ओली र दाहाललाई चूनौति बनेकी शिवमाया

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २८, २०७६
|
|
४३ पटक हेरिएको
Shares
ओली र दाहाललाई चूनौति बनेकी शिवमाया

सारांश

  • प्रतिनिधिसभा सभामुख छान्न सत्तारूढ दल नेकपालाई सकस भइरहेका बेला उपसभामुख डा.
  • शिवमाया तुम्बाहाम्फेले दुई अध्यक्षलाई सभामुखको उम्मेदवार टुंगो लगाउन चुनौती दिएकी छिन्।
  • प्रधानमन्त्री निवास बालुवाटरमा उनले आइतबार दुई अध्यक्षसँग भेटघाट गरेकी थिइन्।

प्रतिनिधिसभा सभामुख छान्न सत्तारूढ दल नेकपालाई सकस भइरहेका बेला उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले दुई अध्यक्षलाई सभामुखको उम्मेदवार टुंगो लगाउन चुनौती दिएकी छिन्। प्रधानमन्त्री निवास बालुवाटरमा उनले आइतबार दुई अध्यक्षसँग भेटघाट गरेकी थिइन्।

‘तपाईंहरू एक महिनासम्म पनि सभामुखको उम्मेदवार तय गर्न नसक्ने अनि सार्वजनिक रूपमै मेरो राजीनामा माग्ने ’ दुई अध्यक्षसँग उनले भनिन्, ‘तपाईंहरू पहिला उम्मेदवार तय गर्नुस्, मेरो पनि दाबी छँदैछ।’ स्रोतका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहालले पार्टीले निर्णय गरिसकेको उल्लेख गर्दै राजीनामा दिएर सहयोग गर्न तुम्बाहाम्फेलाई आग्रह गरे। तर उनले पार्टीले राजीनामाका लागि निर्देशन दिनु ठीक हो कि होइन भनी प्रश्न गरिन्। ‘कुनै एउटा व्यक्तिलाई यसरी बारम्बार राजीनामाको प्रसंग उठाएर आफ्नो कमजोरी लुकाउन खोज्नुलाई मैले के मान्ने ?’ उनले अध्यक्ष दाहालसँग भनिन्। स्रोतका अनुसार नेतृत्वले सभामुख छान्न नसक्नुको कारण उपसभामुखले राजीनामा नदिएको भन्दै दोष दिएकोमा तुम्बाहाम्फेले असन्तुष्टि जनाइन्। ‘म बाधक हँुदै होइन, मेरो दाबी छ भनेकी हुँ। नेतृत्वले सभामुखको उम्मेदवारचाहिँ किन टुंग्याउन सकिरहेको छैन रु मसँग किन राजीनामा मागिरहेको छ’ उनले भनिन्।

शनिबार पार्टी सचिवालय बैठकले उनको राजीनामा मागेको थियो। सचिवालय बैठकको निर्णय तुम्बाहाम्फेले नमानेपछि आइतबार बिहानै कार्यकारी अध्यक्ष दाहाल प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका थिए। दुई अध्यक्षको छलफलपछि उपसभामुख तुम्बाहाम्फेलाई बालुवाटार बोलाइयो। उनीसँग धेरैजसो कुराकानी कार्यकारी अध्यक्ष दाहालले गरे। सँगै रहेका प्रधानमन्त्री ओलीले भने उनीहरूको संवाद सुनेका थिए। उनलाई सभामुखको उम्मेदवार चयनका लागि पनि राजीनामा आवश्यक रहेको भनेर सम्झाउन खोजिएको थियो। ‘नेकपाले सभामुख गुमाउनुहुँदैन भनेर मलाई पनि थाहा छ तर नेताहरूको स्वार्थ नमिल्दा मलाई राजीनामा नदिएको भन्दै सभामुखको उम्मेदवार नै तय नगर्नुचाहिँ विडम्बना हो,’ तुम्बाहाम्फेनिकट स्रोतले भन्यो, ‘अध्यक्षद्वयसँगको भेटमा उहाँले राजीनामा नदिने त भन्नुभएन तर कमजोरी लुकाउन राजीनामा किन नगरेको भन्नेजस्तो प्रश्न गर्न नपाइने विचार राख्नुभयो।’

दुई अध्यक्षका साथमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपा महासचिव विष्णु पौडेल सहभागी भए पनि उनीहरूले खासै धारणा नराखेको स्रोतको भनाइ छ। तुम्बाहाम्फेले सभामुखका लागि आफू पनि सक्षम रहेको दाबी गर्दै आएकी छिन्। उनले महिला आन्दोलन र नेपालको राजनीतिबारे पुस्तकसमेत प्रकाशित गरिसकेकी छिन्। ‘पुरुषसरह सक्षम र जिम्मेवार हुँदाहुँदै विश्वास गर्न नसक्नु, हेप्नु र केही पनि गर्न सक्दैनन् भनेर जिम्मेवारीबाट हटाउन खोज्नुले महिलालाई जबर्जस्ती सक्षम छैन भनेर देखाउन खोजिएको हो ? ’ उनले प्रश्न गरिन्।

उनका सबै कुरा सुनेका प्रधानमन्त्री ओलीले सभामुखको उम्मेदवार तय गर्ने बताउँदै माघ ६ गतेसम्म संसद स्थगित गर्न आग्रह गरेका थिए। बालुवाटारबाट निस्केपछि उनले सूचना टाँस गरेर प्रतिनिधिसभा बैठक स्थगित गरिन्। उनलाई सातै प्रदेशका उपसभामुखको समेत साथ छ। त्यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उनलाई साथ दिएको स्रोतले जनाएको छ। महिला नेतृहरूले पनि उनको अडानलाई साथ दिएका छन्। पार्टीका वरिष्ठ नेता झलनाथ खनालले तुम्बाहाम्फेले पार्टीको निर्णय मान्नुपर्ने भने पनि केन्द्रीय सदस्य विन्दा पाण्डेले ‘महाअभियोग दर्ता हुने नै भयो त ?’ भनेर प्रश्न गरेकी छन्। पाण्डेसहित अरू महिला केन्द्रीय सदस्य पनि तुम्बाहाम्फेको पक्षमा छन्। तत्कालीन माओवादी केन्द्रकाका तर्फबाट सभामुखमा कृष्णबहादुर महरा चयन भएपछि उनी तत्कालीन नेकपा एमालेका तर्फबाट उपसभामुख चुनिएकी थिइन्। नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?