमा छन् भन्ने कुराबाट म अन्जान थिएँ ।

‘ल न तिम्रो न मेरो, हजार भयो’ आफ्ना वरीपरी रहेका दुई पुरुषलाई हेर्दै एउटा अधवैँशे मान्छेले भन्यो । अब भने मैले क्रेता बिक्रेताको समिकरण सुल्झाएँ । ति दुई महिलाले पनि एकआपसमा हेराहेर गर्दै हजार रुपैयाँमा आफ्नो चित्त नबुझेको संकेत गरे । अन्तमा रु १३५० मा सम्झौता भयो । मैले अझै बिक्रि हुँदै गरेको सामान पत्ता लगाउन सकिन । आखिर व्यापार हुँदै छ चाहिँ केको ?
‘अनि कति घन्टा त ? ’ वार्ता अझै सकिएका थिएन । एक पुरुषले सोध्यो । कति घन्टा मतलब ? म केही बुझ्नै सकिन के त्यो सामान भाडामा जाँदै थियो ? अनि घन्टा कै त्यति धेरै पर्ने रैछ चाहीँ के ? मलाई झन खुल्दुली भयो ।

‘के घन्टा नि, बसेपछि पुरै रात हो, बरु यस्तो सस्तोमा कसैले काम गरेका छैनन्। कसैलाई नभन्नु थाह पाए भने फेरी मार्छन् अरुले ।’ पहिलेकै स्वर यथावत राख्दै एउटी महिलाले भनी । क्रेताले पनि समर्थनको भावमा मुन्टो हल्लायो ।

मेरो दिमागका तार बल्ल सुल्झिन थाले । घन्टा, रात, १३५० यो सबै त शरीरको भाउ पो रहेछ । ति महिलाले देहको व्यापार गरेका रहेछन् ति पुरुषहरुलाई मात्र केही घन्टाको लागि । अब उनीहरुको छलफलको विषय थियो कुन होटलमा बस्ने । त्यस्तै द्यापारी समूह मैले आँखाले भ्याएसम्म देखिरहेको थिएँ ।

मौसम विश्वासघाति भैदियो, म सँग छाता थिएन पानी मुसलधारे पर्न थाल्यो । सबै तितरबीतर भए । त्यो ‘द्यापारी” समुह पनि मै ओतिएको छानामुनी आयाे । मैले आफ्नो मान्छेलाई फोन गरेँ । त्यहीँ रहेका मध्ये एकको मोवाइल पनि बज्यो ।

उ अलि पर गयो । ‘भाई तिमी जाउ भो, यहाँ अरु साथी पनि भेटेँ म होटलमा बस्छु ।’ मेरो मान्छेले फोन राख्ने र क्रेता समुहको सदस्य भित्रीनु एकैसाथ भयो ।

(मुक्ति)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?