अख्तियारलाई समेत मिलाएर भूमाफिया मालामाल !१२ अर्बको सरकारी जग्गा कप्लकै खाने को को ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
५० पटक हेरिएको
Shares
अख्तियारलाई समेत मिलाएर भूमाफिया मालामाल !१२ अर्बको सरकारी जग्गा कप्लकै खाने को को ?

सारांश

  • काठमाडौैं ।
  • लोकमानसिंह कार्की मुख्यसचिवबाट अख्तियारको प्रमुख आयुक्तसम्म भए ।
  • चुडामणि शर्मा सहसचिव हुन् ।

काठमाडौैं । लोकमानसिंह कार्की मुख्यसचिवबाट अख्तियारको प्रमुख आयुक्तसम्म भए । चुडामणि शर्मा सहसचिव हुन् । कार्की संवैधानिक निकायको प्रमुख नियुक्त भए, तरपनि अख्तियार प्रमुखका लागि अयोग्य ठहर भएको आरोपमा अदालतबाटै बर्खास्त भए । शर्मामाथि आन्तरिक राजस्व विभागको महानिर्देशक भएर आयकर ऐनविपरीत कर फस्र्योट आयोगबाट रु. २१ अर्ब कर छुट दिएकोदेखि एनसेलको ६५ अर्ब लाभकर तिर्नुपर्दैन भनेर अर्बौं रुपैयाँ घुस लिएको आरोप लागेको छ । तर, दर्जामा सानो भएपनि नेपालमा अरु पनि थुप्रै चुडामणिहरू रहेको तथ्यहरू प्रकट हुँदैछन् । तीमध्येका हुन्, मालपोत कार्यालय चावहिलका कामु कार्यालय प्रमुख बद्रीबहादुर कार्की ।

बद्रीबहादुर कार्की पदीय हिसाबले शाखा अधिकृत मात्र हुन् । तर, सम्पत्तिका हिसाबले करीब २० बर्ष काठमाडौं उपत्यकाका मालपोत कार्यालयमा बसेर नेपालका भ्रष्टहरू सबैलाई नै उछिनिसकेको भूमिसुधार मन्त्रालयका कर्मचारीहरू चर्चा गर्दछन् । ती कर्मचारीका अनुसार, लोकमानसिंह, दीप बस्नेत र चुडामणिको भन्दा बढी सम्पत्ति बद्रीबहादुर कार्कीसँग छ । उनी अख्तियारदेखि भूमिसुधार मन्त्रालय सबैतिर सेटिङ मिलाएर शाखा अधिकृत भएर मस्ती गर्दै माल कमाउने अड्डा चावहिल मालपोत कार्यालयको प्रमुखका रुपमा दैनिक ३३ लाख रुपैयाँ घुस एउटै कित्ताबाट असुली गर्न सफल भएको चर्चा आजभोलि भूमिसुधार मन्त्रालयमा चल्ने गरेको छ ।

बीसौं जना उपसचिव विनाजिम्मेवारी मन्त्रालय र विभागमा हल्लिएर बसे पनि उनलाई मालपोत कार्यालय चावहिलको मालपोत कार्यालय प्रमुखमा सरुवा गर्ने काम तत्कालीन भूमिसुधार तथा ब्यवस्थापन विभागका महानिर्देशक टीकाराम घिमिरले गरेका थिए । अहिले पनि टीकाराम घिमिरेलाई उनले मासिक रुपमा बुझाउने गरेकाले २ नम्बर प्रदेशमा भइसकेको उनको सरुवा पनि रोकिएको स्रोतको दावी छ । मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख घिमिरेले सामान्य प्रशासन मन्त्रालयमा पत्र लेखेरै उनको सरुवा रोकेको स्रोत बताउछ ।

शाखा अधिकृत कार्की मोटो रकम घुस ख्वाएर ६ महिनाअघि मात्र सबै उपसचिवलाई पाखा पार्दै चावहिल मालपोत कार्यालयको कामु प्रमुखमा सरुवा भएका हुन् । तर, यसअघि ६ बर्षमा उपसचिवले कमाउन नसक्ने पैसा उनले यो ६ महिनाको बीचमा मन्त्रालयको निर्देशन र अदालतको फैसला विपरीत अनियमित कित्ताकाट गरेर कमाएको कर्मचारी स्रोत बताउछ । एउटै कित्तामा उनले ३३ लाख रुपैयाँसम्म घुस असुलेको समाचार साँघुले गतहप्ता पनि उजागर गरिसकेको छ ।

चार्टर्ड एकाउन्टेन्ट लुम्बध्वज महत संयोजक एवं उमेशप्रसाद ढकाल र आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मा सदस्य रहेको कर फछ्र्योट आयोगले राज्यको ढुकुटीमा आउने राजस्व मिनाहा गरेर भ्रष्टाचारको रेकर्ड तोडेका थिए । कर फछ्र्योट आयोगमा कूल १७२६ निवेदन परेकोमा १०६९ वटा उपर कारबाही गरि कर बक्यौता मिनाहा दिने निर्णय गरेको थियो । कूल ४० अर्ब ८३ करोड रुपैयाँ बराबरको बक्यौता मिनाहाका लागि निवेदन परेको थियो । त्यस मध्ये आयोगले ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँ बराबरको निवेदन फर्छ्यौट गरेको थियो । जसमा नौ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ कर तिर्न लगाएर बाँकी २० अर्ब ९८ करोड रुपैयाँको बक्यौता मिनाहा गरेको थियो । कूल निवेदन परेको मध्ये १० अर्ब ३० करोड ७६ लाख रुपैयाँ फर्छ्यौट हुन बाँकी रहेको छ ।

लुम्बध्वज महत संयोजक एवं उमेशप्रसाद ढकाल सदस्य र सदस्यसचिव चुडामणि शर्माले कर फस्र्योट आयोग गठन गरी २१ अर्ब मिनाहा गरेजस्तै शाखा अधिकृत बदं्री कार्कीले ६ महिनाको बीचमा भूमिसुधार मन्त्रालयको कृषियोग्य जग्गा कित्ताकाट नगर्ने निर्णयको परिपत्र र अदालतको फैसला समेत अटेर गर्दै यसबीचमा धेरै कृषियोग्य जग्गा कित्ताकाट गरेर अकुत सम्पत्ति आर्जन गरेको स्रोतले बताएको छ ।

साविक गोठाटार गाविसको नक्सा नम्बर १०२–११९०–११ को एउटै प्लटिङको जग्गा कित्ताकाट गर्दा चावहिल मालपोत, नापी कार्यालयका कर्मचारी र लेखापढी ब्यवसायी मिलेर ११ लाखका दरले ३३ लाख रुपैयाँ घुस लिएर कृषियोग्य जग्गा परिपत्रको उल्लंंघन हुनेगरी कित्ताकाट गरेका छन् । गोठाटार एक उदाहरण हो, मन्त्रालयको परिपत्रपछि चावहिल मालपोत कार्यालयबाट सयौं कित्ता कृषियोग्य जग्गा अदालतको फैसलासमेत उल्लंघन गरी टुक्राटुक्रा पारिएको छ ।

यसरी उपसचिव मालपोत प्रमुख हुँदा ६ बर्षमा पनि असुली गर्न नसकेको घुस कामु कार्यालय प्रमुख कार्कीले ६ महिनामै गरेका छन् । मालपोत कार्यालय स्रोतका अनुसार उनले पहिला रोकिएका सरकारी जग्गा दर्ता, छुट जग्गा दर्तादेखि कित्ताकाट सबै फाइल घुस खाँदै सदर गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसी सबै सेटिङ मिलाएर उनी चावहिल मालपोत कार्यालयमा सरुवा भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चावहिलका १० जना कर्मचारीविरुद्ध २०७४ भदौ २ मा काठमाडौं जिल्ला साबिकको गोठाटार, बालुवा, मूलपानी, विष्णु गाविसलगायतका स्थानमा रहेका जग्गाको गैरकानूनी श्रेस्ता तयार गरी बिक्री वितरण गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो । मालपोतका अधिकृतद्वय चेतनाथ ढकाल र तीर्खाराम अर्यालसहित कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालीन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्याल, नायब सुब्बा सुन्दरकुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी, कम्प्युटर अपरेटर लक्ष्मणप्रसाद खतिवडा र खरिदार दिव्यराज घिमिरे र कार्यालय सहयोगी राजेन्द्र बस्नेतविरुद्ध मुद्दा गरिएको अख्तियारले जनाएको छ ।

उनीहरूले जग्गाको गैरकानूनीरुपमा श्रेस्ता खडा गरी कार्यालयमा रहेको दर्ता बाँकी श्रेस्ता केरमेट गरेर प्रमाणित गरी वैधानिकरुपमा निर्णय नै नभएका जग्गाको विवरण ठीक छ भनी रुजु र स्कीकृत गरी भ्रष्टाचार गरेको अख्तियारको भनाइ छ । यस्तै दर्ता नै नखुलेका र नभएका जग्गाको अनलाइन सिस्टममा प्रवृष्टि समेत गरी बदनियतपूर्वक दर्ता नभएको फर्जी श्रेस्ता खडा गरी वैधानिकता प्रदान गर्ने गराउने र बिक्री वितरण गर्ने कार्यमा संलग्न भएका कर्मचारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो र कैद संजायको माग गर्दै मुद्दा दायर गरेको छ ।

तर, बद्रीबहादुर कार्कीले चावहिल मालपोत कार्यालयमा गइसकेपछि गैरकानूनी श्रेस्ता खडा गरी थुप्रै जग्गा दर्ता गरे पनि उनीमाथि अख्तियारले छानबिन नगरेकोमा आश्चर्य प्रकट गरिएको छ । घुस्याहा कार्कीको अख्तियारका आयुक्तलगायत कर्मचारीहरू सबैसँग पहुँच भएकाले छानबिन हुनबाट रोकेर ६ महिनामा करीब २५ करोड रुपैयाँ नियम विपरीत कित्ताकाट र पूँजीगत लाभकर छलीबाट घुस असुली गरेको आरोप छ ।  उनी नासु हुँदादेखि काठमाडौंका डिल्लीबजार, कलंकी, चावहिल मालपोत कार्यालयमा कार्यरत रहेका अर्बपति कर्मचारीका रुपमा चिनिन्छन् । उनी उपत्यकाका मालपोत कार्यालयमा कार्यरत रहेकै २० बर्ष भइसकेको छ । स्रोतका अनुसार, यसबीचमा उनी र टीकाराम घिमिरेसंग मिलेर सयौं रोपनी सरकारी जग्गा गैरकानूनीरुपमा ब्यक्तिका नाममा दर्ता गरेको आरोप छ ।

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख टीकाराम घिमिरे(हाल भूमिसुधार मन्त्रालयका सहसचिव) र नायब सुब्बा बद्रीबहादुर कार्कीले बालुवाटारको समरजंग कम्पनीको १ सय ४४ रोपनी सरकारी जग्गा भाटभटेनी सुपरमार्केटका साहु मिनबहादुर गुरुङ, शोभाकान्त ढकाल, रामकुमार सुवेदीलगायतको डिजाइनमा गैरकानूनीरुपमा ब्यक्तिका नाममा दर्ता गरेका थिए । त्यसमा तत्कालीन मालपोत प्रमुख टीकाराम घिमिरे, नायबसुब्बाद्वय बद्रीबहादुर कार्की र काजी बिष्टले दस करोडभन्दा बढी घुस शोभाकान्त ढकालमार्फत् लिएर १ सय ४४ रोपनी जग्गा गैरकानूनीरुपमा दर्ता गरेका थिए । उनीहरूले आफ्ना र आफ्ना आफन्तका नाममा पनि जग्गा राखेको स्रोतले बताएको छ ।

शोभाकान्त ढकाल एमालेका उपमहासचिव बिष्णु पौडेलका विश्वासपात्र हुन् । बालुवाटारको राष्ट्रबैंक, सभामुख निवाससँगै जोडिएको तत्कालीन समरजंग कम्पनीको नाममा श्रेस्ता कायम रहेको सरकारी जग्गा टीकाराम घिमिरे, बद्रीबहादुर कार्की र काजी बिष्टले मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदीको डिजाइनमा गैरकानूनीरुपमा ब्यक्तिका नाममा दर्ता गरेका हृुन् । तर, दुर्भाग्यको कुरा यो अर्बौं अर्बको सरकारी जग्गा दर्ता काण्ड मिडिया, राजनीतिक दल, संसदीय समितिदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग कसैले पनि चासो देखाएका छैनन् । सो विवादमा परेको कुल जग्गामध्ये २३ रोपनी जग्गा भूमाफिया शोभाकान्त ढकाल र भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङलगायतले एक विदेशी कम्पनीलाई बिक्री गर्ने तयारी गरेका थिए । सुवर्णशमशेर राणाको हदबन्दीभन्दा बढी भएको १ सय ४४ रोपनी बालुवाटारको उक्त जग्गा तत्कालीन समरजंग कम्पनीको नाममा श्रेस्ता कायम गरिएको थियो ।

समरजंग सरकारी कम्पनी हो । झण्डै १२ अर्ब रुपैयाँबराबर मूल्य पर्ने सो सरकारी जग्गा तत्कालीन डिल्लीबजार मालपोतका प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरे, नायबसुब्बाद्वय बद्रीबहादुर कार्की र काजी बिष्टले गैरकानूनीरुपमा ब्यक्तिका नाममा दर्ता गरेका थिए ।

समरजंग कम्पनीको नामको प्रधानमन्त्री निवासनजिकै बालुवाटारमा रहेको उक्त १ सय ४४ रोपनी जग्गाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै गायब भएको थियो । भूमाफियाहरूले नै अख्तियारमा आर्थिक चलखेल गरी उक्त जग्गाको फाइल र उजुरी गायब पारेको अख्तियार स्रोत बताउँछ ।

-साघु साप्ताहिक बाट  

प्रतिक्रिया

6 कमेन्ट

    Comment Author

    Sudarshan Lamichhaney

    Yo aaparadhi ho bhane yeslai paisa kai thupro ma rakhera aago lagai diyeni pap lagdaina .

    Comment Author

    Kamala Dangal

    Yeasta karmcharilai karawai gari shampti. rajyale linuparx

    Comment Author

    Mahendra Gurau

    सेयर गरेर मात्र होईन, कारवाही गरेर देखाऊ ओली जी।

    Comment Author

    Shambhu Shah

    यस्ता लाई सिदै जेल हाल्दा हुन्

    Comment Author

    Prem Sharma Aryal

    Davao properties seize jari lifelong imprisonment dining parx this Oli govt le.

    Comment Author

    Dhruba Kunwar

    Aba yin lai k garnu parla sarkar?????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 6
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?