आठौँ राष्ट्रिय प्रतियोगिताका खेलको टुङ्गो
सारांश
- राँझा, ९ चैत , प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रुपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ ।
- प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो ।
- उहाँका अनुसार १५ मध्ये १० खेल नेपालगञ्जमा हुनेछन् ।
राँझा, ९ चैत , प्रदेश नं ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति औपचारिक रुपमा घोषणा नभए पनि खेल हुने स्थानको टुङ्गो लागेको छ ।
प्रतियोगितामा समावेश कूल ३८ खेलमध्ये १५ विधाका खेल बाँकेमा हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष भीम ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार १५ मध्ये १० खेल नेपालगञ्जमा हुनेछन् ।
नेपालगञ्जमा फुटबल, हेन्डबल, सुटिङ, भारोत्तोलन, स्विमिङ, तेक्वान्दो, टेबुलटेनिस, आर्चरी, पुरुष हक्की, चेस र जुडो प्रतियोगिता हुने भएको छ । बाँकेको कोहलपुरमा पुरुष क्रिकेट र साइक्लिङ खेल हुने भएको छ भने, खजुराको शुक्र माविमा महिला–पुरुष भलिबल र हक्की तथा ज्ञानोदय माविमा बक्सिङ प्रतियोगिता हुने पक्का भएको अध्यक्ष ओलीले बताउनुभयो ।
उहाँले बर्दियाको गुलरियामा सेपाकटाक्रो, भुरीगाउँमा खो–खो र बाँसगढीमा महिला–पुरुष कबड्डी प्रतियोगिता हुने जानकारी दिनुभयो । कपिलवस्तुमा कुस्ती, दाङको घोराहीमा बास्केटबल, ब्याडमिन्टन, बेलझुण्डीमा एथलेटिक्स, महिला फुटबल, तुलसीपुरमा कराते र उसु खेल हुने प्रस्तावअनुसार काम भइरहेको छ ।
ओलीका अनुसार, रुपन्देहीको बुटवलमा लङटेनिस र शारीरिक सुगठन प्रतियोगिताका लागि प्रस्ताव गरिएको छ । एक÷दुई स्थानमा बाहेक अधिकांश प्रस्ताव गरिएको स्थानमा नै प्रतियोगिता हुने उहाँले बताउनुभयो ।
तयारी तीव्र
चैतको अन्तिम साता सम्पन्न गर्ने गरी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नेपालगञ्जमा तयारीलाई तीव्र पारिएको छ । प्रतियोगिताको उद्घाटनस्थल नेपालगञ्ज रङ्शालामा दुबो लगाउने र प्याराफिट निर्माणकार्य धमाधम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति प्रदेश नं ५ का अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
नेपालगञ्ज रङ्गशालामा अहिले विशिष्ट पाहुना बस्ने प्याराफिट जडानको तयारी भइरहेको छ । चीनबाट भारतको कोलकता बन्दरगाह हुँदै आएको पाँच मालबाहक गाडी नेपालगञ्ज भन्सार आइपुगेकाले अब छिट्टै जडानकार्य शुरु हुने अध्यक्ष वलीले बताउनुभयो । विशिष्ट अतिथि प्याराफिटको सामान नआउँदा आठौँ राष्ट्रिय खेलकूदको औपचारिक मिति तोक्न ढिलाइ भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बताउँदै आउनुभएको छ ।
ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
बाँकेको जानकी गाउँपालिकाबाट ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम कार्यान्वयन शुरु गरेको छ । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालयल, स्वास्थ्य कार्यालय बाँके र जिल्ला समन्वय समिति बाँकेको सहकार्यमा कार्यक्रम कार्यान्वयन गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिनुभयो ।
उहाँले प्रदेशमा पहिलोपटक जानकी गाउँपालिकाले कार्यक्रम लागू गर्नको लागि गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई यससम्बन्धी अनुशिक्षण दिई तयारी पूरा भएको बताउनुभयो ।
गाउँपालिकाका अध्यक्ष यादवले प्रदेश सरकारले ल्याएको ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम पहिलोपटक आफ्नो गाउँपालिकाबाट लागू गर्न पाएकामा खुशी व्यक्त गर्नभयो । उहाँका अनुसार गाउँपालिकाका छ वटै वडामा ८४ वर्ष उमेर पूरा गरेका करीब २०० ज्येष्ठ नागरिक छन् ।
जिल्ला समन्वय समिति बाँकेका सदस्य चेतबहादुर घर्तीले ८४ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकका लागि घरमै पुगेर निःशुल्क स्वास्थ्य सेवा दिने प्रदेश सरकारको कार्यक्रम भए पनि सबै स्थानीय तहले त्यसको कार्यान्वयनका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रदेश सरकारले पहिलोपटक यो कार्यक्रम लागू गरेकाले पनि यसको सफल कार्यान्वयन गरी ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति सचेत बन्न आवश्यक रहेको उल्लेख गर्नुभयो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत रामबहादुर चन्दले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई महीनामा कम्तीमा पनि दुई पटकसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम बाँकेका आठ वटै पालिकामा लागू गर्ने क्रममा जानकी गाउँपालिकाबाट शुरु गरिएको बताउनुभयो ।
उहाँले पहिलो चरणमा तथ्याङ्क सङ्कलन गर्ने, वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई कार्यक्रमको निर्देशिकाबारे जानकारी गराउन अभिमुखीकरण गर्नुका साथै सेवा दिने स्वास्थ्यकर्मीलाई समेत प्रतिपटक रु २५० सुविधा उपलब्ध गराउने नीति रहेको जानकारी दिनुभयो ।
मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको जानकी गाउँपालिकामा यो कार्यक्रमले ज्येष्ठ नागरिकरको स्वास्थ्य उपचारमा सकारात्मक प्रभाव पर्ने गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालको भनाई छ ।
प्रतिक्रिया