अझै सुध्रिएन सडकको दुरावस्था
सारांश
- काठमाडौँको चावहिलदेखि साँखुसम्मको सडकखण्ड कालोपत्र नहुँदा स्थानीयवासी वर्षौंदेखि धुलो धुवाँ र खाल्डोको समस्याबाट आजितमा छन् ।
- सरकारले गत २०७२ सालमा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा अर्थात् चार लेनको सडक बनाउने योजना ल्याएपछि सो सडकखण्डको निर्माण कार्य शुरु भएको थियो ।
- काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बाmेपत्र आह्वान गरी चार निर्माण व्यवसायीलाई सडक निर्माणको ठेक्का दिएको थियो ।
काठमाडौँको चावहिलदेखि साँखुसम्मको सडकखण्ड कालोपत्र नहुँदा स्थानीयवासी वर्षौंदेखि धुलो धुवाँ र खाल्डोको समस्याबाट आजितमा छन् । सरकारले गत २०७२ सालमा चावहिलबाट साँखुसम्म २२ मिटर चौडा अर्थात् चार लेनको सडक बनाउने योजना ल्याएपछि सो सडकखण्डको निर्माण कार्य शुरु भएको थियो ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बाmेपत्र आह्वान गरी चार निर्माण व्यवसायीलाई सडक निर्माणको ठेक्का दिएको थियो । एघार दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडक विस्तारको जिम्मा पाएका थिए ।
चावहिलदेखि साँखुसम्म पुग्ने सो सडकखण्ड काठमाडौँ महानगरपालिका र गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर गरी तीन नगरपालिकामा अवस्थित छ । चार वर्षदेखि अलपत्र सो सडकको अवस्था धुलाम्मे र हिलाम्मे छ । बौद्ध व्यापार सङ्घका अध्यक्ष दीपक चौलागाईंले अस्तव्यस्त सडकका कारण व्यापार नै छोड्नु परेको दुःखेसो पोख्नुभयो । चौलागाईं भन्नुहुन्छ, “यहाँको धुलो र हिलोका कारण ग्राहकको रोजाइ नै अन्यन्त्र ठाउँ हुने गरेको छ ।”
सडक अवलोकनको नाममा मन्त्री, मन्त्रालयको कर्मचारी, सडक विभागको कर्मचारी तथा यसै क्षेत्रबाट निर्वा्चित सांसदहरु पटक–पटक चावहिल हँुदै साँखु पुग्ने गरेका छन् । साँखुसम्म पुग्दा सडकको दुरावस्था नजीकैबाट नियाल्ने गरेका भिआइपीले सडक निर्माणमा भने कठोर कदम चालेको पाइँदैन । राजधानी भित्रिने पूर्वी नाकाको रुपमा रहेको यस सडक वर्षौंदेखि अस्तव्यस्त हुँदा सवारी आवागमनमा कठिनाइ हुनुको साथै व्यापार व्यवसायमा पनि नकारात्मक असर परेको छ ।
साँखुसम्म पुग्ने भिआइपीप्रति यहाँका स्थानीयवासी निकै आक्रोशित हुने गरेका छन् । उनीहरुको एउटै माग छ, सडको कालोपत्र छिटो होस् साथै सडकका कारण कोही पनि रोगको सिकार र दुर्घटनाका कारण अकालमा मृत्युवरण गर्न नपरोस् ।
सडक निर्माणका लागि ठेकेदार र सम्बन्धित निकायलाई दबाब दिन स्थानीयवासीले मिलन खड्काको अध्यक्षतामा साँखु जोरपाटी शङ्खरापुर सडक सरोकार समितिसमेत गठन गरेका छन् । समिति नै बनाएर दबाब दिँदै आएको भए पनि अहिलेसम्म सडकको निर्माण कार्यमा सुनुवाइ नभएको समितिका अध्यक्ष मिलन खड्काले बताउनुभयो ।
ठेक्का दिएको मितिदेखि आव २०७४÷७५ मा सडक निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले सर्वोच्च अदालतको अन्तरिम आदेश, मुअब्जा प्रक्रिया, विद्युतीय र टेलिफोनको पोल र तार नपन्छाउनु, खानेपानी तथा ढल चुहावट भई सडक सतहमा पानी बग्ने जस्ता कारण देखाई समयमै निर्माण गर्न नसकिएको भन्दै पन्छिने गरेका छन् ।
सर्वाेच्च अदालतले सडकमा जग्गा पर्नेलाई मुअब्जा दिनुपर्ने आदेश दिएर उक्त मुद्दाको फैसला गरिसकेको भए पनि सडक निर्माणको कार्यले भने अझै तीव्रता पाउन सकेको छैन । सडकको दयनीय अवस्थाका कारण विद्यालय आउने जाने बालबालिका तथा विद्यार्थीलाई हिँड्न झनै अप्ठेरो हुने गरेको छ । ठूलो पानी पर्दा हिलो र नपर्दा धुलोले सडकमा हिँड्नसक्ने अवस्था नै छैन ।
सोही बाटोमा दिनहुँ यात्रा गर्ने सन्तोष चौलागाईं भन्नुहुन्छ, “साँखुदेखि चावहिलसम्म पुग्दा मोटरसाइकल, स्कुटर हिलो र चिप्लो बाटोमा नपछारिएको दिनै हुँदैन कतिपयलाई त घाइते भएर उपचारसमेत गर्न लगेको देखेको छु । चौलागाईं भन्नुहुन्छ, “सडकको अवलोकन र छड्के धेरै हुने गरेको छ । तर अवलोकन गर्न आउने मन्त्री, पूर्वप्रधानमन्त्री तथा सांसदलाई नै ठेकेदारले टेर्दैनन् ।”
सडकको विषयमा यस क्षेत्रमा धेरै आन्दोलन पनि भयो । सडक बन्द नै गरेर स्थानीयदेखि व्यापारीसम्मले चक्काजाम नै गरे तर पनि सडकको निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । अझै यो सडकखण्डले पूर्णता पाउन कति समय पर्खनुपर्ने हो त्यसको लेखाजोखा छैन ।
प्रतिक्रिया