एमाले-माओवादी मिल्यो आपसी भागण्डा, कुन पद कसलाई ?
सारांश
- काठमाडौं, १३ फागुन- एमाले-माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन् ।
- दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएको दुवै पार्टी नेताहरूले बताएका छन् ।
- आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।
काठमाडौं, १३ फागुन- एमाले-माओवादी केन्द्रले पार्टी एकताको सहमतिसँगै सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएका छन् । दुवै वाम पार्टीले राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएको दुवै पार्टी नेताहरूले बताएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले खबर लेखेका छन् ।
‘दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबन्डा भइसकेको छ’, माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले भने, ‘राष्ट्रपति एमालेलाई र सभामुख माओवादीले लिने समझदारी भएको छ ।’ एमाले-माओवादी केन्द्रबीच एमालेलाई राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, १० वटा मन्त्रालय र माओवादी केन्द्रलाई उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख, राष्ट्रियसभा उपाध्यक्ष र ७ वटा मन्त्रालय दिने समझदारी छ ।
यो सहमति एमाले-माओवादीका दुई अध्यक्षदेखि वाम एकता संयोजन समितिका शीर्ष नेताहरूबीच भएको नेताहरूको भनाइ छ । दुई दलबीच भएका सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा मनोनित गर्न पठाएका ३ जनाको सिफारिस फिर्ता लिँदै एमालेका २ र माओवादीका १ जना सिफारिस गर्नेसम्मका समझदारी थिए । सोही समझदारीका आधारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले राष्ट्रियसभामा ३ जनाको नाम सिफारिस गरेको थियो । सिफारिसअनुसार राष्ट्रपतिले राष्ट्रियसभामा मनोनित गरिदिएपछि देउवा सरकारले सिफारिस गरेका तीन जना अदालत गुहार्न पुगेका छन् ।
एमाले-माओवादीबीच ओली सरकारलाई दुई तिहाइ सांसदको समर्थनयुक्त सरकार बनाउन पनि प्रयास भइरहेको छ । यसका लागि संघीय फोरमलाई सरकारमा ल्याउन पदीय बाँडफाँटमा सहमति प्रयास जारी छ । फोरमलाई प्रतिनिधिसभाको उपसभामुख र बढीमा दुई वटा मन्त्रालय दिएर सरकारमा सामेल गर्ने प्रयासमा एमाले-माओवादीले छलफल गरिरहेका छन् ।
संघीय फोरम सरकारमा आए अहिले एमाले-माओवादीले भागबन्डा गरेका मन्त्रालयबाटै मिलाउने र प्रतिनिधिसभाको उपसभामुख दिन दुई पार्टीले भागबन्डामा सहमति गरेका छन् । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले फोरम अध्यक्ष उपेन्द्र यादवलाई ७ फागुनमा बालुवाटारमै बोलाएर यसबारे छलफल गरेका थिए । फोरमले सरकारमा सहभागी हुन सकारात्मक सन्देश दिएकाले एमाले-माओवादीले फोरमका लागि पद छुट्याएको माओवादी नेता सापकोटाले वताए । संघीय फोरम सरकारमा नआए प्रतिनिधिसभाको उपसभामुख एमालेले नै पाउने सापकोटाको भनाइ छ । ‘उपेन्द्र (संघीय फोरम) जीलाई पनि सरकारमा ल्याउने प्रयास जारी छ, उहाँहरूलाई दिने पदीय विषयमा पनि छलफल छ’, उनले भने, ‘उहाँहरू सरकारमा नआए उपसभामुख स्वतः एमालेले पाउनेछ ।’
एमाले-माओवादीले सत्ताको पावर सेयरिङ मिलाउँदा पार्टी एकतापछिको पावर सेयरिङलाई पनि प्याकेजमै मिलाएका छन् । एमाले नेता सुरेन्द्र पाण्डेले पदीय बाँडफाँटको छलफल भए पनि सहमति भने भइनसकेको बताए । ‘अझै छलफलकै चरणमा छ, केही प्रारम्भिक समझदारी बन्न खोजेजस्तो देखिएको छ’, उनले भने । एकतापछि दुवै पार्टी अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुने र आलोपालो प्रधानमन्त्री हुने गरी पावर सेयरिङ भए पनि त्यसलाई नेताहरूले औपचारिक÷अनौपचारिक संवाद क्रममा फरक-फरक ढंगले अथ्र्याइरहेका छन् ।
माओवादीले प्रधानमन्त्री र पार्टी अध्यक्ष तथा राष्ट्रपति र संघीय व्यवस्थापिकाको सभामुखमध्ये रोजी एमाले र छाडी आफूले लिने गरी पावर सेयरिङ गर्नुपर्ने प्रस्ताव गरेको थियो । सुरुमा एमालेले राष्ट्रपति, प्रधानमन्त्री र सभामुख आफूले लिएर उपराष्ट्रपति र राष्ट्रियसभा अध्यक्ष माओवादीलाई दिएर मनाउन खोजेको थियो । अन्त्यमा प्याकेज सहमतिका क्रममा माओवादीलाई सभामुख दिन एमाले लचिलो भएपछि पावर सेयरिङ विवाद मिलेको थियो ।
आन्तरिक किचलो बाँकी
एमाले-माओवादीले पावर सेयरिङ टुंगो लगाए पनि नेताहरूको आन्तरिक व्यवस्थापन जटिल बनेको छ । यसैकारण दुवै पार्टीले आफूले पाएका मन्त्रालयमा मन्त्रीदेखि अन्य पदीय जिम्मेवारीमा जाने नेताको टुंगो लगाउन सकेका छैनन् । दुई पार्टीबीच भागबन्डा लगाउन सहज देखिए पनि आन्तरिक व्यवस्थापनले अहिले दुवै पार्टी नेतृत्वलाई पिरोलिरहेको वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन् । ‘पार्टीगत रूपमा भागबन्डा नमिल्ने विषयमा समेत मिलेरै गएका छन् । पार्टीगत पावर सेयरिङमा समस्या देखिएन तर आफ्ना भागमा परेको भागबन्डामै धेरै आन्तरिक किचलो देखिन्छ । यो मिलाउन दुवैलाई सकस पर्ने देखिन्छ’, उनले भने ।
प्रतिक्रिया