एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
सारांश
- शिखरन्यूज, काठमाडौं, ८ फागुन- नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका लागि सहमत भएसँगै एउटै नेपाल कम्युनिष्ट पार्टी हुने भएको छ ।
- मध्य रातमा प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सात बुँदे एकीकरणका प्रारम्भिक आधारहरुमा हस्ताक्षर गरेका हुन् ।
- कतिपयले दुई कम्युनिष्ट पार्टीको एकतालाई ‘आइस ब्रेक’, ‘ब्रेक थ्रु’ भनेका छन् ।
शिखरन्यूज, काठमाडौं, ८ फागुन- नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकताका लागि सहमत भएसँगै एउटै नेपाल कम्युनिष्ट पार्टी हुने भएको छ । मध्य रातमा प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सात बुँदे एकीकरणका प्रारम्भिक आधारहरुमा हस्ताक्षर गरेका हुन् । कतिपयले दुई कम्युनिष्ट पार्टीको एकतालाई ‘आइस ब्रेक’, ‘ब्रेक थ्रु’ भनेका छन् ।
२००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। २०१९ सालमा को तेस्रो महाधिवेशनसँगै कम्युनिस्ट पार्टीमा विभाजन भएको थियो । सोमबार एकताको घोषणा गरेका यी दुई पार्टीको ५५ वर्षपछि पुनर्मिलन भएको हो।
धेरैले पार्टी एकतालाई शंकाको दृष्टिकोणले हेर्दै आएका थिए । तर, फागुन ७ प्रजातन्त्र दिवसको अवसरमै मध्यरातमा दुई पार्टी एक गर्ने सहमतिसहित एकीकरण भएको छ । तर, एकीकरणका प्रारम्भिकर सात बुँदे आधार कार्यान्वयनलाई नेताहरुले चुनौतिको रुपमा लिन आग्रह गरेका छन् ।
नेता नारायणकाजी श्रेष्ठले एमाले र माओवादी केन्द्र बीच सात बुँदेमा हस्ताक्षर भएपछि अब नेपाल कम्युनिष्ट पार्टी बन्ने बताएका छन् । सात बुँदे प्रारम्भिक आधार कार्यान्वयनका लागि सचेत हुन सबैलाई आग्रह समेत गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, ‘यसबाट एकीकृत पार्टी निर्माण सुनिश्चित भएको छ । सबै कम्युनिष्ट क्रान्तिकारीहरुलाई बधाई । तर आगामी चुनौतिप्रति पनि त्यत्तिकै सचेत र गम्भीर बनौं ।’
प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा वाम गठबन्धनसँगै पार्टी एकता गर्ने घोषणा गरेका पार्टीका दुई अध्यक्ष निरन्तर रुपमा वार्ता र छलफल गर्दै आएका थिए । पार्टी एकताको लागि दुई पार्टीबाट एकता संयोजन समितिको समेत गठन भैसकेको छ । संयोजन समितिको समेत पटकपटक वैठक बसिसकेको छ ।
एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने छ । पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ सहमतिपत्रमा उल्लेख छ ।
एमालेले अबलम्वन गरिआएको “जनताको बहुदलीय जनवाद” र माओवादी केन्द्रले अवलम्वन गरिआएको “माओवाद र २१ औं शताब्दीमा जनवाद” सम्बन्धी विषयमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिनेगरी तय गरिएको छ ।
महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने बताइएको छ । सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणालीमा जाने भएका छन् । आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने सहमतिपत्रमा उल्लेख छ ।
प्रतिक्रिया