किन गरे काजी भिमसेनले आत्महत्या ?
सारांश
- –नविन पौडेल नेपालका प्रथम प्रधानमन्त्री तथा इतिहासका एक कुशल राजनेता भिमसेन थापाले आत्महत्या गरेको कुरा धेरैलाई थाहा होला ।
- तर किन ?
- त्यो बारे कमैले चासो दिए होलान वा थोरैलाई मात्र कारणबारे ज्ञान होला ।
–नविन पौडेल
नेपालका प्रथम प्रधानमन्त्री तथा इतिहासका एक कुशल राजनेता भिमसेन थापाले आत्महत्या गरेको कुरा धेरैलाई थाहा होला । तर किन ? त्यो बारे कमैले चासो दिए होलान वा थोरैलाई मात्र कारणबारे ज्ञान होला । राजा रणबहादुरका प्रिय मित्रसमेत रहेका भिमसेनले उनका छोरा नाति र पनातिलाई समेत काखमा राखेर खेलाए र अस्त्र ज्ञान समेत प्रदान गरे । रणबहादुरलाई आफू स्त्री लम्पट भएको कुरा राम्रोसँग थाहा थियो त्यसैले भन्ने गर्थे, ‘म मरे मुलुक डुब्न्या छैन, भिमसेन मरे मुलुक डुब्न्या छ ।’ तर उनले अनुमान पनि गरेका थिएनन् होला भविष्यमा उनकै सन्तानका कारण भिमसेन मारिनुपर्छ भनेर ।
कुरा वि.सं. १८०० को अन्त्य तिरको हो, दरबार भित्रैबाट धमिरा लागेको काठ जस्तो खोक्रो भैसकेको थियो । त्यसमा मुख्य कारण थिए, राजा राजेन्द्रका दुई श्रीमति हुनु र दरबारमा पाँडेहरुको कुदृष्टि पर्नु । दरबारका सबै पदहरुमा थापाहरुको बाहुल्यता थियो । पृथ्वी नारायण शाह कालीन वीर योद्धा अमर सिँह थापा र कालु पाँडेका सन्तान त्यतिबेला दरबारमा आफ्नो हैकम चलाउन लालाहित थिए । रँणजंग पाँडेले भिमसेन थापालाई फूटेको आँखाले पनि देख्न नसक्ने, तर वृद्ध प्रधानमन्त्री भिमसेन थापाले भने ति कुराको वास्ता नगरी सँधै देश र दरबारको हितका लागि काम गरिरहे । त्यहाँ दुई रानीका पनि फरक फरक रोजाई थिए । जेठि महारानी साम्राज्य लक्ष्मिले थापा खलक मन पराउँदिनथिन् भने कान्छि महारानी राज्य लक्ष्मि पाँडे खलक देख्नासाथ नाक उचाल्थिइन् । यस्तोमा दरबार पनि पाँडे र थापा भनी दुई गुटमा विभाजित थियो ।
जेठि महारानीको कान्छा सन्तान विरेन्द्र विफरका कारण विस्तारा परेको समय दरबारमा ठूलो काण्ड मच्चियो । विरेन्द्रलाई विफरले नराम्रोसँग जकडेकाले उनी धेरै बाँच्न सकेनन् । यसको सबै दोष काजी भिमसेनलाई प¥यो । पाँडेहरुले महारानीलाई भिमसेनले विष ख्वाएर राजकुमारको हत्या गरेको भनी गलत आरोप लगाए । अनि रानीले राजाको कान फुकिन् । जसको कुरा सुन्यो उसैको पछि लाग्ने स्वभाव भएका राजा राजेन्द्रले रानीको कुरामा पूर्ण विश्वास गरे । भिमसेनलाई जेल चलान गरियो, यसको विरोध उनले लगातार गरिरहेका थिए तर उनलाई सुन्ने कोही भएन । भिमसेन प्रधानमन्त्री हुँदा उनी प्रति भक्तिभाव देखाउनेहरु नै उनलाई मोरो हात लगाउन थाले र पाँडेहरुको वाहवाही गाउन थाले । भिमसेनले रणबहादुरको शाशन कालमा उनको सल्लाहकारका रुपमा धैरै काम गरेका थिए । रण बहादुर र भिमसेनको बाल्यकाल सँगै जसो बितेको थियो । रणबहादुरको मृत्यु पश्चात गिर्वाणयुद्ध विक्रम र राजा राजेन्द्रको शाशनकालमा पनि काजी भिमसेन लगातार दरबारको बफादार भएर काम गरेका थिए । उनले रणबहादुरका छोरा, नाती र पनाति सम्मलाई आफ्नै काखमा राखेर हुर्काएको कदर नहुँदा उनलाई आफ्नै जीन्दगीदेखि विरक्त लागेर आयो ।
केही दिनको जेलबास पछि भिमसेनका बारेमा कान्छि महारानी राज्य लक्ष्मिले राजासामु दुःख व्यक्त गरिन् । तिन पुस्तादेखि लगातार दरबारको सेवा गरिरहको सेवक भिमसेनलाई शक्तिको कुनै मोह नभएको यदि हुन्थ्यो भने राजा राजेन्द्र नाबालक हुँदा नै दरबार हत्याउने उपयुक्त समय रहेको कुरा रानीले राजालाई बताएपछि राजालाई पनि आफ्नो गल्ती बोध भयो । र भिमसेनको मुद्दामा आफैले सुनुवाई गरी न्याय दिलाउने खबर एक दरबारीया मार्फत भिमसेन सम्म पु¥याए । तर राजाले पठाएको मान्छे पाँडे निकट भएकाले उ पहिले जेठि महारानी र रँणजंग सामु गयो । उनीहरुको सल्लाह मुताविक भिमसेनलाई नमारी आफै आत्महत्या गराउन बाध्य बनाउने षड्यन्त्र रचियो ।
राजाको सन्देश लिएर आएको कुलराज जेठी रानी र पाँडेको षड्यन्त्रको पात्र बनी भिमसेन सामु प्रस्तुत भयो । राजाले पठाएको खुशीको खबर षड्न्त्रकारीले बंग्याएर मनगणन्ते कहानी बनाई काजीलाई सुनायो । राजाले उसकी कान्छि काजिनीलाई टुँडिखेलमा निर्वस्त्र उभ्याई रमिता गर्न लागेको र यसको दृश्यावलोकन भिमसेनले पनि गर्नुपर्ने भनेर षड्यन्त्रकारीले गलत खबर सुनायो । यो कुरा भिमसेनका लागि असह्य थियो । र अपत्यारीलो पनि । उनले यो कुरामा विश्वास गर्न चाहेनन् तर कुरौटेले लगातार जिद गरे पछि उनलाई हो जस्तो पनि लाग्यो । किनकि उनलाई राजाले आफूलाई गरेको व्यवहार, आफ्नो योगदानको अनादर उनले भूल्न सकेका थिएनन् । बाँच्नु भिमसेनका लागि सबैभन्दा कष्टकर लाग्यो । उनी सुनेका भोगेका कुरा लगातार आफ्नो मष्तिष्कमा खेलाउन थाले । अन्ततः मनले उनलाई आत्महत्या गर्न प्ररित ग¥यो । जेलमा भएको काँचको टुक्राले उनले आफ्नो घाँटी रेटे । त्यसको दश दिनमा उनले कष्टकर मृत्यु वरण गरे ।
उनको मृत्यु पश्चात पाँडेहरुले राजालाई भिमसेनका बारेमा विभिन्न गलत आक्षेप लगाए र राजालाई पनि राजकुमार विरेन्द्रको हत्यामा भिमसेनको हात रहेको विश्वास दिलाए । यसरी इतिहासका एक देशभक्त वीर योद्धा भिमसेन थापा षड्यन्त्रको शिकार भए ।
सन्दर्भः डायमनशमशेर राणाको उपन्यास गृहप्रवेश
प्रतिक्रिया