आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
२२ पटक हेरिएको
Shares
आमा सल्लाझैं सुसाइरहिन्- बलात्कारपछि हत्या गरिएकी १० वर्षे छोरीको शव अस्पतालमै

सारांश

  • काठमाडौं, २४ फागुन – छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौंतारिइरहेकी सन्तोषीको सोतोजस्तो कोठामा कपडा, खानेकुरा, ग्यास, पानी बोटल, जुत्ताचप्पल असरल्ल देखिन्छन् ।
  • भाइबुहारी, छोरासहित ७ जनाको परिवार त्यही एउटै कोठामा बस्दा रहेछन् ।
  • १० महिनाअघि ९जेठ ५० बलात्कारपछि हत्या गरिएकी १० वर्षीया छोरी अमृताको सम्झनाले उनलाई घरीघरी झस्काइरहन्छ ।

काठमाडौं, २४ फागुन – छोरीको बलात्कारपछि हत्या घटनामा न्यायका निम्ति भौंतारिइरहेकी सन्तोषीको सोतोजस्तो कोठामा कपडा, खानेकुरा, ग्यास, पानी बोटल, जुत्ताचप्पल असरल्ल देखिन्छन् । भाइबुहारी, छोरासहित ७ जनाको परिवार त्यही एउटै कोठामा बस्दा रहेछन् । १० महिनाअघि ९जेठ ५० बलात्कारपछि हत्या गरिएकी १० वर्षीया छोरी अमृताको सम्झनाले उनलाई घरीघरी झस्काइरहन्छ । आजको कान्तिपुर दैनिकमा देवेन्द्र भट्टराईले लेखेका छन् ।

‘मुनाजस्ती थिई । सानैमा घरपरिवार र खानपिनको हेरचाह गर्थी,’ सन्तोषीले भनिन्, ‘ललितपुरको लेलेमा श्रीमान् ९अशोक० ले कान्छी भित्र्याएपछि म २ छोरा र १ छोरी लिएर काठमाडौं छिरेकी हुँ, यता आएको एक वर्षजतिमा छोरी मारिई । त्यसपछि झनै एकल र अनाथ भएकी छु ।’

यस्तो थियो घटना
ललितपुर, टीकाभैरव गाउँमा गरिब पृष्ठभूमिमा जन्मे–हुर्केकी सन्तोषीले ५ कक्षासम्म मात्रै पढ्न पाइन् । गाउँले रीतिमा उनको १८ वर्षमै बिहे भयो । छोराछोरी र अरू पारिवारिक भार बढ्दै गयो । पारिवारिक खटपट, श्रीमान्को हप्कीदप्की र कुटपिट बेहोर्दै जीवन धानिरहेकी थिइन् । श्रीमान्ले कान्छी श्रीमती ल्याएपछि उनको जीवनको लय बिथोलियो । तीन लालाबाला चेपेर स्वयम्भूनजिकै आफ्ना दिदीभाइ डेरा बसेको ठाउँमा शरण माग्न पुगिन् । आफूले जानेको कपडा सिउने सीप र होजियारी फिनिसिङको ज्यालादारी काम गरेरै मुस्किलले जीवन गुजारा चलाइरहेका बेला जेठ ५ गते नसोचेको घटना खेप्नुपर्‍यो ।

डल्लुकै एक स्थानीय स्कुलमा कक्षा ६ मा पढिरहेकी अमृताको संसार एकदमै सानो थियो– डेरादेखि स्कुल, स्कुलदेखि डेरा । गरिबी र अभाव उस्तै । जेठ ५ गते शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलापको तालिका थियो तर उनी जान सकिनन् । किनकि, त्यसका लागि उनीसँग ‘अतिरिक्त’ ड्रेस थिएन ।

त्यसैले डेरामै टीभी हेरेर बसिरहेकी थिइन् अमृता । साँझपख उनी एकाएक ‘असहज अवस्थामा मृत भेटिएको’ खबर फैलियो ।

डल्लु, चागलमा सन्तोषीको डेरासँगैका छिमेकी थिए, मोरङ, बाहुनीका दिनेश चौधरी ९विश्वराम रनपैली० । सन्तोषीको परिवारसँग दिनेशको आउजाउ र हिमचिम बढिरहेको थियो । अमृताको जीवनहरणको कारण नै यही सम्बन्ध बन्न पुग्यो । तर सत्य बाहिर आइसकेर पनि पीडित पक्षको आवाज सुरुदेखि नै दबाउन खोजिएका प्रमाण पाइएका छन् । ‘घटनास्थल प्रकृति मुचुल्का उठाउने क्रममा ७ वर्षीय कान्छो छोरासँग मात्रै सोधपुछ गरिएको मैले थाहा पाएँ,’ आमा सन्तोषीले भनिन्, ‘पोस्टमार्टम गर्ने क्रममा यौनांगसहित तल्लो पेटमा देखिएको चोट, नीलो डाम र छोरीको घाँटीमा समेत चिथोरिएको, रक्ताम्य अवस्था थियो ।’ उनले यसबारे कहींकतै लिखित जानकारी नदिइएको गुनासो गरिन् ।

‘किटानी जाहेरीमा परिसकेका व्यक्तिको फिंगर प्रिन्ट र अन्य विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिएको मलाई थाहा भएन । घटनाबारे झन्डै एक महिनासम्म स्वयम्भू प्रहरीले मेरो किटानी जाहेरीसमेत लिन मानेन । यो स्थितिले धेरै शंका बढाएको थियो । तर, मेरो आवाज कसैले सुनेन,’ उनले भनिन् ।

डल्लुमै टेलरिङ पेसा गर्ने चौधरी बेलाबेला आफ्नो डेरामा आउने गरेको र छोराछोरीकै सामु नराम्रो दृष्टिले आफूलाई समाउने गरेको उनले सुनाइन् । नाबालक छोरीलाई समेत अपशब्द प्रयोग गर्ने गरेको सन्तोषीको भनाइ छ । ‘घटनाको एक साताअघि मात्रै आफ्नो सुकाएको कट्टु अमृताले लुकाइदे’को भन्दै चौधरीले मेरी छोरीलाई कुटपिट गरेको थियो । त्यतिबेला मैले कडा प्रतिवाद गरेकी थिएँ,’ सन्तोषीले सुनाइन्, ‘हेर्दै जा, म तेरी छोरीलाई एकदम ठेगान लगाएर छाडदिन्छु भनेको थियो । त्यसको सात दिनमै छोरी मारिएको अवस्थामा भेटिई ।’

सन्तोषीका अनुसार चौधरीको स्वभाव केटी देख्नासाथ झम्टने खालको रहेको जानकारी उसकी ४५ वर्षीया श्रीमतीलाई समेत थियो तर उनी प्रतिवाद गर्न सक्दिनथिन् । ‘जेठ ५ गते बिहान पनि म सधैंझैं १० बजे काममा निस्किएकी थिएँ, साँझ ५ बजेतिर सानो छोरो रुँदै मैले काम गर्ने कारखानामै आयो,’ सन्तोषीले सम्झिइन्, ‘बेलुका ३ बजे स्कुलमा लिन जानुपर्नेमा अमृता गइनछ, अनि डेरामा आएर बाहिरैबाट बोलाउँदा दिदी ९अमृता० नबोलेपछि छोराले अँध्यारो कोठामा दिदी नबोली घोप्टिएर बसेको देखेछ । छोराले भनेको सुनेर म कद्दै डेरा पुगेकी थिएँ ।’

सन्तोषीले छोरीलाई हातखुट्टा खुम्चिएको, झ्यालमा सलको पासो अडकाइएको र घोप्टिएको अवस्थामा ओछ्यान देखिन् । कपाल भुत्ल्याइएको जस्तो देखिन्थ्यो । बेहोस अवस्थामा भेटिएकी छोरीलाई अस्पताल लैजान चौधरी दम्पती र आसपासका छिमेकी गुहारे पनि कोही नआएको उनले बताइन् । त्यसपछि डल्लुमै बस्ने उनकी दिदीसहितको सहयोगमा वीर अस्पताल लगेकी थिइन् । अस्पताल पुर्‍याएर अक्सिजन चढाउने क्रममै डाक्टरले बच्ची अमृतालाई मृत घोषित गरेका रहेछन् ।

घटनामा विरोधाभास
अमृताको शव वीर अस्पतालबाट जेठ ५ कै राति शिक्षण अस्पताल लगिएको थियो । जेठ ७ मा मात्रै पोस्टमार्टम भयो । त्यसबेला पोस्टमार्टममा संलग्न डा। रिजन श्रेष्ठले अमृताको यौनांगको झिल्ली फुटेको, घाँटीमा घाउ देखिएको, मुखमा चोट देखिएको बताएका थिए । उनले मौखिक रूपमा दिएको यो रिपोर्टको ‘रेकर्ड’ रक्षा नेपाल नामक संस्थासँग सुरक्षित रहेको सन्तोषीले बताइन् ।

‘एक सातापछि पोस्टमार्टम रिपोर्ट आउँदा अमृताको मृत्युको कारण ‘झुन्डिएको’ ९हयांगिङ० भनेर दिइयो,’ सन्तोषीले आँसु पुछदै सुनाइन्, ‘स्वयम्भू प्रहरीले पनि ‘दिदी, तपाईंकी छोरी त सलमा झुन्डिएर पो मरेकी रहिछन्’ भन्यो । म अचम्ममा परें । डेराको खाटमा उभिए माथि भित्तो छुनेबराबरको उचाइ छ, न सल उन्ने ठाउँ छ । यो कसरी सम्भव होला रु चिथोरेजस्तो रक्ताम्य घाँटी, तल्लो पेट, यौनांगमा कसरी नीलो डामरघाउ उत्रिएको हो भनेर कारण बुझ्न चाहें । तर, कसैले जवाफ दिएन ।’

स्वयम्भू प्रहरीले हतारमै र कुनै गहिरो अनुसन्धानबिनै घटनास्थल प्रकृति मुचुल्का उठाएको उनले आरोप लगाइन् । अमृताको टाईमा बिर्य भेटिए पनि त्यसलाई पनि थप प्रमाणका रूपमा नलगिएको उनको भनाइ छ । सन्तोषीको हारगुहारपछि दलित आयोग र रक्षा नेपालले चासो दिएपछि मात्रै स्वयम्भू प्रहरीले जेठ ३० मा किटानी जाहेरी लिएको थियो । प्रहरीले सुरुमा दिनेशलाई पक्राउ गरे पनि साधारण तारेखमा ५ हजार रुपैयाँ धरौटी लिएर छाडिदिएको रहेछ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sarita Bhandari

    दश बर्षको बालखलाई पनि नछोड्ने कुनै नरपिचास होला त्यो कुनै पनि सजाय त्यलाई कम हुन्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?