अनि उनले सोधिन् ..
सारांश
- विष्णु फडेरा आमा बाको भरोसा अनि मनमा आफूले के गर्नुपर्छ भनेर नसोचेको अदृश्य सपना बोकेर ६५ सालमा प्रदेशिएको एउटा जिन्दगी ।
- सायद गर्नुपर्ने धेरै तर के गर्नुपर्ने भनेर छुट्याउन नसकेको एक प्रदेशी जीवन ।
- तमसुकमा उहिलेका राजा महाराजाले तोक लगाइदिएको जसरी बिकट भनेर राज्यले उपाधि जबर्जस्ती थमाइदिएको कर्णाली अञ्चलको हुम्ला जिल्लाबाट प्रदेशिएको केही बर्ष पनि बेकाममै बिताएको प्रदेशी जीवन ।
विष्णु फडेरा
आमा बाको भरोसा अनि मनमा आफूले के गर्नुपर्छ भनेर नसोचेको अदृश्य सपना बोकेर ६५ सालमा प्रदेशिएको एउटा जिन्दगी । सायद गर्नुपर्ने धेरै तर के गर्नुपर्ने भनेर छुट्याउन नसकेको एक प्रदेशी जीवन । तमसुकमा उहिलेका राजा महाराजाले तोक लगाइदिएको जसरी बिकट भनेर राज्यले उपाधि जबर्जस्ती थमाइदिएको कर्णाली अञ्चलको हुम्ला जिल्लाबाट प्रदेशिएको केही बर्ष पनि बेकाममै बिताएको प्रदेशी जीवन । मनमा रित्ता तर अदृश्य सपनाहरु देखेर पत्रकारितामा जोडिएको यो प्रदेशीलाई त्यतिबेला आँखा खुल्यो जतिबेला मायारुपी गालीको वर्षा भयो, त्यो पनि एक नसोचिएको पात्रबाट ।
हुन त भन्नेले त्यसै भनेका होइनन् । नजिकको तीर्थ हेलाँ । मेरो जीवन साथीले छोरी लगेर एकपटक घर जाम् भन्ने प्रस्ताब नराखेकी भने होइनन् । तर त्यति मायालु प्रस्ताव ओजपूर्ण लागेको थिएन जति यो कथाको पात्रको गाली ओजपूर्ण छ ।
हुम्लामा मोटरबाटो पुराउनुपर्छ भनेर विगतका सरकार प्रमुख तथा सम्बन्धित बडाहाकिमले नगरेका भने कहाँ हुन् र ? गरेकै हुन् नि कागजमा । अनि बजेट नछुटाएका पनि कहाँ हुन् र ? छुट्याएकै थिए । त्यो रकम पनि सक्नेजति सदुपयोग गरे । नसकेको फ्रिजको ट्याग लगाएर फेरि अर्को आर्थिक बर्षको लागि थन्काइदिए । करिव यो प्रदेशिएको जिन्दगीले हुम्लामा सडक पुग्छ र सरकारले बजेट छुट्यायो रे भनेको १५औँ आर्थिक वर्ष बितिसके तर सडक र सडकबाटोको नाममा विकास भयो त ? केवल हुम्लामा सडक पुराउछु भनेर मोटर बाटोको खोल ओढेर आफ्नै मोटर अनि आफ्नै घरसम्म पुग्ने बाटो पिच गर्ने राजनीतिक दलहरुको । हुम्लाको नाममा मोटर किने अनि मोटरबाटोको नाममा छुट्याएको बजेटले आफ्नो घरसम्मको मोटरबाटो पिच गरे ।
प्रदेशिएको पनि करीव ७÷८ बर्ष भएको मात्र के थियो, यसैक्रममा एउटा यस्तो पात्रसँग भेट भयो । जुन पात्र र मेरो लक्ष्य फरक छ । उद्देश्य फरक छ । सोच फरक छ । विचार फरक छ । तर समान छ त केबल मानवीयता मात्र । शायद यो कुरा त सजीव प्राणीमा सबैमा हुन्छ होला । पत्रकारिता गरेको यतिका बर्ष बितिसक्दा शायदै नजिकिएको थिएँ होला कसैसँग । त्यो नजिक्याईमा स्वार्थ थिएन । त्यो नजिक्याई थियो त केवल उसको र मेरो भावनाको समानता थियो । थियो त केवल मानवीयता थियो अनि थियो त केवल साथीत्वको पन ।
यस्तैमा एक दिन अफिसबाट सँगै फर्किने समय मिल्यो । करिव १५÷२० मिनेटको बाटो । केही विगत जीवनसँगका भलाकुसारी भए त केही भावी जिन्दगीका । सुन्ने अनि सुनाउने क्रममा मैले उसलाई एउटा तीतो यथार्थ सुनाएको थिएँ । करिव ५ बर्ष अगाडिकोे कुरा हो, शायद म सुर्खेतमा पत्रकारिता त्यो पनि टेलिभिजन पत्रकारिता गर्दै थिएँ । त्यतिखेरको समयमा नेपाल आदिवासी जनजाति महासंघले देशभर आन्दोलन चर्काएको थियो । राज्यसँगको दोहोरो भिडन्त थियो तर निशानामा पत्रकार परेका थिए । देशभरिबाट करिव ३ जनाजति पत्रकार मारिएका थिए त कति पत्रकारहरु घाइते भएका थिए । आन्दोलन नाराबाजी गरेको फुटेज लिन आफै फिल्डमा सहभागी हुनैपर्ने बाध्यता हुनाले होला शायद समाचार संकलनका क्रममा टेलिभिजन पत्रकारिता अन्य पत्रकारिता भन्दा अलि बढी जोखिम ठानें मैले त्यतिखेर । राज्यसँगको मुडभेडका क्रममा दिनहुँ पत्रकार मारिए, पत्रकार घाइते भन्ने समाचार नेपालको कुना कन्दरामा पुग्ने रेडियो नेपालबाट मेरा बाबुआमाले सुन्ने गरेका थिए । फोनको नाममा हेलो नेपालले आफ्नो अधिपत्य जमाएको थियो त्यो बेला । त्यो पनि करिब दुई तीन घण्टा लगाएर उकालो चढेर लेकमा पुगेपछि बल्ल नेटवर्क आउने ।
हुन त अहिले पनि देश संघीयतामा गइसक्यो । रोडपतिहरु करोडपति बनिसके । कैयौँ अरुको दुःख देखाउदै व्यापार गर्नेहरु आफू सुखी भइसके तर हुम्लाका कतिपय गाउकँो हालत त्यस्तै छ । दैनिकजसो फोन गरेर आफ्नो भरोसाको अवस्था बुझ्ने मेरा बाबु आमाले एकदिन भन्नु भएको थियो, “छोरा सधैं रेडियोमा आज यति पत्रककार मरे यति घाइते भए । हामीलाई त यो समाचार सुनेर खाना खान मन नि लाग्दैन । भोलि कतिखेर होला र फोन गरम्ला भनेर चिन्ता लाग्छ । त्यसैले यो अकालमा मरिने जागिर छोड । तैले जागिर गरे पनि तेरो खर्च घरबाट पठाएका छौँ । अझै कति लाग्छ पठाउँछौँ । म प्रदेशी जीवनलाई त्यतिखेर महसुस भयो एउटा बाबुआमाले आफ्नो सन्तानप्रति कति चासो र चिन्ता लिने गर्दा रहेछन् । तर मलाई लाग्यो, पत्रकारिता गरेर धन नकमाए पनि मन कमाएको छु । अनि मनलाई दरो बनाएर मेरा भगवान बाबुआमालाई जवाफ फर्काएँ, “मान्छे जन्मेपछि मर्नै पर्छ । तपाईंले हिजोआज समाचार सुनेर पो पत्रकार मरेको थाहा पाउनु भयो र मेरो चिन्ता लिनुहुन्छ । तर यहाँ कैयौ आामा, दिदीबहिनिहरु अकालमा बलात्कृत भएर मारिएका छन् । कैयौं तपाईंजस्तै बुवाहरु साहुमहाजनबाट ठगिएका छन् । कैयौ बुबाआमाहरु हेपिएका छन् कथित धनी भनिनेहरुबाट । त्यसैले त्यस्ता ठगिएको वर्गको आवाज बन्नु छ मैले । त्यस्ता वर्गहरुको बोली बोल्नुछ मैले । यो सबै गर्नको लागि पत्रकारिता गर्दैगर्दा मरेछु भने पनि तपाई जस्तै लाखौँ आमाबुवाहरुले फलानो पत्रकार मारियो भनेर इतिहासमा सुन्न पाउनेछन् । त्यसैले बावुआमा मेरो चिन्ता नलानुस् । हो, मैले यति बोलेको हो मेरो भगवानहरुलाई त्यतिखेर । त्यो बेलाबाट पत्रकारिता छोड अनि यो गर त्यो गर अहिलेसम्म सुनेको छैन मेरा भगवानको मुखबाट ।
यति बोलिसक्दा ती पात्रले सोधिन् “तँ घर नगाको कति भयो ?” यो प्रश्न थिएन मेरा लागि । थियो त केवल आमाबुवाको माया नाप्ने यन्त्र प्रहार थियो । थियो त केवल मानवीयता जाँच्ने साधन प्रहार थियो मेरा लागि । अनि तत्कालै जवाफ फर्काएँ “करिव ५ बर्ष भयो ।” विगतका दर्शैहरुमा के के गर्दा जान पाइएन । बिदा पनि नमिल्ने । जाँदा आउँदा महंगो आवातजावत हुने हुँदा मिलेको छैन । घरपरिवार नभेटेको पनि धेरै पो भयो त । अब यो दशैँमा जानुपर्ला ।” मैले यतिमात्र के बोल्न पाको थिएँ उताबाट ती पात्रको मानवीयतारुपी गाली तत्कालै बर्सियो । अनि उनले सोधिन् “आमाबुवालाई भेट्न पनि दशैँतिहार आउनुपर्छ तलाई ?”
प्रतिक्रिया