निर्वाचन प्रचारको आज अन्तिम दिन, राति १२ बजेदेखि मौन अवधि शुरु हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ११, २०७४
|
|
१६ पटक हेरिएको
Shares
निर्वाचन प्रचारको आज अन्तिम दिन, राति १२ बजेदेखि मौन अवधि शुरु हुने

सारांश

  • काठमाडौं, ११ असार ।
  • स्थानीय निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन दलहरु मतदाता आफ्नो पक्षमा पार्न सक्रिय छन्।
  • प्रमुख दलका शीर्ष नेताहरु नै चुनावी प्रचास प्रसारमा खटिएका छन्।

काठमाडौं, ११ असार । स्थानीय निर्वाचनको प्रचार प्रसारको अन्तिम दिन दलहरु मतदाता आफ्नो पक्षमा पार्न सक्रिय छन्। प्रमुख दलका शीर्ष नेताहरु नै चुनावी प्रचास प्रसारमा खटिएका छन्। यही असार १४ गते बुधबार १, ५ र ७ प्रदेशका ३५ जिल्लामा दोस्रो चरणको स्थानीय निर्वाचन हुँदैछ। असार १४ मा हुने दोस्रो चरणको निर्वाचनकालागि आइतबार राति १२ बजेपछि मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ। स्थानीय तह निर्वाचन, निर्देशिका, २०७३ को दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको आयोगले जनाएको छ। निर्देशिकाको दफा ६९ को (१) मा मौन अवधि शुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न नपाइने भन्ने उल्लेख छ।

निर्वाचनको मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक र ट्वीटरलगायतका कुनै पनि सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट समेत कसैले पनि निर्वाचनको प्रचार–प्रसार गर्न नपाइने आयोगले जनाएको छ। कुनै पनि प्रचार प्रसारका क्रियाकलाप नगर्न र गराएको पाइएमा तत्काल रोकी मौन अवधिको पूर्ण पालना गर्न, गराउन निर्वाचन आयोग आग्रह गरेको छ।

‘यदि निर्वाचनको मौन अवधि पालना नगरी निर्वाचन आचारसंहिताविपरीत कुनै पनि किसिमले निर्वाचनको प्रचार–प्रसार गरिएको पाइएमा त्यस्ता दल, संस्था, उम्मेदवार र व्यक्तिहरुमाथि निर्वाचन आयोग ऐन २०७३ बमोजिम हदैसम्मको कारबाही हुने व्यहोरासमेत सम्बद्ध सबैलाई जानकारी गराइन्छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तह निर्वाचन, निर्देशिकाको दफा ७० मा प्रचार–प्रसार गर्न वा शान्ति भङ्ग गर्न निषेध गरिएको छ। सोही दफाको (१) मा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचार–प्रसार गर्न वा गराउन निषेध गरिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?