किमलाई स्वस्थ देख्दा ट्रम्प प्रशन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २१, २०७७
|
|
२६ पटक हेरिएको
Shares
किमलाई स्वस्थ देख्दा ट्रम्प प्रशन्न

सारांश

  • उत्तर कोरियाका नेता किम जोङ–उन सार्वजनिक हुँदा र त्यसमाथि पनि स्वास्थ रहेको थाहा पाउँदा आफू ‘प्रशन्न’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
  • उत्तर कोरियाका नेता किम २० दिनपछि शनिबार सार्वजनिक कार्यक्रममा देखिएका थिए ।
  • लुप्त रहँदा उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्ने भन्दै विभिन्न खबर आएका थिए ।

उत्तर कोरियाका नेता किम जोङ–उन सार्वजनिक हुँदा र त्यसमाथि पनि स्वास्थ रहेको थाहा पाउँदा आफू ‘प्रशन्न’ भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । उत्तर कोरियाका नेता किम २० दिनपछि शनिबार सार्वजनिक कार्यक्रममा देखिएका थिए । लुप्त रहँदा उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्ने भन्दै विभिन्न खबर आएका थिए । तर ती सबै खबरलाई झुट साबित गर्दै नेता किम शनिबार सार्वजनिक भएका थिए ।

ट्रम्पले ट्वीटमा लेखेका छन्, ‘उनी आएको देख्दा म प्रशन्न छु र स्वस्थ रहेको थाहा पाउँदा पनि ।’ समाचार संस्था केसिएनएका अनुसार नेता किमले रसायनिक मल उत्पादन गर्ने उद्योगको शनिबार उद्घाटन गरेका हुन् । नेता किम उपस्थित हुँदा उद्योगका मानिसहरु अति उत्साहित भएको केसिएनएले उल्लेख गरेको थियो ।

कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसिएनए) का अनुसार उत्तर कोरियाका शीर्ष नेताहरुसँग बहिनी किम यो जोङसँगै नेता किम पनि उद्योग उद्घाटनमा उपस्थित भएका हुन् । प्योङ्गको उत्तरमा रहेको उद्योगको उनले उद्घाटन गरेको केसिएनएले उल्लेख गरेको छ ।

नेता किम अप्रिल १२ यता पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित हुन् । त्यसयता नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको थियो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको तस्बिर पनि सार्वजनिक गरेको थियो ।

नेता किम सार्वजनिक कार्यक्रममा उपस्थित भएको भन्ने खबरबारे पत्रकारले शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिक्रिया मागेका थिए । ट्रम्पले सो विषयमा टिप्पणी गर्न नचाहने बताए । राष्ट्रपति ट्रम्पले गएको सोमबार किमको अवस्थाबारे आफूलाई स्पष्ट जानकारी रहेको तर त्यसबारे नबताउने भनेका थिए ।

नेता किम अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका थिए । नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका थिएनन् ।

त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आएका थिए । कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका थिए ।

दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो । पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन्। उनी तेस्रो पुस्ताका शासक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?