लिगलिगमा दौडेर राजा छानिने, को बन्ला !
सारांश
- गोरखा ।
- गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता असोज २८ गते हुने भएको छ ।
- लिगलिग कोट विकास अभियानले पत्रकार सम्मेलन गर्दै हरेक वर्ष हुँदै आएको प्रतियोगिता यही असोज २८ गते गर्ने जानकारी गराएको हो ।
गोरखा । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता असोज २८ गते हुने भएको छ । लिगलिग कोट विकास अभियानले पत्रकार सम्मेलन गर्दै हरेक वर्ष हुँदै आएको प्रतियोगिता यही असोज २८ गते गर्ने जानकारी गराएको हो ।
गोरखाको चेपेघाटबाट शुरु हुने दौड लिगलिगकोट दरबारमा आएर टुङ्गिनेछ । दौड १३।८ किमीको हुनेछ । प्रतियोगिताको विजेतालाई ६० हजार १ सय रुपैयाँ सहित लिगलिगेको राजा घोषित गरिने अभियानका महासचिव सन्तोष देवकोटाले जानकारी दिए ।
विजेतालाई श्रीपेच, पगरी, ट्रफी प्रदान गर्नाका साथै एक रात राजाका रुपमा राखिने आयोजकले जनाएको छ । राजालाई मोटरमा राखेर नगर परिक्रमा गर्ने परम्परा छ ।
प्रतियोगितामा दोस्रो हुनेलाई ३५ हजार १ सय, तेस्रो हुनेलाई २५ हजार १ सय, चौथो हुनेलाई १२ हजार १ सय र पाँचौँ हुनेलाई ७ हजार १ सय रुपैयाँ नगद पुरस्कार पाउनेछन् । लिगलिगे दौडअन्तर्गत नै पाँच किलोमिटरको समावेशी महिलातर्फको विजेताले २० हजार पाँच, दोस्रोले १२ हजार पाँच र तेस्रो हुनेले सात हजार पाँच रुपैयाँ पुरस्कार पाउनेछन् ।
१९१६ सालमा द्रव्य शाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो आठ वर्षयता निरन्तर हुँदै आएको छ । प्रतियोगिताका लागि आउने खेलाडीका लागि खाने–बस्ने व्यवस्था आयोजकले नै गर्नेछन् । यस्तै खेलाडीका लागि ७ लाख रुपैयाँको बीमासमेत गरिएको आयोजकले जनाएको छ ।
नेपाल एकीकरण अघिको बाइसे–चौबिसे साना राज्यमध्ये लिगलिग कोट राज्यमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा थियो । पहिले दौड जुन अभिप्रायबाट शुरु भए पनि अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट ल्याउन प्रतियोगिता आयोजना गरिएको अभियानका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिनुभयो ।
१६०४ सालमा शुरु भएको दौडलाई पछिल्लो समय २०६७ सालबाट पुनः निरन्तरता दिन थालिएको हो । राजा द्रव्य शाहको उदयपछि तत्कालीन समयमा दौडको अन्त्य भएको इतिहास छ । पहिलो लिगलिगे दौडमा दलसुर घले मगर विजयी भई राजा भएको जनविश्वास छ ।
प्रतिक्रिया