आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ४, २०८१
|
|
४० पटक हेरिएको
Shares
आज निर्जला एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

सारांश

  • काठमाडौं।
  • वैदिक सनातन धर्मावलम्बीले आ-आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्।
  • प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको दल राख्ने गरिन्छ।

काठमाडौं। वैदिक सनातन धर्मावलम्बीले आ-आफ्नो घरको मठमा आज तुलसीको दल राख्दैछन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको दल राख्ने गरिन्छ।

यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुकाई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ। यो चार महिनालाई चतुर्मास भनिन्छ।

चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए। आयुर्वेदिकरुपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा समेत प्रयोग गरिन्छ।

तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ। यस अवसरमा देशभरका नारायणस्थान एवं विष्णु मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गर्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?