उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
१८ पटक हेरिएको
Shares
उत्तर कोरियाद्वारा ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

सारांश

  • बुधबार परीक्षण गरिएको ब्यालिस्टिक मिसाइल अमेरिकाको जुनसुकै स्थानमा प्रहार गर्न सक्ने सामथ्र्यको रहेकोे प्योङयाङको दाबी उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ ।
  • प्योङयाङले बुधबार बिहान सो मिसाइल परीक्षण गरेको हो ।
  • परीक्षणपछि उत्तर कोरियाले अमेरिकाको जुनसुकै भूभागलाई आफ्नो क्षेप्यास्त्र हमलाको दायराभित्र पार्न सक्ने सामथ्र्य रहेको दाबी गरेको छ ।

बुधबार परीक्षण गरिएको ब्यालिस्टिक मिसाइल अमेरिकाको जुनसुकै स्थानमा प्रहार गर्न सक्ने सामथ्र्यको रहेकोे प्योङयाङको दाबी

उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेको छ । प्योङयाङले बुधबार बिहान सो मिसाइल परीक्षण गरेको हो । परीक्षणपछि उत्तर कोरियाले अमेरिकाको जुनसुकै भूभागलाई आफ्नो क्षेप्यास्त्र हमलाको दायराभित्र पार्न सक्ने सामथ्र्य रहेको दाबी गरेको छ । उसले आफ्नो आणविक राष्ट्र बन्ने मिसन पूरा भएको पनि जनाएको छ ।

हवासोङ १५ नाम दिइएको सो क्षेप्यास्त्र अहिलेसम्मकै शक्तिशाली भएको प्योङयाङले दाबी गरेको छ । सो मिसाइल उत्तर कोरियाले यसअघि गरेका परीक्षणभन्दा केही माथि उडेर जापानको समुद्रमा खसेको थियो । समुद्रमा खस्नुअघि सो क्षेप्यास्त्र झन्डै ५० मिनेट पूर्वतर्फ उडेको थियो । उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको ६ मिनेटभित्रै दक्षिण कोरियाली सेनाले आफ्नो तर्फबाट प्रतिक्रिया जनाएको थियो ।

उत्तर कोरियाको दाबी
उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार ४ हजार ४ सय ७५ किलोमिटर उचाइमा पुगेर सो मिसाइलले ५३ मिनेटमा ९ सय ५० किलोमिटर दूरी पार गरेको थियो । मिसाइल उत्तरी तटबाट जापानको सिमानामा रहेको समुद्रमा खसेको थियो ।

यसअघिका परीक्षणझैँ सो मिसाइल जापानी आकाशमाथि भने नपुगेको जापानी अधिकारीहरूले बताएका छन् । उत्तर कोरियाली नेता किम जोङ उन मिसाइल परीक्षणस्थलमा पुगेका थिए । परीक्षणपछि उत्तर कोरियाले आफ्नो मिसन पूरा गरेको उनले बताए । ‘उत्तर कोरियाले आणविक राष्ट्र बन्ने आफ्नो मिसन पूरा गरेको छ,’ नेता उनको भनाइ उद्धृत गर्दै केसिएनएले जनाएको छ ।

‘उत्तरदायी आणविक शक्ति र शान्तिप्रिय मुलुकको हैसियतले’ उत्तर कोरियाले संसारमा शान्ति र स्थिरता रक्षा गर्ने महान् उद्देश्य पूरा गर्न सम्भाव्य प्रयास गर्ने उनले बताए । अमेरिकी साम्राज्यवादीको ब्ल्याकमेल नीतिविरुद्ध आफ्ना हतियार रक्षक भएको र उत्तर कोरियामाथि आक्रमण नगर्दासम्म कुनै पनि मुलुकमाथि प्योङयाङ खतरा नबन्ने उनले बताए ।

के मिसाइल अमेरिका पुग्छ ?
अमेरिकास्थित युनियन अफ कन्सन्र्ड साइन्टिस्टका अनुसार बुधबार परीक्षण गरिएको मिसाइल १३ हजार किलोमिटर दूरीसम्म पुग्न सक्छ, जसको अर्थ मिसाइल अमेरिकाको जुनसुकै द्वीपमा पुग्न सक्छ । तर, मिसाइलमा निकै हल्का र नक्कली युद्धपोत राखिएको हुन सक्ने अमेरिकी विज्ञहरूले अनुमान गरिएको छ । हवासोङ १५ अमेरिकी मूल भूमिमा पुग्न सक्ने र त्यसले गह्रौँ अस्त्र बोक्न सक्ने उत्तर कोरियाले दाबी गरेको छ ।

के छ विश्वको प्रतिक्रिया ?
परीक्षणको विश्व समुदायले निन्दा गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले सो परीक्षणको विरोध गरेको छ । परीक्षणपछि सुरक्षा परिषद्को आपत्कालीन बैठक बसेको थियो । संयुक्त राष्ट्रसंघ तथा विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले आणविक होड देखाएको राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले बताए । मिसाइल परीक्षणले विश्व समुदायको शान्तिको चाहनाको अपमान गरेको उनले बताए ।

प्योङयाङले पछिल्लोपटक सेप्टेम्बर महिनामा ब्यालिस्टिक मिसाइल परीक्षण गरेको थियो । सोही महिना उसले छैटौँपटक आणविक परीक्षण गरेको थियो । विश्व समुदायको विरोध र निन्दाको बाबजुद उत्तर कोरियाले निरन्तर रूपमा आणविक परीक्षण गरिरहेको छ । उसको परीक्षणपछि राष्ट्रसंघले उत्तर कोरियामाथि थप नाकाबन्दी लगाएको थियो । अमेरिकी रक्षामन्त्री जेम्स म्याटिसले सो मिसाइल यसअघिका अन्य मिसाइलभन्दा सीधै माथि उचाइमा पुगेको र उत्तर कोरियाले विश्वलाई नै आणविक धम्की दिएको बताए । मिसाइल हावामा उडिरहेकै वेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चासो देखाएको ह्वाइटहाउसले जनाएको छ । मिसाइल समुद्रमा खसेपछि ट्रम्पले ‘उत्तरविरुद्ध बदला लिने चेतावनी’ दिएका थिए । जापान र दक्षिण कोरियाले परीक्षणको भत्र्सना गरेका छन् । दक्षिणले बदलामा अर्को मिसाइल प्रक्षेपण गर्ने चेतावनी दिएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले सुरक्षा परिषद्को आकस्मिक बैठक डाकेका थिए । प्योङयाङले सैन्य उन्माद नत्याग्दासम्म कोरियाली प्रायद्वीपमा शान्ति कायम हुन नसक्ने उनले बताए । एक दिनअघि मात्रै दक्षिण कोरियाली अधिकारीहरूले उत्तर कोरियाले आणविक परीक्षण गर्न लागेको अनुमान गरेका थिए । चीनले आणविक परीक्षणप्रति गम्भीर चासो जनाउँदै सबै पक्षलाई सावधानी दर्साउन आग्रह गरेको छ । जापानी प्रधानमन्त्री सिन्जो अबेले परीक्षण असह्य भएको बताए । रसियाली प्रशासन क्रेमलिनले परीक्षणलाई उत्तेजक कार्य बताएका छन् ।

‘हामी आणविक शक्तिराष्ट्र हौँ’
उत्तर कोरियाली नेता किम जोङ उनले उत्तर कोरिया आणविक शक्तिराष्ट्र भएको घोषणा गरेका छन् । बुधबार उत्तर कोरियाले गरेको आणविक परीक्षणको निरीक्षणपछि उनले सो घोषणा गरेका हुन् । निरीक्षणपछि उनले भने, ‘बुधबारको परीक्षण निकै शक्तिशाली छ, यसले अमेरिकाको सबै भूभागसम्म हान्न सक्छ, त्यसैले म गर्वका साथ भन्न सक्छु कि आजदेखि हामी अब आणविक शक्तिराष्ट्र बनेका छौँ ।’ आणविक परीक्षणले देशलाई अमेरिकाको जस्तोसुकै आक्रमणबाट बचाउने उनले दाबी गरे । परीक्षणअघि नेता उनले ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणस्थलको निरीक्षण गर्नुका साथै यसको क्षमताबारे जानकारी लिएका थिए । उनले सो क्षेप्यास्त्र परीक्षणमा संलग्न अधिकारीहरूलाई धन्यवादसमेत दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?