झापा ११ ले चुम्यो कटारी मेयर गोल्डकप २०७४ को उपाधि
सारांश
- अस्बिन खडका उदयपुर, १७ चैत ।
- उदयपुरको कटारीमा शनिवारदेखि जारी “चौथो कटारी मेयर गोल्डकप २०७४” को उपाधि झापा ११ ले चुमेको छ ।
- आज भएको फाइनल खेलमा झापा ११ ले संकटालाई पराजित गर्दै दोस्रोपटक पनि कटारी गोल्डकप झापा ११ ले कब्जा गरेको हो ।
अस्बिन खडका
उदयपुर, १७ चैत । उदयपुरको कटारीमा शनिवारदेखि जारी “चौथो कटारी मेयर गोल्डकप २०७४” को उपाधि झापा ११ ले चुमेको छ । आज भएको फाइनल खेलमा झापा ११ ले संकटालाई पराजित गर्दै दोस्रोपटक पनि कटारी गोल्डकप झापा ११ ले कब्जा गरेको हो ।
उदयपुरको कटारीमा शनिवारदेखि सञ्चालित चौथो कटारी मेयर गोल्डकपको शनिबार भएको फाइनल भिडन्तमा संकटालाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै झापा ११ च्याम्पियन बनेको हो । गोल्डकप विजेता झापाले उपाधिसँगै ५ लाख र उपविजेता संकटाले नगद २ लाख ५१ हजार रुपैयाँ हात पारेका छन् । निर्धारित समयमा गोल हुन नसकेपछि थप गरिएको १५ मिनेटमा पनि दुबैतर्फबाट गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा झापाका देवेन्द्र तामाङ, कर्ण लिम्बु, विशाल गुरुङ र प्रवेश गुरुङले गोल गरे । संकटाका लागि हेम थापा मगर र सौजन राईको प्रहार मात्रै गोलमा परिणत भएपछि ४–२ अन्तरले झापाले उपाधि उचालेको हो । संकटाका लागि राम्रा खेलाडी अनिल गुरुङको प्रहार झापाका गोलक्षक मनोज प्रधानले सहजै नियन्त्रणमा लिएपछि संकटाका नवीन गुरुङको प्रहार बाहिरियो । झापाका योगेश गुरुङको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले नियन्त्रणमा लिए ।
आयोजक समितिका अध्यक्ष विनोद कटुवालले बताएअनुसार कटारी नगरपालिकाको सहकार्य र साथी समूहको संयोजनमा गोल्डकप आयोजना गरिएको थियो । गोल्डकपको उत्कृष्ट खेलाडी झापाका विकाश गुरुङ भए । उनले एउटा माउन्टेन साइकल पाए भने उदीयमान खेलाडी कटारी ११ का प्रताप राई भए । उनले नगद ५ हजार प्राप्त गरे । त्यसैगरी उत्कृष्ट गोलकर्ता संकटाका टम्पी अनेष्ट भए । उनले एक थान मोबाइल हात पारे भने म्याच अफ सिरिज झापाका निशान्त खड्का भए । उनले पनि नगद ५ हजार हात पारेका छन् भने उत्कृष्ट गोलरक्षक झापाका मनोज प्रधान, उत्कृष्ट डिफेन्स संकटाका सुरज विश्वकर्मा र उत्कृष्ट मिडफिल्डर संकटाका विश्व अधिकारी भए । उनीहरुलाई क्रमशः एक÷एक थान मोबाइल प्रदान गरिएको थियो । शनिवारदेखि सुरु गोल्डकपमा डिभिजन लिग खेलिसकेका टिमहरुसहित ८ टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया