लोकतन्त्रको कुरा गर्ने विवेकशील साझामा टिकेप्रथा : कार्यकर्ताद्वारा मञ्चमै विरोध
सारांश
- काठमाडौं, २० साउन ।
- आफूले लोकतन्त्रको कुरा गर्नेमात्र होइन अरुलाई समेत बेलाबेलामा लोकतन्त्रको पाठ सिकाउने विवेकशील साझा पार्टीमा पनि टिकेप्रथा देखिएको छ ।
- आफ्नो जिल्लाको संयोजक आफूहरुले नै छान्ने सोचेर भेलामा आएका कार्यकर्ताहरु “माथिबाटै” टीका लगाएर घोषणा गर्न थालेपछि आक्रोशित बनेका थिए ।
काठमाडौं, २० साउन । आफूले लोकतन्त्रको कुरा गर्नेमात्र होइन अरुलाई समेत बेलाबेलामा लोकतन्त्रको पाठ सिकाउने विवेकशील साझा पार्टीमा पनि टिकेप्रथा देखिएको छ । आफ्नो जिल्लाको संयोजक आफूहरुले नै छान्ने सोचेर भेलामा आएका कार्यकर्ताहरु “माथिबाटै” टीका लगाएर घोषणा गर्न थालेपछि आक्रोशित बनेका थिए ।
माथिबाटै संयोजक घोषणा गरिएपछि कार्यकर्ताहरु आक्रोशित बन्दा विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ । प्रदेश ३ का जिल्ला संयोजक मनोनयन गर्न आयोजित कार्यक्रममा असन्तुष्ट समूहले आक्रोश व्यक्त गरेपछि कार्यक्रममा तनाव भएको थियो । पार्टीका शीर्ष नेताले जिल्ला संयोजक लोकतान्त्रिक पद्धति विपरीत रातारात तोकेको भन्दै केही युवाले कार्यक्रम स्थलमै असन्तुष्टि जनाएका थिए । नेताले संयोजक चयन गर्दा दलाल, अपराधिक मुद्दामा मुछिएका व्यक्तिलाई छनोट गरेको भन्दै युवाले नाराजुलुस समेत गरेका थिए ।
युवाहरुले “युवा अघि बढ्छ देश अघि सर्छ”, भन्दै नेतृत्वविरुद्ध नाराबाजी गरेका थिए । असन्तुष्ट युवा समूहले जिल्ला संयोजक लोकतान्त्रिक पद्धतिबाट चयन गर्नुपर्नेमा जोड दिएका थिए । असन्तुष्ट समूहबाट बोल्दै एक युवाले भने, “हामीले हाम्रा जिल्ला संयोजक आफैं चुन्न पाउँने कि नपाउँने ? यही प्रश्न यहाँ राख्न चाहन्छु ।”
होहल्ला र हात हालाहालको अवस्थामा पुगेपछि प्रवक्ता डा. सूर्यराज आचार्यले कार्यकर्तालाई सम्झाउने प्रयास गरेका थिए । “हामी यहाँ बिजनेस र पदका लागि आएका होइनौँ । अहिलेदेखि पद खोज्ने बेला होइन”, आक्रोशित बनेका आचार्यले भने, “तपाईंहरु चुप लाग्नुहोस्, पदका लागि होइन विचारका लागि झगडा र बहस गरौँ । विचारको हामी सम्मान गर्छौँ । तर यहाँ मर्यादा राखेर बहस गरौँ ।”
प्रवक्ता आचार्यले सम्झाउने प्रयास गर्दा कार्यक्रममा अझ धेरै तनाव थपिएको थियो । त्यसपछि संयोजक रवीन्द्र मिश्र मञ्चमा पुगेका थिए । उनले मनोनीत संयोजकलाई बधाई तथा शुभकामना दिँदै कार्यक्रम समापन भएको घोषणा गरे । मिश्रले कार्यक्रम समापनको घोषणा गरेपछि कार्यक्रकर्ता नाराबाजी गर्दै हलबाट बाहिर निस्किएका थिए ।
https://www.facebook.com/Guru.bht/videos/1924283894295360/
Amrit Bohara
राजनीति हो, नाम, दाम र शक्ति सबै हुन्छ, यसमा न पढाईको प्रमाणपत्र चाहिन्छ नत उमेरको हदबन्दी लाग्छ शानका साथ निरन्तर चल्ने राम्रो ब्यापार हो राजनीति, यसमा खासै अपशोच नगर्दा हुन्छ