उद्योगपति विनोद चौधरीको स्कुलमाथि छानबिन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२३ पटक हेरिएको
Shares
उद्योगपति विनोद चौधरीको स्कुलमाथि छानबिन

सारांश

  • कावासोती, २४ साउन।
  • उद्योगपति विनोद चौधरीले कानुनको धज्जी उडाउँदै नवलपरासीको देवचुलीमा सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलको विषयमा स्थानीय प्रशासनले छानबिन सुरु गरेको छ ।
  • अर्बपति विनोद चौधरी अध्यक्ष रहेको सिजी शाश्वत धाममार्फत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गरेको तथ्य बाहिर आएपछि स्थानीय प्रशासनले छानबिन अघि बढाएको हो ।

कावासोती, २४ साउन। उद्योगपति विनोद चौधरीले कानुनको धज्जी उडाउँदै नवलपरासीको देवचुलीमा सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलको विषयमा स्थानीय प्रशासनले छानबिन सुरु गरेको छ ।अर्बपति विनोद चौधरी अध्यक्ष रहेको सिजी शाश्वत धाममार्फत सञ्चालित वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमतिभन्दा माथिल्लो कक्षा सञ्चालन गर्नुका साथै विद्यार्थीको स्वास्थ्यमाथि खेलवाड गरेको तथ्य बाहिर आएपछि स्थानीय प्रशासनले छानबिन अघि बढाएको हो ।

जिल्ला प्रशासन कार्यालय, शिक्षा विकाश तथा समन्वय इकाइले देवचुली नगरपालिकाका स्रोतव्यक्ति दुर्गादत्त सापकोटालाई पत्र काटेरै चौधरी ग्रुपले चलाएको गुरुकुल स्कुलको स्थलगत अनुगमन गरी यथार्थ प्रतिवेदन बुझाउन निर्देशन दिएको हो । ‘त्यस नगरपालिकाभित्र रहेको चौधरी उद्योग ग्रामभित्र सञ्चालित श्री वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले अनुमतिबेगर कक्षा सञ्चालन गरेको र विद्यार्थीको स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने वातावरणमा कक्षा सञ्चालन गरेको भनी विभिन्न सञ्चारमाध्यममा गुनासो आएकाले सो सम्बन्धमा स्थलगत अनुगमन गरी यथार्थ प्रतिवेदन यस कार्यालयमा पेस गर्नुहुन अनुरोध छ,’ शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलले नगरपालिकाका स्रोतव्यक्ति सापकोटालाई लेखेको पत्रमा भनिएको छ ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका उद्योगपति चौधरीले कानुनको धज्जी उडाउँदै पहुँचको आधारमा बियर उद्योगसँगै विद्यालय खोल्नुका साथै अनुमतिविनै माथिल्लो कक्षा सञ्चालन गरेका हुन् । विद्यालय क्षेत्रलाई शान्तिक्षेत्रको रूपमा समेत लिने गरिएको भए पनि चौधरीले आफ्नो बियर कम्पनीसँगै विद्यालय खोल्नुले कानुनको धज्जी उडाएको भन्दै स्थानीय निकै आक्रोशितसमेत बनेका थिए । ‘बियर उद्योगले विद्यार्थीहरूमा गम्भीर नकारात्मक असर पार्छ, त्यस्तो काम कानुनविपरीत छ,’ इकाइ प्रमुख पोख्रेलको भनाइ थियो । उनले आफ्नो पूर्ववत् अडानअनुसार नै पत्र काटेका हुन् । चौधरीको सो गुरुकुल स्कुलले कक्षा ८ को पढाइ सञ्चालन गरिरहेको भए पनि कक्षा ७ सम्म मात्र अनुमति लिएको छ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका अनुसार सिजी शाश्वत धाममार्फत सञ्चालन गरिएको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले कक्षा ६ र ७ को मात्र अनुमति लिएको भए पनि कक्षा ८ पनि अध्यापन गराइरहेको हो । वैदिक कर्मकाण्ड गुरुकुल स्कुल सञ्चालन गर्ने सिजी शाश्वत धामका प्रबन्धक रामचन्द्र धितालले नै ६ देखि ८ कक्षासम्मका विद्यार्थीलाई अध्यापन गराउने गरेको स्वीकार गरिसकेका छन् । तर, उनले कानुनभन्दा आफूहरू माथि रहेको जस्तो तर्क राखेका थिए । कक्षा ८ सञ्चालनको लागि जिल्ला शिक्षा कार्यालय र नगर शिक्षा इकाइमा निवेदन दिएको र मौखिक रूपमा सञ्चालन गर्न भनेकाले कक्षा ८ पनि सञ्चालन गरिएको उनको तर्क छ । तर, मौखिक अनुमतिले कुनै पनि कक्षा सञ्चालन गर्न नपाउने कानुनी व्यवस्था छ ।

जिल्ला शिक्षा कार्यालय वा नगर शिक्षा कार्यालयले दिएको अनुमतिबेगर कुनै कक्षा सञ्चालन गर्न पाइँदैन । सिजी शाश्वत धाममार्फत सञ्चालन गरेको वैदिक कर्मकाण्ड गुरुकुल स्कुलले पहिले कक्षा ६ र ७ कक्षाको अनुमति जिल्ला शिक्षाबाट पाएको र अहिले कक्षा ८ सञ्चालनको लागि नगर शिक्षा कार्यालय देवचुलीमा निवेदन दिएको थियो । ‘पहिले कसले अनुमति दिएको हो, त्यो हामीलाई थाहा भएन, तर अब त्यस क्षेत्रको भौतिक, सामाजिक र अन्य शिक्षाको विधि पुगे मात्र अनुमति दिइन्छ,’ नगरपालिकाको भनाइ छ ।

सिजी शाश्वत धामका सिइओ नारायण श्रेष्ठले अहिलेसम्म पनि कुनै आर्थिक लाभको लागि गुरुकुल नखोलिएको भन्दै कानुनविपरीत कार्य नगरेको जिकिर गर्दै आएका छन् । ‘सिजी शाश्वत धाम र वैदिक कर्मकाण्ड गुरुकुल स्कुल नाफारहित संस्था भएका कारण यो कानुन पुग्यो, त्यो कानुन पुगेन भन्नुको अर्थ छैन,’ सिइओ श्रेष्ठको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?