आठ महिनापछि नेपाल–भारतबीच रेल गुड्ने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
आठ महिनापछि नेपाल–भारतबीच रेल गुड्ने

सारांश

  • काठमाडौं, २४ माघ – अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ।
  • भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ।
  • सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ।

काठमाडौं, २४ माघ – अबको आठ महिनामा नेपाल–भारतबीच रेल गुड्ने सम्भावना बढेको छ। भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर रेल्वे लाइन निर्माण सम्पन्न हुने अवस्थामा पुगेको छ। सरकारले रेलको प्रबन्ध गरे आगामी कात्तिकदेखि रेल गुड्न सक्नेछ। जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत यतिखेर धमाधम रेलको लिक राख्ने काम भइरहेको छ। जयनगरबाट प्रदेश २ को राजधानी जनकपुरधामको दूरी जम्मा २९ किलोमिटर छ। यो खबर पर्शुराम काफ्ले र हदिश खुद्दारले आजको नयाँपत्रिका दैनिकमा खबर लेखेका छन्।

रेल विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझाले जयनगर–जनकपुर–बर्दिबास रेल्वेअन्तर्गत पहिलो खण्ड (जयनगरदेखि कुर्थासम्म) रेल्वे लाइन निर्माणको काम जारी रहेको बताए । ‘भारतले आगामी अक्टोबरमा पहिलो खण्ड सरकारलाई बुझाउँदै छ, त्यो भनेको रेल कुद्ने अवस्था हो,’ उनले भने ।

तीन खण्डमा रेल्वे लाइन निर्माण हुँदै
ओझाका अनुसार जयनगरदेखि बर्दिबाससम्म ७९ किलोमिटर लम्बाइको रेल्वे मार्ग तीन खण्डमा बन्दै छ । जयनगरदेखि कुर्थासम्मको पहिलोे खण्डअन्तर्गत ३४ किलोमिटर आगामी कात्तिकमा निर्माण सम्पन्न हुनेछ । सन् २०१९ मा कुर्थादेखि भंगाहा (बिजलपुरा) सम्म १८ किलोमिटर रेल्वे मार्ग निर्माण सम्पन्न हुनेछ । बिजलपुराबाट बर्दिबाससम्मको १७ किलोमिटर रेल्वे मार्ग सम्पन्न हुन थप तीन वर्ष लाग्ने अनुमान छ ।

इन्जिनियर ओझाका अनुसार अहिले जयनगरदेखि भँगाहासम्म ५२ किलोमिटर रेल्वे मार्गमा काम चलिरहेको छ । भँगाहादेखि बर्दिबास खण्डमा जग्गा अधिग्रहणको प्रक्रिया सुरु भएको छ । जयनगरवारि इनरवादेखि भँगाहाम्म ९० प्रतिशतले मुआब्जा पाइसकेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाले करिब ३१ करोड रुपैयाँ जग्गा अधिग्रहणमा खर्च गरेको छ ।

‘आगामी अक्टोबर (कात्तिक) सम्म जयनगरदेखि कुर्थासम्म रेल गुड्न सक्ने अवस्थामा रेल्वे लाइन बिछ्याउने काम सम्पन्न हुन्छ । भारतले सिभिल कन्स्ट्रक्सनको काम सकेर नेपाललाई रेल्वे लाइन हस्तान्तरण गर्नेछ,’ इन्जिनियर ओझाले भने ।

तीन वर्षअघि जनकपुरबाट जयनगर रेल सेवा बन्द
तीन वर्षअघि जनकपुरबाट जयनगरसम्म जाने न्यारोगेज रेल बन्द भएको थियो । १९९४ देखि जनकपुर–जयनगर रेल चल्दै आएको थियो । विगतमा जयनगरबाट बिजलपुरासम्म रेल चल्थ्यो । राणाकालमा सरकारले ब्रिटिस भारत सरकारलाई काठ पैठारी गर्न रेल बनाइएको थियो । पछि रेलमा यात्रु ओहोरदोहार गर्ने गरेका थिए ।

पहिलो खण्डअन्तर्गत रेल लिकमा माटो पुरिने, ग्राभेल ओछ्याउने तथा पुलपुलेसा कार्य सम्पन्न हुने अवस्थामा पुगेको इन्जिनियर ओझाले जानकारी दिए । रेल्वे स्टेसन, हल्टहरूमा भवन निर्माण कार्य तथा कर्मचारीहरूको अवासका लागि क्वार्टर निर्माण अन्तिम चरणका पुगेको छ । रेल ओछ्याउन पटरी जम्मा गर्ने कार्यसमेत भइरहेको छ । भारततर्फको जयनगर र नेपालतर्फको इनर्वासम्म तत्काल पटरी र विशेष प्रकारको बलास्टर गिटी जम्मा गर्ने कार्य सम्पन्न भएको छ ।

पूर्वराष्ट्रपति यादवको भारत भ्रमणमा रेल निर्माणको सहमति
सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणका वेला भारतले जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । यसबाहेक नेपाल र भारतबीच थप चारवटा सीमापार रेल्वे निर्माणको सम्झौता भएको थियो । अहिले जयनगर–जनकपुर–बर्दिबास तथा जोगबनी–विराटनगर रेलमार्ग निर्माण भइरहेको छ । भारत सरकारले ब्रोडग्रेज निर्माणका लागि सात अर्ब भारु अनुदान दिने सहमति गरेको छ । भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले काम गरिरहेको छ । लगानी र अनुगमन भारतले नै गरिरहेको छ भने अधिकांश स्थानमा भारतीय ठेकेदारले नै काम गरिरहेका छन् ।

६९ किलो रेलमार्गमा आठ स्टेसन र ६ वटा हल्ट
जयनगरदेखि बर्दिबाससम्म ६९ किमि रेलमार्गमा आठ स्टेसन र ६ हल्ट गरी १४ विश्रामस्थल तोकिएको छ । नेपाल रेल्वे विभागको साइट कार्यालय जनकपुरका अनुसार जयनगर, खजुरी, इनर्वा, खजुरी, वैदही, कुर्था, महोत्तरीको खुट्टापिराडी र बर्दिबास गरी आठवटा स्टेसन रहेको छ । त्यस्तै, मैनाथपुर, देउरी परवहा, जनकपुर, महोत्तरीको लोहरपट्टी, सिंग्याही र रामनगर गरी ६ स्थानमा हल्ट रहेको छ । स्टेसनमा बढी र हल्टमा थोरै समयका लागि रेल रोकिनेछ । हल्टमा थोरै समयका लागि गाडी रेल रोकिने भएकाले सिंगल लाइनको लिक रहनेछ । जयनगरमा ४ लाइन, इनर्वामा ५ लाइन, खजुरीमा ३ लाइन, कुर्थामा ५ लाइन, वैदहीमा ३ लाइन, जनकपुरमा सिंगल लाइन रहनेछ ।

सिमरासम्म रेल पुर्‍याउन औपचारिक काम सुरु
जयनगरेदखि बिजलपुरासम्मको रेलमार्ग निर्माण अन्तिम चरणमा रहे पनि बिजलपुरदेखि बर्दिबाससम्म १७ किलोमिटर रेलामार्गका लागि जग्गा अधिग्रहण कार्य जारी छ । जग्गा अधिग्रहणका लागि तीन अर्ब रुपैयाँ आवश्यक पर्ने भए पनि बजेट अभावमा निर्माण कार्यले गति पाउन सकेको जिल्ला प्रशासन कार्यालय स्रोतको भनाइ छ ।

रेल इन्जिनको अत्तोपत्तो छैन
आगामी फागुनदेखि जयनगरदेखि बिजलपुरासम्म रेल सञ्चालन हुने दाबी गरिए पनि रेलमार्गमा गुड्ने इन्जिनको अहिलेसम्म अत्तोपत्तो छैन । रेलको एउटा इन्जिनको खरिद गर्न कम्तीमा ५० करोड पर्ने अनुमान गरिएको छ । इन्जिनसँग जोडिने डब्बाहरूको गरी एउटा रेल सञ्चालनमा कम्तीमा एक अर्ब रुपैयाँ लाग्ने रेल विभागले जनाएको छ । रेलको इन्जिन भारत सरकारसँग माग गर्ने, नदिएमा नेपाल आफैँले खरिद गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जनाएको छ ।

फेरिँदै रेल्वेको स्वरूप
भारतीय ब्रिटिस शासकले १९९४ मा महोत्तरीको जंगलबाट काठ ढुवानीका लागि ५२ किलोमिटर रेल्वे सञ्चालन गरेको थियो । पछि रेल नेपाल सरकारको जिम्मेवारीमा दिइएको थियो । ०५९ मा महोत्तरीको विग्ही नदीमा आएको बाढीले पुल भत्किएपछि जनकपुर–जयनगर २९ किलोमिटरमा मात्र रेल सेवा सीमित हुन पुग्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?