अठेवाली धूमधामका साथ मनाइँदै
सारांश
- कञ्चनपुर, १३ भदौ ।
- आज सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौराको दिन अष्ठमी अर्थात ‘अठेवाली’ धूमधामका साथ मनाइँदै छ ।
- महिलाले बिहानै स्नान गरी घाँसबाट निर्मित गौरादेवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई शृृंगार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर नाच्ने गर्दछन् ।
कञ्चनपुर, १३ भदौ । आज सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौराको दिन अष्ठमी अर्थात ‘अठेवाली’ धूमधामका साथ मनाइँदै छ ।
महिलाले बिहानै स्नान गरी घाँसबाट निर्मित गौरादेवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई शृृंगार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर नाच्ने गर्दछन् ।
आजकै दिन आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका जानकार मानसिंह भण्डारीले बताउनुभयो । अठेवाली गीत गाउँदा महिलाले एकले अर्काको कान्छी औँंला अठ््याएर समाती गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् ।
यसै अवसरमा गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरादेवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने गरिन्छ । पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिकरुपमा बिरुडा भिजाउने चलन थियो । अहिले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घर÷घरमा भिजाउने गरिन्छ ।
हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउनका लागि गौरादेवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको हो । पार्वतीले शिव पति पाएझैं अविवाहित युवती शिवझैं पति पाउन भनी व्रत बसेको अठेवालीका दिन गौरादेवीको प्रतिमालाई टाउकोमा राखेर नचाउने गर्छन् भने पुरुषले धूमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् ।
धूमारी, ढुस्को र ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिकग्रन्थमा आधारित कथा गाउने गरिन्छ । बिरुडा भिजाएर शुरु हुने गौराको विसर्जन नहुँदासम्म महिला र पुरुष सबैले धुमधामसँग मनाउने गर्छन् । भिजाएको बिरुडालाई षष्ठीका दिन नजिकका पँधेरा वा इनारमा सगुन गाएर धुने गरिन्छ । त्यसपछि ती बिरुडालाई पुनः भिजाएको ठाउँमा राखिन्छ । सप्तमीका दिन अविवाहित युवतीले खेतबारीबाट धान, साऊँलगायतका बोटबाट गौरीको प्रतिमा बनाएर डालोमा राखेर गौरा घरमा भित्र्याउने गर्छन् ।
गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतिक मानेर राख्ने गरिन्छ । यस बेलामा दुबधागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिला निराहार हुन्छन्, र कसैले फलाहार गर्छन् ।
यसअघि महिलाले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकोमा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भनिन्छ ।
अठेवालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषले गौरा नचाउने स्थान नजिकै धूमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामीझाँक्रीलाई खुसी बनाउन अठेवालीका दिन पुरुष विशेष गरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् ।
महिलाले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा राखेर आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल भूइँमा खस्न नपाउँदै लिन सके चिताएको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
अठेवालीका दिन पुरुषले आफ्नो जनैसमेत फेर्ने गर्छन् भने व्रत बसेका महिलाले नयाँ दुबधागो लगाउने गर्छन् । बिरुडा घरमा ल्याई ठूलाबडाले सानालाई पूज्ने गर्छन । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्छन । बर्खेखेती लगाएर फुर्सिदिला हुँदा दिउँसो खाना खाएर सबैजना गौरा खलोमा पुग्ने गर्छन् । गौरा मनाउन देश विदेशमा रहेकाहरु घर फर्कने चलन छ । गौरामा नयाँ लाउने र मिठो खाने गरिन्छ । बर्खेखेती पछिको थकाई मार्न सबै गौरामा रमाउँछन्, धनी गरिब भनिदैन, सबैले गच्छेअनुसार मनाउँछन् ।
प्रतिक्रिया