आज साउन ६ गते: कहाँ के-के घटना घटे ?
सारांश
- हतियार सहित पक्राउ काठमाडौं महानगरपालिका २६ टाउन प्लानिङ डेरा गरी बस्ने म्याग्दी मंगला गाउँपालिका १ घर भएका ६० वर्षीय राम बहादुर पाईजालाई सोह्रबोरको एकनाले बन्दुक १ थान र ७ राउण्ड गोली सहित प्रहरीले शनिबार पक्राउ गरेको छ ।
- निज पाईजा र धादिङ छत्रेदेउराली९ घर भएकी ३५ वर्षीया महिला सँग झैझगडा हुँदा पाईजाले आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भनी धम्की दिए पछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले पाईजाको कोठामा रहेको उक्त हतियार सहित उनलाई नियन्त्रणमा लिएको हो ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हतियार सहित पक्राउ
काठमाडौं महानगरपालिका २६ टाउन प्लानिङ डेरा गरी बस्ने म्याग्दी मंगला गाउँपालिका १ घर भएका ६० वर्षीय राम बहादुर पाईजालाई सोह्रबोरको एकनाले बन्दुक १ थान र ७ राउण्ड गोली सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । निज पाईजा र धादिङ छत्रेदेउराली९ घर भएकी ३५ वर्षीया महिला सँग झैझगडा हुँदा पाईजाले आफ्नो नाममा दर्ता रहेको उक्त हतियारले हानी दिन्छु भनी धम्की दिए पछि महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले पाईजाको कोठामा रहेको उक्त हतियार सहित उनलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
लागूऔषध सहित पक्राउ
मकवानपुर कालीकपुर बस्ने २३ वर्षीय मनोज तामाङ र झापा दुवागढी८ चारआली घर भएका २० वर्षीय राजेश भुजेललाई लागूऔषध डाइजेल्याप ४ सय एम्पुल, नोर्फिन ४ सय एम्पुल र फेनारगन ४ सय एम्पुल सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १६ पक्नाजोल स्थित सडकमा प्रहरीले बा ३१ प ९०२५ नम्बरको मोटरसाईकल जाँच गर्दा चालक मनोज तामाङ र मोटरसाईकलमा सवार भुजेललाई उक्त लागूऔषध सहित फेला पारी नियन्त्रणमा लिएको हो ।
यसैगरी काठमाडौं महानगरपालिका२६ सामाखुसी रेडन पुलमा प्रहरीले जाँच गर्ने क्रममा मकवानपुर भिमफेदी गाउँपालिका ४ घर भएका २० वर्षीय अरबिन्द हमाललाई पाइन्टको बगलीमा लुकाई छिपाई राखेको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १ ग्राम ३० मिलीग्राम सहित फेला पारी शनिबार नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सुन जस्तो देखिने पहेंलो वस्तु सहित पक्राउ
भारत दिल्ली घर भएका राहदानी नम्बर एन ४६१७८९० बाहक भारतिय नागरीक ३१ वर्षीय ईम्रान र भारत उत्तर प्रदेश घर भएका २१ वर्षीय राहदानी नम्बर जेड ४१७४१०७ बाहक अरीफ अलीलाई सुनजस्तो देखीने पहेलो बस्तु अन्दाजी २ हजार ६ सय ८० ग्राम सहित प्रहरीले शनिबार पक्राउ गरेको छ । थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनीहरुले आफ्नो शरीर भित्र लुकाई छिपाई ल्याएको उक्त बस्तु त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको एराईभल गेटबाट प्रहरीले फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्कुटर चोरी गरिरहेको अवस्थामा पक्राउ
ललितपुर ग्वार्को बस्ने धनगढी चौराहा ४ घर भएका १८ वर्षीय शिखर रेग्मी र भक्तपुर कमलबिनायक घर भएका १८ वर्षीय उत्तमराज बिष्टलाई स्कुटर चोरी गरिरेहेको अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ३१ शंखमुल स्थित सडकमा पार्किङ गरी राखेको बा ३० प १८५३ र बा ४४ प ३१०४ नम्बरको स्कुटर चोरी गरिरहेको अबस्थामा प्रहरीले उनीहरुलाई फेला पारी नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जुवातास खेल्ने पक्राउ
काठमाडौं: दक्षिणकाली नगरपालिका १ खहरे बस्ने सन्तोषी खड्कीको घरमा जुवातास खेलिरहेका ११ जनालाई नगद १ लाख ८९ हजार १ सय ९० रुपैयाँ र ७ बुक तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
मकवानपुर : हेटौडा उपमहानगरपालिका ४ थाहा चोक स्थितमा हेटौडा उपमहानगरपालिका(३ बस्ने नारायण कार्कीले संचालन गरेको ओमनम शिवाय फर्निचर उद्योगमा जुवातास खेलिरहेका थाहा चोक बस्ने २९ वर्षीय राजु बिक लगायत ५ जनालाई नगद ४० हजार १ सय ४० रुपैयाँ र ३ बुक तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ढिस्कोमा पुरिएर मृत्यु
बझाङ: खप्तड थान्ना गाउँपालिका ६ बेयनस्थित ओडारमा ढिस्को खस्न गई पुरिएर खलेगाडा गाउँपालिका(६ बस्ने २९ वर्षीया स्वास्थ्य स्वयम् सेविका मायाँदेबी थापा लगायत ४ जनाको शनिबार घटनास्थलमै मृत्यु भएको छ ।
शिव मन्दिर एरियाको चुन ढुंगा भिर हुँदै खले गाडा भन्ने ठाउँ जाने बाटोमा रहेको ओडारमा बसीरहेको अवस्थामा माथि बाट ढिस्को खस्दा मायाँदेबी थापा, उनकै ६ वर्षीय छोरा कृष्ण बहादुर थापा, ५३ वर्षीया सासु आमा उजेली देबी थापा र सोही स्थान बस्ने १८ वर्षीय मंगल थापाको मृत्यु भएको हो ।
साथै घटनामा मायाँ देबी थापाको ८ वर्षीय छोरा रिकेश थापा र सोही स्थान बस्ने कबि राज थापा घाईते भएकोले उपचारको लागि स्थानिय छान्ना स्वास्थ्य चौकी लगिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं महानगरपालिका १६ सोह्रखुट्टे बहती पोखरीस्थित सडक पेटीमा दोलाखा भिमेश्वर नगरपालिका ७ घर भई हाल नेपालटार बस्ने ४५ वर्षीय बाशुदेव खत्री शनिबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ नुवाकोट तारुका ९ कौसेने बस्ने ६५ वर्षीय गणेश बहादुर ढुगांना धादिङ निलकण्ठ नगरपालिका(५ आपचौरटार स्थित सालो नाता पर्ने तिर्थबहादुर दुवाडीको गोठमा शनिबार मृत अबस्थामा फेला परेका छन् ।
रामेछाप उमाकुण्ड गाउँपालिका(२ बाम्ती भन्ने स्थानमा हाल नाम,थर,वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
पर्वत मोदी गाउँपालिका ६ बस्ने ६८ वर्षीया धनकुमारी लामीछाने सोही स्थानमा रहेको मोदी खोलाको किनारमा शनिबार मृत अबस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु
काठमाडौं: काठमाडौं महानगरपालिका(११ बबरमहल स्थित सडकमा बा।७२ प ५०३८ नम्बरको स्कुटरको ठक्करबाट घाइते भएका साईकलयात्री रामेछाप घर भई हाल भक्तपुर मनहरा बस्ने २४ वर्षीय हिराबहादुर थामीको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटी चालक बानश्वेर बस्ने २४ वर्षीय रोहन श्रेष्ठ, स्कुटीमा सवार सोही स्थान बस्ने २१ वर्षीया रागिनी बोगटीको सोही अस्पतालमा उपचार भइरहेको छ।
झापा: गौरादह नगरपालिका(७ भेटवाल चोकस्थित सडकमा गौरीगन्जबाट गौरादहतर्फ जाँदै गरेको मे१० प ४६३ नम्बरको मोटरसाइकल शनिबार आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक गौरादह नगरपालिका ३ बस्ने ३५ वर्षीय जीबन न्यौपाने घाइते भई उपचारार्थ दमक लाईफ लाईन अस्पताल दमक लगिएकोमा उपचारको क्रमाम मृत्यु भएको छ ।
पाल्पा: तानसेन नगरपालिका ८ डुम्रेचोकस्थित सिद्धार्थ राजमार्गमा लु १ च ४०८० नम्बरको जिप र लु।२९ प ७०२१ नम्बरको मोटरसाइकल शनिबार एक(आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक सोही नगरपालिका १४ रिडी बस्ने २९ वर्षीय बिनोद थापा र मोटरसाइकलमा सवार २३ वर्षीय कृष्ण पुन घाइते भई उपचारार्थ लुम्बिनी मेडिकल क्लेज प्रभाष लैजाने क्रममा कृष्ण पुनको बाटोमै मृत्यु भएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा: जितपुर सिमरा उपमहानगरपालिका २ स्थित रहेको जगदम्बा प्रा।लि।मा कवाडी फलाम अनलोड गरी फर्कने क्रममा ना ४ ख १९६६ नम्बरको ट्रकले सेक्युरेटीको काम गर्ने सोही उपमहानगरपालिका १ बस्ने ४५ वर्षीय उदय खत्रीलाई शनिबार ठक्कर दिंदा घाइते भई उपचारको लागि अल्पाईन अस्पताल सिमरा लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
डुबेर मृत्यु
सिराहा: लक्ष्मीपुरपतारी गाउँपालिका ५ खुर्कियाही बस्ने देवकुमार मुखियाको ५ वर्षीया छोरी अनिशा मुखिया घर देखि ५० मिटर टाढा रहेको पोखरीमा डुबेर शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
सल्यान : कुमाख गाउँपालिका १ शन्तिबजार स्थित मर्म खोलाको बगरमा रहेको तलाउमा डुबेर बसन्युरा बस्ने ३२ वर्षीय छबिलाल रानाको शनिबार मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
नवलपरासी(बर्दघाट सुस्ता पश्चिम): प्रतापपुर गाउँपालिका(४ बर्दघाट बस्ने राजमोहन चौहानको ८ वर्षीया छोरी अम्बिका चौहान धारामा नुहाउने क्रममा धारामा जडान गरेको मोटरको तार सर्ट भई करेन्ट लाग्दा घाइते भई उपचारको लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा लगिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।
काभ्रे: बेथानचोक गाउँपालिका(४ बस्ने ५० वर्षीया राममाया तामाङ आफ्नै गाई गोठमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर शनिबार मृत्यु भएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
सुर्यविनायक नगरपालिका ७ गुण्डु तिनधारे बस्ने ६२ वर्षीय हरिबहादुर कार्कीको घरबाट शनिबार नगद, ल्यापटप, सुनका बिभिन्न गरगहना गरी करीब २ लाख ५६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । यसैगरी भक्तपुर चांगुनारायण नगरपालिका(५ पिखेल बस्ने संजयकुमार थापाको घरबाट शनिबार सुनका बिभिन्न किसिमका गरहना गरी करीब १ लाख १२ हजार रुपैया बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षति
बारा : सिमरा उपमहानगरपालिका(२ स्थित रहेको जगदम्बा प्रा।लि।भित्र रहेको डिजल,पेट्रोल स्टोरमा चुहावट भई शनिबार आगलागी हुँदा करीब २२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
खोटाङ : जन्तेढुङ्गा गाउँपालिका(५ बस्ने मित्र लाल कोईरालाको फुसको छानो भएको घरमा आफ्नै छोराछोरीहरुले लाईटर खेलाउने क्रममा शनिबार आगलागी हुँदा घर भित्र रहेको नगद ६० हजार रुपैयाँ, सुनका बिभिन्न गर गहना,अन्नपात,लत्ताकपडा,भाँडा वर्तन,काठपात समेत गरी करीब २५ लाख रुपैया बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया