नाइजेरियामा बोको हरामद्वारा सात गाउँलेको हत्या !
सारांश
- कानो, नाइजेरिया, २२ साउन ।
- बोको हराम आतङ्ककारी समूहले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सात गाउँलेको हत्या गरेका छन् ।
- प्रायः अशान्त नै भइरहने सो क्षेत्रमा गाउँलेहरुको हत्या गरिएको स्थानीय रक्षक र स्थानीय वासिन्दाले मङ्गलबार जानकारी दिएका छन् ।
कानो, नाइजेरिया, २२ साउन । बोको हराम आतङ्ककारी समूहले नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सात गाउँलेको हत्या गरेका छन् । प्रायः अशान्त नै भइरहने सो क्षेत्रमा गाउँलेहरुको हत्या गरिएको स्थानीय रक्षक र स्थानीय वासिन्दाले मङ्गलबार जानकारी दिएका छन् । बोर्नो राज्यको राजधानी मैदुगुरीबाट १३ किलोमिटर उत्तरमा मुन्दुरी गाउँमा सोमबार अबेर राति ट्रक र मोटरसाइकलमा आएका व्यक्तिहरुले बन्दुक, रकेट र ग्रिनेड आक्रमण गरेका स्थानीय बासिन्दा अब्दुल्लाही बुनुले बताएका छन् ।
“आक्रमणकारीले सात जनालाई कब्जामा लिए र शिरच्छेदन गरिदिए । त्यसपछि पूरा गाउँमा आगो लगाइदिए,” नागरिक रक्षक उमर अरीले एएफपी समाचार समितिलाई बताएका छन् । मारिनेमा गाउँ प्रमुख र उनकी पत्नी पनि रहेका छन् । बोको हराम आतङ्ककारी समूह अहिले दुई समूहमा विभाजित छ, र पछिल्लो आक्रमणमा कुन समूहको संलग्नता रहेको थियो भन्ने प्रष्ट भएको छैन । कट्टरपन्थी इस्लामिक राज्य स्थापना गर्ने अभियानका साथ गत नौ वर्षदेखि जारी हिंसा र हत्यामा करिब २० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यस हिंसाको क्रममा २६ लाख व्यक्ति विस्थापित भइसकेका छन् ।
प्रतिक्रिया