भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको निधन
सारांश
- काठमाडौं, ३१ साउन ।
- भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ ।
- उनको बिहीबार निधन भएको हो ।
काठमाडौं, ३१ साउन । भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार निधन भएको हो । पूर्वप्रधानमन्त्री वाजपेयी दिल्लीको एम्स अस्पतालमा उपचाररत थिए ।
पूर्वप्रधानमन्त्री वाजपेयी मधुमेहबाट पीडित थिए । उनलाई यसै वर्षको जुनमा किड्नीमा संक्रमण देखिएपछि एम्स अस्पताल भर्ना गरिएको थियो । भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित वाजपेयी तीनपटक प्रधानमन्त्री बनेका थिए ।
वाजपेयी सन् १९९६ मे १६ मा पहिलोपटक १३ दिनका लागि भारतको प्रधानमन्त्री बनेका थिए । सोही वर्ष भएको निर्वाचनमा वाजपेयीको दल भारतीय जनता पार्टी ठूलो दल बनेको थियो । ठूलो दल भएका कारण तत्कालीन राष्ट्रपति शंकर दयाल शर्माले भाजपालाई सरकार बनाउन आव्हान गरेका थिए । तर लोकसभामा बहुमत जुटाउन नसक्दा उनले राजीनामा दिएका थिए ।
दोस्रोपटक स्व. वाजपेयी सन् १९९८ देखि १९९९ सम्म भारतको प्रधानमन्त्री भएका थिए । नेशनल डेमोक्रेटिक अलायन्स (एनडिए) बनाएर चुनाव लडेका कारण बहुमत आएको थियो । तर, प्रधानमन्त्री बनेको १३ महिनामै उनी सरकारबाट बाहिरिनु परेको थियो । सहयोगी दल एआइएडीएमकेले समर्थन फिर्ता लिएका कारण त्यसबेला उनको सरकार ढलेको थियो ।
त्यसपछि अर्को सरकार बनेन । सन् १९९९ मा भएको चुनावमा राष्ट्रिय जनतान्त्रिक गठबन्धनले साझा घोषणापत्रमा चुनाव लडेको थियो । जसलाई सुविधाजनक बहुमत प्राप्त भएको थियो । फलस्वरुप, वाजपेयी १९९९ देखि २००४ सम्मका लागि प्रधानमन्त्री भएका थिए ।
प्रतिक्रिया