रक्षाबन्धन (कथा)
सारांश
- बिमस्टेकको चौँथो शिखर सम्मेलन ।
- पाहुनाको आखाँ पर्ने सबैजसो ठाउँ सिँगार्दा, बाटोमा कालो पत्र बिछ्याउँदा, ठाउँठाउँमा भव्य तस्विर सहितका प्रवेश द्वार बनाउँदा अधिकांश रुटमा जाम भैरहेको थियो ।
- कलेजबाट अफिस जाने क्रममा घण्टाघर अघि चलेको सडक मर्मतको कामका कारण दरबार मार्गमा लामो जाम थियो ।
बिमस्टेकको चौँथो शिखर सम्मेलन । पाहुनाको आखाँ पर्ने सबैजसो ठाउँ सिँगार्दा, बाटोमा कालो पत्र बिछ्याउँदा, ठाउँठाउँमा भव्य तस्विर सहितका प्रवेश द्वार बनाउँदा अधिकांश रुटमा जाम भैरहेको थियो । कलेजबाट अफिस जाने क्रममा घण्टाघर अघि चलेको सडक मर्मतको कामका कारण दरबार मार्गमा लामो जाम थियो । जहाँ म जस्ता अफिस हिँडेकाहरु र स्कुल कलेज पढ्नेहरु फसिरहेका थिए । एकतर्फि भएपनि काठमाडौँको सबैभन्दा व्यस्त सडकखण्ड मध्येको एक थियो त्यो ।
अफिस पुरा आधाघण्टा ढिला पुगेँ । कसैले केही भनेन । सबैलाई थाहा थियो यो समस्या बारे अनि अफिसकै धेरैजना पिडित पनि थिए । म अंश समय पत्रकारिता गरिरहेको एक पत्रकार । त्यसैले पनि कान टाठा, आँखा तिखा बनाउनु पथ्र्यो । अझ यतिबेला त झन देशमा एक पछि अर्को ठूला घटना घटिरहेका थिए । उता निर्मला हत्या प्रकरण उत्कर्षमा थियो भने, यता महोत्तरीमा डुङ्गा दुर्घटनामा परी मान्छेहरु बेपत्ता । अनि बलत्कारीका लागि कडा कानुन बनाउनुपर्छ भन्दै सबैतिर भैरहेका नारा जुलुस तथा ¥यालिहरु । ति सबै घटनाहरुसँग अपडेट भैरहनु पर्थ्याे। एक सेकेन्ड यदि कसैले चाँडो हाल्यो भने आफ्नो समाचारको कुनै मुल्य नरहने प्रकाशकको मान्यता थियो । तर म आजित भैसकेको थिएँ यो सबैबाट ।मलाई वाक्क लागिसकेको थियो यो मानविय संवेदनाहिन पत्रकारिताबाट ।
न्युज डेस्कमा म सहित बबिता जसलाई म बहिनी भन्थेँ, र सम्पादक सर बाहेक अर्को एक जना सर हुनुहुन्थ्यो, अमर सर । सह सम्पादक । ‘कन्चनपुरबाट आउने एक-एक सूचना अपडेट गरौँ है । हाम्रो समाचारदाता घटना स्थलमै हुनुहुन्छ । जतिबेला पनि ब्रेकिंग न्युज आउन सक्छ । थाहा छ नि हिजाे गोली चल्दा हामी पुरा दुई मिनेट ढिला भएको ? आज त्यस्तो नहोस । ’ प्रकाशक सरको हुकुम थियो ।
सर जानासाथ बबिताले सोधी‘दादा मैले बाँधिदिएको राखि त फाल्नुभएको छैन नि ?’ मैले दाहिने हात उसलाई देखाउँदै भने, ‘यी तिम्ले बाँधिदिएको यो माथिल्लो ।’ ठूलो अक्षरमा ओम लेखेको राखी देखाउँदै उसलाई भनेँ जुन अस्ति उसले लगाइदिएकि थिर्इ । उ खुशी भई, उसको खुशी देखेर म पनि खुशी भएँ । खासमा मलाई रक्षाबन्धन पर्व लाग्दैन । हातमा तथानामका फूलबुट्टे डोरा बाँध्न पनि मन पर्दैन । तर मैले हातमा तीन दिनदेखि रक्षाबन्धन नामको डोरी बाँधिरहेको थिएँ, मात्र उसको खुशीका लागि । जसरी बुवा आमाको खुशीका लागि मात्र शरिरमा जनै भिरेको थिएँ ।
बाह्र एक बजेको हुँदोहो, अफिसको ल्याण्डलाइनमा घण्टि बज्यो । फोन सम्पादक सरले उठाउनु भो।
‘हेलो । ल, होर ? कहाँ ? कति बजे ? कति वर्षको ? ए, दोषि पत्ता लाग्यो ? ए, ल ल ल ।’ हामी सबैका आँखा सम्पादक सर तिर केन्द्रित भयो । एकोहोरो वारीको वार्ता मात्र हामीले सुनेका थियौँ । उताबाट के भनिएको थियो भन्ने कुरा हाम्रो लागि निकै उत्सुकताको विषय बन्यो । जुन सम्पादक सरले मात्र मेट्न सक्नुहुन्थ्यो ।
सम्पादक सरले फोन राख्नासाथ अमर सरलाई हेरेर भन्नुभयो, ‘ल ल साथि जिमेल खोल्नुस त । समाचार आको छ रे । सुनसरीमा एक युवति बलात्कृत भएको । इनरुवा सम्वाददाताले पठाएको छ रे ।’ अमर सर हतारहतार जिमेल खोल्नुभयो र फटाफट सूचनालाई समाचारको रुप दिन थाल्नुभयो । मलाई कन्चनपुर घटनाले नै दिमाग शुन्य बनाइरहेको थियो । फेरी आज अर्को । हुन त दिनको एउटा बलात्कारको घटना आइरहेकै हुन्छ तर कन्चनपुर घटनाले बढी चर्चा पाइरहेको थियो । त्यो केश जटिल भएका कारणले । अनि भर्खर बिहान कलेजमा पत्रिकामा पनि त्यसै सम्बन्धि समाचार पढेकाले होला । दिमाग एकोहोरीरहेको थियो ।
‘कति हुन्छ यो देशमा बलात्कार पनि ?’ बबिता एक्लै कराइरहेकी थिइ । मैले बल्ल ख्याल गरेँ, सम्पादक सरले बलात्कारको समाचार सुनाउने बित्तिकै उसको मुहारको चमक उडेको । ‘थाहा छ, सर आफन्तलाई नै आशंका गरेको रहेछन् नि ।’ अमर सरले भन्नुभयो । ‘अँ थाहा पाएँ । दाई पर्ने रे, अलि टाढाको ।’ दाई पर्ने भन्दा मलाई त्यति फरक परेन । किनकि टाढाको होइन एकदमै नजिकको दाई, काका, मामा समेत कति सम्म घटिया सोचवाला हुन्छन्, कम्तिमा यो मामलामा, मैलै थाहा पाइसकेको थिएँ । तर बबितालाई भने यसले निकै प्रभाव पारेको थियो । उ एक्लै कराइरहेकी थिइ ।
‘फासी दिनुपर्ने यस्तालाई त ।’ म केही बोलिनँ । के बोल्थेँ । आफू पुरुष हुँ भन्न पनि लाज लागिरहेको थियो, यतिबेला घटेका एकपछि अर्को घटनाले गर्दा ।
‘सर सर अर्को पनि आयो ।’ अमर सरले आत्तिँदै भन्नुभो ।
‘के आयो ?’ सम्पादक सर ल्यापटप अघि नतमस्तक भएरै सोध्नुभो ।
‘बलात्कार ।’
‘बलात्कार ?’ सम्पादक सरले शिर अमर सरतिर घुमाएर आँखीभौ तन्काउँदै सोध्नुभो । म खुम्चिएँ । बबिता उठेर बाथ रुम गइ ।
‘अँ सर । काठमाडौँ मै । १४ वर्षकी बालिका । नेपालटार एरियामा रे । एउटा अनलाईनमा छ ।’ अमर सरले थाहा पाएको सबै कुरा बेलीबिस्तार लगाउनुभो ।
‘कुनमा…? ल ल छिटो शंकरलाई फोन गरिहाल्नु त । उ त्यतै छ । उसलाई थाहा होला ।’ सम्पादक सरले भने जस्तै शंकरलाई फोन गरियो । घटनाबारे अरु थप जानकारी हात लाग्यो । त्यो पनि चिनेकै मान्छेबाट भएको रहेछ ।
म सोच्न सक्ने अवस्थामा थिइन कि यहाँ के भैरहेको छ । मलाई चिर्पटले एकपछि अर्को चोट सबैभन्दा दुख्ने एकै ठाउँमा ठटाए जस्तो भैरहेको । बबिता आई । मुख धोएर, उडिरहेका कपालका शाखाहरु एकिकृत गरेर र अघि कुहिनो माथि सम्म रहेको सर्टलाई लामो बनाएर । केही मिनेट अघि कि बबिता भन्दा निकै भिन्न पाएँ उसलाई ।
‘के भो ?’ मैले सोधेँ । केही नभएको संकेतमा उसले टाउको हल्लाई । अड्कल काटेँ, के भएको भनेर । मनमनै ।
अघिसम्म खुट्टा जोडिएका दुई कुर्सी छुट्टिए । उसले आफू बसेको कुर्सी केही इन्च पर सारी । कुर्सीमा बस्नुअघि पुलुक्क मतिर हेरी, अनि मेरो हातमा रहेको रक्षाबन्धनमा । सायद उ आफूले लगाइदिएको रक्षाबन्धन खोज्दै थिई । शिर कम्प्युटरको स्क्रिनतर्फ घुमाएर केही लेख्न खोजी । तर सकिरहेकी थिइन । नजर एकैतिर गाडिएको, हात कुनै नियन्त्रण गर्ने तार चुडिएको खेलौना जस्तो लत्रिरहेको थियो, किवोर्डमा ।
उ माथि छततिर उक्लिइ । उसको मुड आज ठिक थिएन । वास्तविक कुरा बुझ्न म पनि उसको पछिपछि गएँ । रेलिङमा हात अडाएर रोडका गाडि हेर्दै थिइ सायद, या फेरी मान्छेहरु ओहोर दोहोर गरिरहेका । बबिता, मैले बोलाएँ । उ बिस्तारै मतिर फर्किइ, यस्तो लाग्थ्यो कि उसलाई मेरो उपस्थितिबारे पहिले नै थाहा थियो । उसका आँखा केही राता थिए । रोए जस्तै । आँखा अझै टिलपिल, मुहार अँध्यारो, कालो बादल लागेजस्तै । मलाई उसको आँसु पुछिदिने हिम्मत आएन । मलाई उसको रुवाईको कारण त्यही हो जस्तो लाग्यो जसकारण म रोइरहेको थिएँ । भित्र भित्र ।
संवाद उसैले सुरु गरी । ‘थाहा छ दादा, हिज ममिले घरबाट फोन गर्नुभएको थियो । धन्न गाउँमा बसिनछस्, यता त बस्नै नहुने अवस्था छ, रे । उहाँलाई लाग्छ, काठमाडौ हुनु सुरक्षित हुनु हो ।’ परको रुखतिर हेर्दै भनी, ‘दश कक्षाको परिक्षा दिनासाथ बहिनीलाई पनि यतै पठाइदिने भन्नुभको छ । यहाँ काठमाडौँ हुनु सुरक्षित हुनु हो जस्तो लाग्छ दादा तपाईँलाई ?’्र
मैले उसको दिमागमा के खेलिरहेको छ बुझिहालेँ । तर बुझ पचाएर सोधेँ, ‘किन के भो र ? किन यस्तो कुरा गर्दैछौ तिमि ?’
‘थाहा पाउनुभएन अघिको घटना । काठमाडौ मै १४ वर्षे बालिका बलात्कृत भएको । अनि कसरी भन्ने यसलाई सुरक्षित ठाउँ ?’ ऊ पोखिन चाहिरहेकी थिइ ।
‘छोड न एकदुई घटना त भैहाल्छन् नि कहिले काहिँ । यस्तो कुरालाई लिएर पनि चिन्ता गर्ने हो ?’ मैले आफैलाई चित्त नबुझ्ने उत्तर दिएँ । मात्र उसलाई सामान्य बनाउने दुष्प्रयासमा ।
‘यस्ता एकदुई ? हजुरलाई यो सामान्य एकदुई घटना लाग्छ, दादा ? ल बाहिर आएको घटना एउटा भयो । न आएका कति होलान ? डर धम्कि देखाएर ब्ल्याकमेल गरेको पनि त हुन सक्छ । ल माने बलात्कार नै एउटा होला अरु हिंसाको के ? के सार्वजनिक यातायातमा जानी जानी ठोक्कीनु हातपात गर्न खोज्नु जिस्काउनु आदि पहिलो सिँढीका बलात्कार होईनन् ? आज हात समाउने उही हो जो हिजाे मलाई देखेर जिब्रो पड्काएको थियो । अनि भोलि उसैले बलात्कारको प्रयास गर्दैन भन्ने केही छ ?’ उसले आक्रोश ममाथि होइन, म सामु पोख्दै थिइ ।
म अवाक भएर सुने मात्र । के बोल्थेँ । मलाई पनि लाग्थ्यो उ असुरक्षित छ, यहाँ मात्र होईन कही पनि । तर आफूलाई सम्हाल्दै माहोल थोरै सामान्य बनाउने हेतुले अवास्तविक मुस्कान देखाउँदै भनेँ, ‘तिमि किन चिन्ता गर्छौ ? म छु नि । हेर त तिमिले लगाईदिएको रक्षाबन्धन । यो तिम्रै बोडिगार्डको लाइसेन्स भनेर दिएको होइन तिमीले ? म सुरक्षा गर्छु नि तिम्रो । तिमि निश्चिन्त होउ ।’
उसले एक सर्को व्यंग्यको हाँसो हाँस्दै भनी, ‘रक्षाबन्धन ? यो त सम्झिने हो दादा । के निर्मलाले आफ्नो दाईलाई रक्षाबन्धन बाँधिदिएकी थिइनन् होला ? बलात्कार हुने कसैले पनि आफ्ना दाईभाईलाई रक्षाबन्धन बाँधेका थिएनन् होला ? ल बाँधेनन् अरे नबाँधे पनि दाजुभाईको त कर्तव्य हो नि दिदि बहिनीको रक्षा गर्ने। खै त ? अझ रक्षाबन्धन बाँधिदिएकाहरुबाटै खतरा देख्छु मत ।’ मैले सुनिरहेको थिएँ । ‘थाहा छ दादा, आजकल मलाई छोरामान्छे देख्यो कि घृणा लागेर आउँछ । कलेजका साथि देखि लिएर यहाँ अफिसका सरहरुसम्म । बाँकी अरुको त के कुरा गर्नु । मलाई पढाउने एकजना गुरु छन् । पहिले निकै मन पथ्र्यो, राम्रो बोल्थे आजकल उनकै नियतमा शंका लाग्न थालेको छ । तपाईँलाई त थाहै छ, म मनिष सरसँग कति चल्थेँ, हाँस्थेँ, बोल्थेँ । तर अहिले उसमा पनि बलात्कारीको रुप देख्छु । यहाँका मानिसले मानवता गुमाइसके जस्तो लाग्छ दादा । हैन भने छ सात महिनाका काखे बालिका देखि सत्तरी असी वर्षका वृद्धाहरु किन सुरक्षित छैनन ? ति अधर्मीहरुले किन आफ्ना छोरी, बहिनी, आमा, हजुरआमाको रुप देख्दैनन् उनीहरुमा ?’ म मौन ।
दुई हत्केलामा उसको चेपु थामेर बुढी औँलाले आँखाका सित सफाएर निधारमा चुमी उसलाई एकछिन छातिमा टाँस्दै सोध्न मन लागेको थियो, ‘के मेरो अनुहार पनि डरलाग्दो देख्छौ तिमी ? के म पनि बलात्कारी जस्तो देखिन्छु तिम्रो नजरमा ? के तिमीले मैले जस्तै आफ्नै दाई मानेकी छैनौ र ?’
तर यी सबै कुरा त परै जाओस म उसलाई सामान्य ढाडस समेत दिन सकिरहेको थिइन ।
मलाई आफैप्रति शंका लाग्यो । म भित्र पनि त्यो राक्षस त लुकेको छैन ? त्यो दानव, जो मान्छेको बोक्राले सजिएको छ ? हैन भने हिजाे बाटोमा भटिएकी ति दिदिले मलाई आँखा तर्दै, आफ्नी सानी छोरीलाई जुरुक्क उठाएर काखमा किन राखिन ? अनि सँधै मेरो कोठामा खेल्न आउने माथिल्लो कोठाको नानी जो आमा बाबु बाहिर जाने बेला मेरै जिम्मा लगाएर जान्थे, उसलाई अचानक म कहाँ आउन किन रोक लगाइयो ? म सोचमग्न भएँ । सायद यो मेरो होईन, समयको दोष हो ।
यतिबेला सम्म बबिता आँसु पुछ्दै गइसकेकी थिइ । मेरा आँखा पनि कतिबेला भरिएर पोखिन सुरु भएछन्, पत्तै पाईनँ ।
(मुक्ति)
प्रतिक्रिया