बिपीलाई गाईकै दुध चाहिने, भैंसीको नखाने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
२० पटक हेरिएको
Shares
बिपीलाई गाईकै दुध चाहिने, भैंसीको नखाने

सारांश

  • काठमाडौँ ।
  • “बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध हो भन्ने थाहा पाएर यसो भन्थे, “ तपाईंको गाईले दिएपछि मात्र ल्याउनुस् अहिले ल्याउनु पर्दैन, तपाईंले पैसा पाइरहनुहुन्छ ।
  • ” २०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा तत्कालिन राजाले प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई पदबाट अपदस्थ गरी केहि महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृह लगिएको थियो ।

काठमाडौँ । “बिपीलाई सधैँ गाईकै दूध चाहिन्थ्यो, गाईले दूध नदिँदा म भैँसीको दूध लगिदिन्थेँ, तर बिपीले भैँसीको दूध हो भन्ने थाहा पाएर यसो भन्थे, “ तपाईंको गाईले दिएपछि मात्र ल्याउनुस् अहिले ल्याउनु पर्दैन, तपाईंले पैसा पाइरहनुहुन्छ ।”

२०१७ पुस १ गते तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा तत्कालिन राजाले प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला, संसद्का सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री गणेशमान सिंहलगायत नेतालाई पदबाट अपदस्थ गरी केहि महिना सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृह लगिएको थियो ।

बन्दीगृह लगेपछि दूध खुवाउन थालेका साविकको नयाँपाटी गाविस–२ रुप्सेटार हालको गोकर्णेश्वर–१ का मोदनाथ पोख्रेलले सुनाएको यो प्रसंग २०१७ साल फागुनदेखि २०२५ बीचको हो । जतिबेला कोइरालालाई सुन्दरीजल आर्सनलका कार्यालय प्रमुख बस्ने सरकारी निवासमा राजबन्दीका रुपमा थुनिएका थिए। बन्दीगृहमा बस्दा झण्डै १० वर्षसम्म पोख्रेलले नेताहरुलाई दूध खुवाएका थिए।

  बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, योगेन्द्रमान शेरचन, दिवानसिंह राई, रामनारायण मिश्र, प्रेमराज आङ्देम्बेलगायत नेतालाई सुन्दरीजल बन्दीगृह लग्नु अगाडि आर्सनलका कार्यालय प्रमुखको निवासलाई वरिपरिबाट ठूलो पर्खालले घेर्न शुरु गरिएको थियो । पोख्रेलले नेताहरुलाई लैजानु अगाडि पर्खाल बनाउने कामदारलाई पनि दूध दही खुवाएका थिए।

बिपीलगायत नेतालाई बन्दीगृह लगेपछि बन्दीगृह हेर्ने कार्यालय प्रमुखले पोख्रेललाई नै दूध खुवाउन भने । पोख्रेलले कार्यालय प्रमुखको आग्रहलाई आफ्नो अवसर सोचेर स्वीकार गरे। उनले दूध लैजान थाले। एकदिन जेलको सुरक्षामा बसेका सिपाहीले “तपाईंले दूध ल्याउने उहाँकै लागि हो” भनेर कपुरको रुखमुनि बसेर लेखपढ गरिरहेका बिपीलाई टाढैबाट चिनाइदिए । पोखे्रलको दूध लैजाने प्रक्रिया निरन्तर चलिरह्यो ।

वर्षाको शुरुवात भएपछि जेलभित्र घाँस बढ्यो । दूध लैजाने नाताले बढेको घाँस काट्न जाने अनुमति पोख्रेललाई नै मिल्यो । बपीलगायतका राजनेतालाई राखेको भवनभित्रको चौरमा घाँस काट्न थालेपछि पोख्रेलले नेताहरुलाई प्रत्यक्ष भेट्न थाले। “बिपी प्रायः कपुरको रुखमुनि बसेर लेखपढ गरिरहनुहुन्थ्यो” त्यतिखेरको दृश्य सम्झिँदै पोख्रेलले भने।

त्यसअघि पोख्रेलले बिपीलगायतका नेताहरु अराष्ट्रिय तत्व भएकाले सरकारबाट पदच्यूत गरी बन्दीगृहमा थुन्न ल्याएको सुनेका थिए। “मैले दुईचार दिनसम्म बिपीको क्रियाकलाप देखिसकेपछि अराष्ट्रिय तत्व हुन् जस्तो लागेन” – त्यसबेलाको घटना सम्झँदै उनले भने।

बिहान नियमितरुपमा दूध लैजाने र दिउँसो घाँस काट्न थालेपछि बिपीसँग पनि पोख्रेलको कुराकानी हुनथाल्यो । शुरुमा सुरक्षामा बसेका सिपाहीले कुराकानी नगर्नु भनेर भन्थे । पछि सिपाहीहरु बुर्जामा र बाहिर मूलढोकामा मात्र बस्न थालेपछि बिपी कपुरको रुखमुनि बसेर लेखपढ गर्ने र पोख्रेल चौरमा घाँस काट्ने गर्न थालेपछि सिपाही बस्ने ठाउँबाट कुराकानी नसुनिने भएकाले पोख्रेलको बिपीसँग लामो कुराकानी हुनथाल्यो ।

बिपीसँगको कुराकानीले व्यावहारिक मानिस लागेको उनी सम्झन्छन्। बिपीले घरमा कतिजना बच्चा छन्, कहाँ पढाएको छ रु जस्ता व्यावहारिक कुरा पनि सोध्नुभयो । पोख्रेलका जेठा छोरा मधु सात वर्षको हुँदादेखि नै औँला समातेर जेलमा दूध पु¥याउन जान्थे । पहिलोचोटी मधुलाई देख्नेबित्तिकै बिपीले “यो केटा तीक्ष्ण बुद्धिको छ, यसलाई राम्रो शिक्षा दिनू” – भनेका थिए।

बिपीको सुझावपछि पोख्रेलले जेठो छोरा मधुलाई पढ्नका लागि भारत पठाए। त्यसपछि गोरखपुरस्थित मिसन स्कूलबाट पोख्रेल पुत्र मधुले प्रवेशिका परीक्षा उत्तीर्ण गरे। प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि लखनउ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लखनउ क्रिश्चियन कलेजबाट बिकम र एमबिएसम्मको अध्ययन पूरा गरे। बिपीको प्रेरणाबाट उच्च अध्ययन गरिसकेपछि मधुले युसेप, एमएस नेपाल र एक्सन एड नेपालजस्ता अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा उच्च पदमा रहेर काम गरी सेवा गरेको अनुभव उनले सुनाए। मधु अहिले विकास व्यवस्थापनमा अन्तर्राष्ट्रिय संस्थाका लागि परामर्श दिने काम गरिरहेका छन्।

बिपीलाई दूध खुवाउँदाको रमाइलो अनुभव पनि पोख्रेलसँग छ । पोख्रेलकहाँ त्यतिखेर कैली गाई थियो । त्यसैको दूध बिपीलाई लगिदिने गर्थे। गाई वर्षमा १५ दिनमात्र थाक्थ्यो । गाई थाकेको १५ दिन पोख्रेल भैँसीको दूध लैजान्थे। भैँसीको दूध बिपीले तत्काल चिन्ने गरेकाले गाई थाकुञ्जेल दूध नलैजाने गरेको पनि पोख्रेलले बताए।

कैली गाईको दूध मीठो र बाक्लो थियो । गाईको दूधको स्वाद परेकाले बिपीलाई भैँसीको दूध मन परेन । “बिपीलाई गाईकै दूध चाहिने भएकाले म दैनिक एउटा भाँडामा गाई र अर्कोमा भैँसीको दूध लैजान्थेँ” – उनले सुनाए।

 २०१७ देखि २०२५ सम्म बिपीलगायत नेतालाई दूध खुवाएका पोख्रेलले २०३३ साल पुस १६ गतेपछि राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिएर आठ वर्षे भारत प्रवासबाट नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पुनः बन्दीगृह लगिएपछि फेरि पोख्रेलले गाईको दूध खुवाउने अवसर पाए। पोख्रेललाई सुरक्षाकर्मीले विश्वास गरिसकेकाले घाँस काट्न जाँदा पनि पछि लाग्दैनथे । दूध पनि नजाँचीकन प्रवेश गराउँथे ।

एक वर्षजति दूध खुवाएपछि बिपी उपचारका लागि विदेश गएकाले अन्य नेतालाई दूध दिएको पोख्रेलले सुनाए। यसपछि बिपी सुन्दरीजल फर्किनन्। उपचारपछि बिपी चावहिलमा बस्न थाले। बिपीले पछि पोखेललाई चावहिलमै बोलाएर छोरा कहाँ छन् रु लिएर आउनू भने। छोरा मधु त्यतिबेला अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न थालिसकेकाले पञ्चायतकालको डरले बिपीलाई भेटेनन्। त्यतिबेला बिपीलाई नभेटेकामा मधुलाई पछिसम्म पनि पश्चात्ताप भइरह्यो ।

“पश्चात्तापलाई बिपीको निधनपछि रत्नपार्कबाट शव यात्रामा सहभागी भई शान्ति लिएँ” – उनले घटना सम्झँदै भने – “मेरो सफलतामा बिपीको प्रेरणा महत्वपूर्ण छ ।” सुन्दरीजल बन्दीगृह हुँदा राजनेतालाई दूध खुवाएकैले बिपी संग्रहालय घोषणा भएपछि मोदनाथलाई सम्मान गरिएको संग्रहालयका अध्यक्ष परशुराम पोख्रेलले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
राहुल महरालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
इनरुवालाई प्रदेश—१ को राजधानी बनाउन माग
इनरुवालाई प्रदेश—१ को राजधानी बनाउन माग
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतीय समकक्षीलाई शुभकामना
आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन लविङ सुरु
आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन लविङ सुरु
सरकार विरुद्ध लडाई जारी राख्ने आर्साको धम्की
सरकार विरुद्ध लडाई जारी राख्ने आर्साको धम्की
सिङ्गो संसदको नायक निर्विवाद चयन गर्न कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
सिङ्गो संसदको नायक निर्विवाद चयन गर्न कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने
देउवा-मोदी भेटवार्ता आज
देउवा-मोदी भेटवार्ता आज
आज पनि मेघगर्जन सहित वर्षा हुने संभावना
आज पनि मेघगर्जन सहित वर्षा हुने संभावना
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
आजपनि ओली–प्रचण्डबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका एजेण्डा ?
आजपनि ओली–प्रचण्डबीच भेटवार्ता हुँदै, यस्ता छन् छलफलका एजेण्डा ?

तपाईंले छुटाउनुभयो कि?