कांग्रेस मास्ने प्रतिस्पर्धा-डा. सुरेश आचार्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २१, २०७४
|
|
१९ पटक हेरिएको
Shares
कांग्रेस मास्ने प्रतिस्पर्धा-डा. सुरेश आचार्य

सारांश

  • नेपाली कांग्रेस यतिबेला प्रतिपक्षमा छ ।
  • संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका कांग्रेसले निर्वाह गर्ने हो ।
  • सरकारका गतिविधिहरूको सूक्ष्म अनुगमन गरी रचनात्क प्रतिपक्षी बन्नका लागि छायाँ सरकार बनाउने योजना कांग्रेसका लागि नयाँ हो ।

नेपाली कांग्रेस यतिबेला प्रतिपक्षमा छ । संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका कांग्रेसले निर्वाह गर्ने हो । सरकारका गतिविधिहरूको सूक्ष्म अनुगमन गरी रचनात्क प्रतिपक्षी बन्नका लागि छायाँ सरकार बनाउने योजना कांग्रेसका लागि नयाँ हो । एमालेले सुरुमै यो अभ्यास नगरेको थिएन । तर रचनात्मकभन्दा ध्वंशात्मक प्रतिपक्षीको भूमिकामा उत्रिएको एमालेले छायाँ सरकारको मान्यताअनुरूप कुनै काम गरेको थाहा भएन । कांग्रेसले भने वा नभने पनि उसले निर्वाह गर्न सक्ने भनेकै रचनात्मक विरोध हो । यसका लागि छायाँ सरकार बनाउनाले सांसदहरूमा दायित्व बोध मात्र हँुदैन, भोलि राज्यसत्तामा जाने हैसियत बनाउने अवसर पनि मिल्ने छ ।

प्रतिपक्षमा रहनुको विकल्प कांग्रेससँग छैन । संसद्मा एक चौथाइ सांसदको प्रतिपक्ष बलियो प्रतिपक्ष होइन, जसले सरकारलाई पाइला पाइलामा चुनौती दिन सकोस् । तर प्रतिपक्षको भूमिका सरकार गठन र विघटनमा जोडिएको हिजोको संस्कारका कारण संख्यात्मक रूपमा कांग्रेस कमजोर प्रतिपक्ष जस्तो लागेको हो । कांग्रेस संसद्मा वैचारिक प्रतिपक्षका हिसाबले बलियो छ । उसको भूमिका सरकार गिराउनका लागि होइन, सरकारलाई संसदीय मूल्य र मान्यताका आधारमा अघि बढाउन सहयोग गर्ने हो ।

कांग्रेसले अबको पाँच वर्ष लड्ने अरु पार्टीसँग हो । खासगरी कम्युनिस्ट पार्टीसँग हो । तर कांग्रेस अहिले आफैंबीच लड्ने तयारीमा देखिन्छ । पाँच वर्षका लागि प्रतिपक्षी पार्टी हो भन्ने प्रस्ट जान्दाजान्दै संसदीय दलको नेता हुन अहिले अस्वस्थ प्रतिस्पर्धाको तयारी भइरहेको देखिन्छ । कांग्रेसमा गिरिजाप्रसाद कोइरालाले अनुकूलतामा संसदीय दलको नेता र पार्टी सभापतिको हैसियतको व्याख्या गरे । जतिबेला कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भए, उनले एक व्यक्ति एक पदको नारा लगाए । जतिबेला उनी पार्टी र संसदीय दल दुवैको नेतृत्वमा रहे, फरक व्यक्ति हुँदा काम गर्न असजिलो हुने व्याख्या गरे । २०५१ सालमा संसदीय दलको नेता त्याग्नुमा उनले पार्टीलाई दुई तिहाइ बहुमत दिलाउने दम्भमा बहुमतको संसद् विघटन गराए र कांग्रेसलाई संसदको दोस्रो पार्टी बनाए । २०६४ मा उनको सपना राष्ट्रपति हुने थियो ।

अहिले संसदीय दलको नेता सर्वसम्मत हुन सके राम्रो हो । कांग्रेसमा पार्टीबाहेक कुनै पनि नेतामा कुनै खालको स्वार्थ छैन भन्ने सन्देश दिन यसले बल नै पु¥याउँछ । चुनाव हुने अवस्था आउँछ भने पनि कसैको मानमर्दन नगरी स्वस्थ प्रतिस्पर्धा गर्दा फरक पर्दैन । कांग्रेसको चरित्र हेर्दा २०१७ सालमा डा.तुलसी गिरीले ठीकै भनेका रहेछन् । उनले आफू अगाडि आउन बीपीलाई अप्ठेरो परेका बेला असहयोग गरेको बताउँदै भनेका थिए– बीपी भीरमा पुगेका बेला चाकमा लात्ताले नदिएको भए म कसरी अघि आउँथे ? अहिले कांग्रेसमा पार्टी सभापति शेरबहादुर देउवालाई पार्टी पराजयको दोष भिराएर आफू संसदीय दलको नेता बन्ने चाहना राखेको देखिन्छ । शेरबहादुर आफैं चुनाव हारेका हुन्थे भने शायद पार्टी अध्यक्षबाट पनि उनले राजीनामा दिने थिए । संसदीय दलमा यो विवाद शायदै आउँथ्यो । अहिलेको अवस्था त्यो होइन । कांग्रेसले आफू पराजित हँुदै गर्दा शेरबहादुरले मुलुकलाई संवैधानिक निकास दिन सकेकोमा धन्यवाद दिनुपर्छ । देउवा असफल भएको विश्लेषण गर्न मिल्दैन ।

चुनावी रणनीतिमा देउवाको अदूरदर्शिता सरकारमा रहेको माओवादीलाई अरुसँग चुनावी सहकार्यमा गइसक्दा पनि थाहा नपाउनु हो । यद्यपि, स्थानीय तहमा माओवादीसँगको सहकार्यलाई अपवित्र मान्नेहरू नै अहिले देउवाका विपक्षमा उभिएका छन् । माओवादी एमालेसँग गइसकेपछि पनि अरु जुन लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने भनियो, त्यसमा सहकार्यलाई चुनावी परिणाममा रूपान्तरण गर्ने रणनीति बन्न सकेन । अत्यन्त फितलो सहकार्य बन्यो । तेस्रो, मधेसी दललाई आफूसँगै राख्न सकेको भए संघीय प्रतिनिधिसभामा आठ सिट र प्रदेश नम्बर २ मा सत्ताको साझेदार पार्टीका रूपमा कांग्रेस आउने सम्भावना रहन्थ्यो । यी कमजोरीहरूको विश्लेषण गरेर आगामी दिनमा कांग्रेसले लिने रणनीतिका बारेमा छलफल गर्नु कांग्रेस कार्यसमितिको दायित्व हो । तर विषयवस्तु एकातिर र पदको मोह बहसको विषय बनेको देखिएको छ । यसबाट कांग्रेस संगठनात्मक परिवर्तनका पक्षमा होइन, पार्टीमा आफ्नो हैसियत सुरक्षित राख्ने रणनीतिमा केन्द्रीत देखिएको छ ।
कांग्रेस आठ दस ठाउँमा हारेको छ भने त्यो कांग्रेसकै कारण हारेको हो । ती ठाउँको पहिचान कांग्रेसले पक्कै गरेको हुनुपर्छ ।

उदाहरणका लागि कैलालीमा आरजु देउवालाई हराउन पुष्कर ओझा खुलेआम लागेकै हो । कञ्चनपुरमा रमेश लेखकलाई हराउन दिवानसिंह विष्ट लागेको थियो भनेर कुनै उजुरी हाल्नै पर्दैन । यो आममतदाताले थाहा पाएको कुरा छ । यी केही उदाहरण हुन् । देशभर यस्ता गतिविधि भएका छन् । यसरी पार्टी अनुशासन बाहिर गएर काम गर्नेहरूलाई निर्मम ढंगमा कारबाही गर्न कांग्रेस डराउनु पर्दैन । उनीहरूलाई संरक्षण गर्न चाहनेहरू कांग्रेसको हितचिन्तक होइनन् भन्न हिच्किचाउनै पर्दैन । जो उनीहरूका संरक्षक भएर निस्कन्छन्, तिनलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।
दुःखका दिनमा ठूला हस्तीहरूले कांग्रेस छाडेर पञ्चायत प्रवेश गरेकै हुन् र पनि कांग्रेस सकिएन । कांग्रेसले नै आन्दोलनको नेतृत्व ग¥यो । पञ्चायत पनि फालियो ।

कांग्रेस सिध्याउन लागेका महाराज पनि फालिए । कांग्रेसको नेतृत्व कमजोर छ भने अनुशासनका मामिलामा छ । संगठन गर्ने विषयमा छ । होडबाजी कांग्रेस बनाउनका लागि गरौं । एउटालाई सिध्याएर आफू नेता बन्छु भन्ने सोचले कांग्रेसलाई सिध्याउने छ । कांग्रेस सिद्धिनु भनेको कांग्रेसको अर्को विकल्प खडा हुने होइन, कम्युनिस्टहरू बलियो हुने हो । र, अन्ततः लोकतन्त्र समाप्त हुने हो । कांग्रेसले रोज्ने बाटो कुन हो ? नेताहरूले एकपटक ठण्डा दिमागले सोचौं ।

डा .सुरेश आचार्यले तरुण खबरमा लेखेको लेखलाई हामीले समय सान्द्र्विक ठानेर सभार गरेका हौ!

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?