नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
नेपालकै पहिलो मिडिया फेस्टिभलको अन्तिम तयारीः के के हुन्छ फेष्टिभलमा ?

सारांश

  • काठमाडौं, १८ पुस ।
  • यही पुस २२ गतेदेखि हुने मिडिया फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ ।
  • “व्यावसायिक पत्रकारिताको आधार समावेशी सञ्चार” भन्ने मूल नाराका साथ नेवाः पत्रकार राष्ट्रिय दबूले पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा सो फेस्टिभल गर्न लागेको हो ।

काठमाडौं, १८ पुस । यही पुस २२ गतेदेखि हुने मिडिया फेस्टिभलको तयारी अन्तिम चरणमा पुगेको छ । “व्यावसायिक पत्रकारिताको आधार समावेशी सञ्चार” भन्ने मूल नाराका साथ नेवाः पत्रकार राष्ट्रिय दबूले पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा सो फेस्टिभल गर्न लागेको हो ।

मिडिया फेस्टिभल नेपालमा नै पहिलोपटक हुन लागेको आयोजकहरुको दाबी रहेको छ । नेपाली सञ्चार क्षेत्रमा क्रियाशील व्यक्तिहरु, पत्रकारिता क्षेत्रका विज्ञ, समावेशी सञ्चारसँगै प्रत्यक्ष सरोकार राख्ने विविध सामुदायिक संघसस्थाका प्रतिनिधिहरु सम्मिलित गराएर समावेशी सञ्चारको विषयमा बहस र छलफल गर्ने उद्देश्यले यस फेस्टिभलको परिकल्पना गरिएको नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा बताए ।

अध्यक्ष महर्जनले मिडिया फेस्टिभल नेपालको सञ्चार क्षेत्रमा नौलो र महत्वपूर्ण प्रयोग रहेकोले यसलाई सफल बनाउने जिम्मेवारी पनि सञ्चार जगतकै रहेको धारणा राखे । सो अवसरमा मिडिया फेस्टिभल—११३८ का संयोजक सुरेन्द्रभक्त श्रेष्ठले नेपालको सञ्चारमाध्यम समावेशी हुनुपर्ने मान्यताले प्रेरित भएर फेस्टिभल आयोजना गर्न लागेको बताए । संयोजक श्रेष्ठले भने, “भिन्न विचार र सोचलाई निषेध नगरीकन सबै खाले विचार अटाउनुपर्ने सन्देश प्रवाह गर्नु छ ।”

महोत्सवको उदघाटन २००९ सालमा कलाकार नामक पत्रिकामा नेपालभाषा, नेपाली र अंग्रेजी भाषामा पत्रकारिता गरेर समावेशी पत्रकारिताको उदाहरण पेश गरेका वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीबाट हुने छ । उदघाटन समारोहमा विशेष अतिथिका रुपमा परिकारिताका प्राज्ञ रामकृष्ण रेग्मीले समावेशी सञ्चार र मातृभाषाको पत्रकारिताको विषयलाई आफ्नो मन्तव्य दिने छन् ।

फेस्टिभलको दोस्रो सत्रमा डबली बहस हुने छ । पहिलो चरणमा देश संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा मातृभाषाको पत्रकारिता र स्थानीय पत्रकारिताको विकासका लागि स्थानीय तह वा प्रदेशको भूमिका के हुने भन्ने विषयमा स्थानीय तहका प्रमुखहरुसँग अन्र्तक्रिया हुने छ ।

दोस्रो चरणमा समावेशी सञ्चार क्षेत्रको अवधारणा के हो र नेपालको सञ्चार क्षेत्र समावेशी बनाउन के गर्नुपला भन्ने विषयमा केन्द्रीत भएर अध्येता सिके लाल, वरिष्ठ पत्रकार युवराज घिमिरे र नेपाल भाषा दैनिकका सम्पादक एवं वरिष्ठ पत्रकार सुरेशकिरण मानन्धरसँग अन्र्तक्रिया हुनेछ ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई औपचारिक मान्यता दिनुपर्ने उद्देश्यले एकातर्फ उनको तस्वीर अर्कोतर्फ धर्मादित्य धर्माचार्यको तस्वीर अंकित क्यालेण्डरको लोकार्पण गरिने छ । फेस्टिभल अवधिभर विविध भाषाबाट प्रकाशन हुँदै आएको पत्रपत्रिका, विशेषतः नेपाल भाषाबाट प्रकाशित पत्रपत्रिका, बन्द भइसकेका पुराना पत्रिकाहरु, टेलिभिजन, एफएम गरी करिब ३५ वटा स्टल रहने छ ।

धर्मादित्य धर्माचार्यले (जगतमान वैद्य) ९० वर्षअघि भारतको कलकत्ताबाट नेपाल भाषामा पत्रिका प्रकाशन गरेको इतिहास स्मरण गर्दै उनलाई मातृभाषाको पहिलो पत्रकार घोषणा गर्नुपर्ने पक्षमा फेस्टिभल एउटा पैरवीको माध्यम बन्ने सो अवसरमा मिडिया फेस्टिभल ११३८ का सहसंयोजक राजेश बज्राचार्यले बताए । सहसंयोजक बज्राचार्यले भने, “समावेशी सञ्चार दिशामा फेस्टिभले एउटा महत्वपूर्ण पदचाप छोड्ने विश्वास रहेको छ ।”

सोही समारोहमा डायरी प्रकाशन र नेपाल भाषाको पुराना पत्रकारहरुको जीवनी रहेको बुलेटिनको पनि लोकार्पण गरिने बताइएको छ । फेस्टिभलमा नेपाल पत्रकार महासंघ, आदिवासी जनजाति पत्रकार महासंघ, मधेशी पत्रकार समाज, नेपाल प्रेस काउन्सिल लगायत सञ्चार क्षेत्र सम्बद्ध संघसंस्थाहरुको पनि सहभागिता रहने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?