काठमाडौंको गौरीघाटमा छठ पर्वको भव्य तयारी
सारांश
- काठमाडौं, २५ कात्तिक।
- चार दिनसम्म मनाइने छठ पर्व आइतबारदेखि सुरु भएको छ।
- प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने यो पर्व सुरु भएको हो।
काठमाडौं, २५ कात्तिक। चार दिनसम्म मनाइने छठ पर्व आइतबारदेखि सुरु भएको छ। प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने यो पर्व सुरु भएको हो। यसै अवसरमा राजधानी काठमाडौंमा पनि छठको तयारीका कामलाई तीव्रता दिइएको छ। रानी पोखरी भूकम्पले ध्वस्त बनाएपछि छठ पर्व मनाउन यस वर्ष काठमाडौंको गौरीघाटमा तयारीको कामलाई तीव्रता दिइएको हो। आज बेलुकासम्म सम्पन्न हुने गरी छठ घाट, पोखरी, टेन्टलगायतका निर्माणको कामलाई तीव्रता दिइएको छठ व्यवस्थापन समितिका सदस्य किरणकुमार दासले जानकारी दिए।
२ वटा डोजर प्रयोग गरेर त्यहाँ छठी माईको पुजाका लागि पोखरी निर्माणको काम गरिएको छ। त्यसैगरी श्रद्धालु भक्तजनहरुलाई पूजाआजामा सहज बनाउन टेन्टको पनि व्यवस्था गरिँदैछ। पूजाका लागि पोखरीमा पूलको समेत व्यवस्था गर्न लागिएको पनि समितिका सदस्य दासले बताए। स्थानीय र दाताहरुको सहयोगमा निर्माण गर्न लागिएको छठ घाटको तयारीको कामलाई स्थानीयको अगुवाईमा तीव्रता दिइएको छ। बेलुकासम्ममा सबै काम सम्पन्न गरिसक्ने समितिको योजना छ।
समितिले भक्तजनहरुलाई पुजाआजाका लागि सहज बनाउन प्रहरी, स्काउट र स्वयम्सेवकहरु परिचालन गर्ने पनि जनाएको छ। विगतमा भन्दा २० प्रतिशत बढि भक्तजनहरु सहभागी हुने अनुमान गर्दै समितिले त्यसका लागि पनि आवश्यक व्यवस्था मिलाइएको पनि जानकारी दिएको छ।
त्यसैगरी काठमाडौंको कमल पोखरी, गहना पोखरी, थापाथलीलगायतका स्थानमा पनि छठ पर्व मनाउने गरिन्छ। विशेषगरी नेपालको तराई क्षेत्रमा धुमधामका साथ मनाईने यो पर्व राजधानी काठमाडौं र देशका मुख्यमुख्य सहरमा पनि धुमधामका साथ मनाउन सुरु गरिएको छ। यसै अवसर पारेर मंगलबार सरकारले सार्वजनिक विदाको समेत घोषणा गरेको छ।
प्रतिक्रिया