कांग्रेसले सोमबारसम्म सबै उम्मेदवारको टुङ्गो लगाउने
सारांश
- नेपाली कांग्रेसले मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारको अन्तिम टुंगो सोमबारसम्म लगाउने भएको छ।
- उम्मेदवार टुंगो लगाउन कांग्रेस संसदीय समितिको बैठक दिनहुँजसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको छ।
- दुर्इ नं प्रदेशसहित केही क्षेत्रमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसंग चुनावी तालमेल गर्नेबारे छलफल जारी रहेकाले पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउन केही ढिलार्इ भएको संसदीय समिति सदस्य एनपी साउँदले बताए।
नेपाली कांग्रेसले मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारको अन्तिम टुंगो सोमबारसम्म लगाउने भएको छ। उम्मेदवार टुंगो लगाउन कांग्रेस संसदीय समितिको बैठक दिनहुँजसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको छ।
दुर्इ नं प्रदेशसहित केही क्षेत्रमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसंग चुनावी तालमेल गर्नेबारे छलफल जारी रहेकाले पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउन केही ढिलार्इ भएको संसदीय समिति सदस्य एनपी साउँदले बताए। उनले भने, ‘अरु दलहरुसंग सिट बाँडफाडमा शीर्ष तहमा छलफल चलिरहेको छ, कुन दललार्इ कुन क्षेत्र छोड्ने भन्नेमा सहमति भएपछि हामीले पार्टी उम्मेदवारको टुंगो लगाउँछौं।’ सोमबारसम्म सबै उम्मेदवारको टुंगो लाग्ने उनले बताए।
राजपा र संघीय समाजवादीले प्रदेश नं दुर्इमा बीस भन्दा बढी सिट प्रतिनिधि सभाका लागि दावी गरेपछि सहमति हुन सकेको छैन। कांग्रेसले २०७० सालको संविधान सभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मतपरिणाम अनुसार सिट बाँडफाडको अडान लिइरहेको छ। कांग्रेसले कम्तिमा १८ सिट आफूसंग राख्न खोजेको छ।
कांग्रेसले बिहीबार मात्र शिर्ष २२ जना नेताको उम्मेदवारी टुंगो लगाएको थियो। कांग्रेस संसदीय समितिको बैठकले शीर्ष नेताको उम्मेदवारी टुंगो लगाएको हो। जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुरा, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १, महामन्त्री डा. शशांक कोइराला नवलपरासी १, डा. मीनेन्द्र रिजाल मोरङ २, महेश आचार्य मोरङ ४, डा. शेखर कोइराला मोरङ ६ र विजयकुमार गच्छदार सुनसरी ३ बाट चुनाव लड्ने भएका छन्।
त्यसैगरी, ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४, विमलेन्द्र निधि धनुषा ३, फर्मुल्ला मन्सुर बारा ३, रमेश रिजाल पर्सा ४, प्रकाशमान सिंह काठमाडौं १, डा. प्रकाशशरण महत काठमाडौं ५, गोपालमान श्रेष्ठ स्याङ्जा २, पूर्णबहादुर खड्का सुर्खेत १ र एनपी साउद कञ्चनपुर २ बाट उम्मेदवार बन्ने काैग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया