कहाँ पुग्याे चिन तर्फका ४ अटा नाका खाेल्ने काम ?
सारांश
- काठमाडौं, ४ असार ।
- ०७२ बैशाख १२ गतेको शक्तिशाली भूकम्पछि चीनसँगको नेपालको एकमात्र व्यापारिक नाका ‘तातोपानी’ बन्द भयो ।
- तातोपानी नाका बन्द भएसँगै चीनबाट सीधै नेपाल सामान ओसारपसार हुन छा्ड्यो ।
काठमाडौं, ४ असार । ०७२ बैशाख १२ गतेको शक्तिशाली भूकम्पछि चीनसँगको नेपालको एकमात्र व्यापारिक नाका ‘तातोपानी’ बन्द भयो । तातोपानी नाका बन्द भएसँगै चीनबाट सीधै नेपाल सामान ओसारपसार हुन छा्ड्यो ।
चीनबाट किनिएका सामानहरु र चीनलाई बेचिएका सामानहरु भारतको बाटो हुँदै ओसार पसार गर्न थालियो । ०७२ असोजमा नेपालको संविधानसभाले नयाँ संविधान जारी गर्यो । उक्त संविधानमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि अघोषितरुमा नाकाबन्दी गर्यो ।
त्यसबेला नेपालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री थिए भने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री थिए । संविधान संसोधन गर्न भारतीय पक्षले दिएको दबाबलाई नेपाली पक्षले अस्वीकार गर्यो । प्रधानमन्त्री ओलीले राष्ट्रबादको नारा लगाउँदै भारतसँग नझुक्ने घोषणा गरे । ओलीलाई आम जनताले समर्थन गरे । जसको परिणाम गत निर्वाचनमा देखियो ।
भूकम्पका कारण बन्द भएको तातोपानी नाका कहिले र कसरी खुल्छ ? भन्नेमा अहिलेसम्म सर्वसाधारणले कुनै पनि जानकारी पाएका छैनन् ।
भारतीय नाकाबन्दीकै बेला प्रधानमन्त्री ओली चीन भ्रमणमा गए । चीनसँग ६ वटा नाका खोल्ने सहमतिमा हस्ताक्षर पनि गरे । र, अब भारसँग मात्रै व्यापारमा निर्भर रहनुपर्ने दिन सकिएको घोषणा गरे । विभिन्न स्थानमा नाका खोल्नका लागि सरकारी टोली स्थलगत अध्ययनका लागि गए । धमाधम काम गर्न संसदीय समितिले निर्देशन पनि दिए ।
ओली सरकार ९ महिनामै ढल्यो । त्यसपछि २ वटा सरकार फेरिए । अहिले फेरि ओलीकै नेतृत्वमा सरकार छ । प्रधानमन्त्री ओली मंगलबार चीन भ्रमणमा जाँदैछन् ।
तर भूकम्पका कारण बन्द भएको तातोपानी नाका कहिले र कसरी खुल्छ ? भन्नेमा अहिलेसम्म सर्वसाधारणले कुनै पनि जानकारी पाएका छैनन् ।
के यसअघि नै प्रधानमन्त्री हुँदा ओलीले विशेष चासोका साथ चीनसँग नाका खोल्ने भनिएका नाकाहरु यो भ्रमणमा खोल्लान् त ? तातोपानी नाका बन्ब हुँदा नेपालले अर्बौंको ब्यापार गुमाएको छ । प्रधानमन्त्री ओलीले तातोपानी नाका खोल्लान् त ?
यस्तो छ, तातोपानीको भित्रि कथा
तातोपानी नाकामा विशेष गरी चीन विरोधी गतिविधि भएको र स्वतन्त्र तिब्बत पक्षधरहरुले दलाई लामाम लगायतको फोटो राखेको र सार्वभौमसत्ता माथि आक्रामण गरेको जस्तो कारण चिनियाँ अधिकारीले सँधै उठाउने गरेको बताइन्छ ।
द्विपक्षीय वार्तामा सहभागी नेपाली अधिकारीकाअनुसार चीनले स्वतन्त्र तिब्बत गतिविधिको हर्कत रोक्ने विश्वासिलो प्रतिवद्धता नेपाली पक्षसँग खोजेको छ ।
भूकम्पपछि राहत तथा उद्दारमा आएका चिनियाँ अधिकारीले तातोपानी नाकाका घर तथा आवामा दलाई लामाको तस्विर तथा स्वतन्त्र तिब्बतको पक्षमा सामग्री भेट्टाएपछि चिनियाँ अधिकारी नाका खोल्न तयार भएनन् ।
चीन सरकारले खासामा बस्दै आएका आफ्ना नागरिकलाई न्यालोम भन्ने स्थानमा सारिसकेको छ । नेपाल जोड्ने बाटोको मर्मत तथा फराकिलो बनाउने काम जारी रहेको छ ।
सो काम केही समयभित्रै सकिने चिनियाँ अधिकारीले नेपाली अधिकारीलाई जानकारी गराएका छन् । सोही जानकारीका आधारमा नेपालतर्फ कोदारी राजमार्ग स्तरोन्नतीको काम समेत सुरु भएको छ । केही समयभित्रै उक्त राजमार्गको स्तारोन्नतिको काम सकिने नेपाली अधिकारीको भनाइ छ । सडक विभागले मर्मतको काम गरिरहेको छ ।
तातोपानी नाका बन्द गरेपछि चीन सरकारले रसुवागढी नाकालाई विशेष प्राथमिकतामा राखेको छ । रसुवागढी नाका साँघुरो भएका कारण सहज रुपमा आवत जावत तथा माल सामान ओसार पसारका लागि समेत समस्या पर्ने गरेको छ ।
उक्त नाका बन्द हुँदा राजस्वमा समेत ठूलो नोक्सानी भएको छ । हजारौंले रोजगारी गुमाएका छन् । २० हजारको संख्यामा रहेका कन्टेनर तथा ट्रकको लगानी समेत डुबेको छ । व्यवसायी पलायन भएका छन् । नेपाल आयात हुने सामान कोलकत्ता बन्दरगाहबाट आउने गरेको छ । लामो बाटोबाबट सामान आयात गर्दा लागत मात्रै होइन समय समेत बढी लाग्ने गरेको छ ।
पछिल्लो पटक सुक्खा बन्दरगाहका काम समेत सुरु भएपछि नाका खुल्ने आशामा व्यापारी तथा व्यवसायी समेत हर्षित भएका छन् ।
उनीहरुले नाका खोल्ने शर्तमा चीन सरकारले राखेको चासो सम्बोधन गर्न समेत नागरिक समाज, स्थानीयबासी, सुरक्षाकर्मी तथा राजनीतिक दल समेत तयार रहेको बताएका छन् ।
सिन्धुपाल्चोकबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले विगत ३ वर्षदेखि नेपालीले भोगेको समस्या समाधान हुन लागेकोमा खुसी व्यक्त गरे ।
‘सुक्खा बन्दरगाहको निर्माणसँगै नाका खुल्नेमा हामी आशावादी भएका छौ,’ उनले भने ।
सरकारले चीनतर्फ थप ६ नाका खोल्ने सहमति यसअघि नै गरिसकेको छ । तर भौतिक पूर्वाधारको अभाव, सडक सञ्जालको दुरुह अवस्थाका कारण नाका खोल्ने विषय भने सहज बन्न सकेको छैन ।
भौर्गभिक अवस्था तथा सरकारले ध्यान दिन नसक्दा उत्तरतर्फका नाका सहज बन्न सकेको छैन । सहज रुपमा नाका खोल्नका लागि सरकारले कुटनीतिक रुपमा सहज प्रयास गर्नु जरुरी देखिन्छ ।रसुवागढीमा समस्यै समस्या
तातोपानी नाका बन्द गरेपछि चीन सरकारले रसुवागढी नाकालाई विशेष प्राथमिकतामा राखेको छ । रसुवागढी नाका साँघुरो भएका कारण सहज रुपमा आवत जावत तथा माल सामान ओसार पसारका लागि समेत समस्या पर्ने गरेको छ ।
चीनतर्फ भव्य भवन तथा भौतिक पूर्वाधारले सम्पन्न भएपनि नेपाल तर्फ भने भन्सार कार्यालय, अध्यागमन तथा कुनै पनि कार्यालय व्यवस्थित रुपमा रहेका छैनन् । जसका कारण नेपाली नागरिकले हैरानी र परेसानी बाहेक अरु केही खेप्नु परेको छैन ।
नाका व्यवस्थित गर्ने सरकारको तयारी भएपनि त्यसतर्फ कुनै पनि पहल हुन सकेको छैन ।
रसुवागढी नाका व्यवस्थित गर्नु भन्दा पहिले सडक सुधारमा ध्यान दिनुपर्ने थियो । तर सडक विस्तारमा अर्थ मन्त्रालयले सहयोग नगरेको गुनासो पनि उत्तिकै रहेको छ । नेपाली सेनाले रसुवा–मैलुङ सडक खण्डको ट्रयाक निर्माण गरिसकेको छ ।
डबल लेनमा निर्माण भएको उक्त सडकको सहज सञ्चालनपछि मात्रै उक्त नाका थप व्यवस्थित हुने देखिएको छ । यस्तै रसुवागढीमा निर्माण हुन लागेको बन्दरगाह व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन पनि अझै केही वर्ष लाग्ने भएको छ ।
के हुँदैछ कोरला ?
सरकारले विशेष प्राथमिकतामा राखेको भनेको मुस्ताङको कोरला नामा पुग्न सडक सञ्जालको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । उक्त नाका हिउँदको समयमा मात्रै सञ्चालन गर्न सकिन्छ । बेनी–जोमसोम सडकको स्तोन्नतिको काम जारी रहेको छ । यस्तै मुस्ताङ सदरमुकाम कागवेनीदेखि माथिल्लो मुस्ताङ पुग्ने सडक खण्डमा नौ वटा ठूला र २० वटा जति साना पुल निर्माण गर्नुपर्ने छ ।
कोराला नाकामा चीन सरकारको तर्फबाटा भव्य संरचना निर्माण भएपनि नेपाल तर्फ कुनै पनि संरचना रहेका छैनन् । जसका कारण सहज रुपमा नाका सञ्चालनमा ल्याउन अझै केही वर्ष लाग्ने देखिन्छ ।
जहाँको त्यहीँ छ किमाथांका, ओलाङचुङगोला र लामाबगर
पूर्वका किमाथांका, ओलाङचुङगोला र दोलखाको लामाबगर नाका स्थानीयले मात्रै प्रयोग गर्दै गरेको अवस्था छ । जसका कारण सो नाकाबाट व्यवसायिक कारोबार तथा अन्य काम गर्न लामो समय लाग्ने देखिएको छ । किमाथांका संखुवासभामा पर्छ भने ओलाङचुङगोला ताप्लेजुङमा पर्छ ।

केही दिन पहिले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको स्थलगत निरिक्षणमा पुगेका प्रधानमन्त्री ओलीले सुरुङ निर्माण गरेर भएपनि लामाबगर नाका खोल्ने बताएका थिए । परम्परागतरुपमा सञ्चालनमा रहेको उक्त नाका स्थानीयले भेडा तथा चौरी चराउनका लागि मात्रै प्रयोग गर्दै आएका छन् ।
माथिल्लो तामाकोशीको बाँधमा पानी जम्मा पारेपछि नाका खोल्न समस्या हुने भन्दै स्थानीयले प्रधानमन्त्री ओलीसँग तत्कालै सडक तथा सुरुङ निर्माणको प्रक्रिया शुरु गर्नसमेत आग्रह गरेका थिए।
पछिल्लो पटक चीन सरकारको सहयोगमा निर्माण हुन थालेको लार्चा सुक्खा बन्दरगाह निर्माणको काम सुरु भएकाले नाका खुल्ला कि भन्ने झिनो आशा देखिएको छ ।
नेपाल इन्टरमोडल यातायात विकास समिति र चिनियाँ अधिकारीबीच बिहिबार लार्चा बन्दरगाह निर्माण सुरु गर्ने सहमति भएको छ । सोही सहमतिका आधारमा तातोपानी नाका खुल्ला भन्ने आश गर्न सकिन्छ ।
(क्लिकमाण्डु बाट)
प्रतिक्रिया