‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २९, २०७७
|
|
४० पटक हेरिएको
Shares
‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको बिर्सन मिल्दैन( ईश्वर पोखरेल, उपप्रधानमन्त्री)

सारांश

  • उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कसैको कर्मी कमजोरी देख्देवित्तिकै राजीनामा माग्नु सही नभएको तर्क गरेका छन् ।
  • उनले चुनावमा केपी शर्मा ओली अबको प्रधानमन्त्री भनेर भोट मागिएको स्मरण समेत गराए ।
  • उनले नेपालको राजनीतिमा भारत या चीन जस्ले हस्तक्षेप गरेपनि चुप नलाग्ने बताए ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कसैको कर्मी कमजोरी देख्देवित्तिकै राजीनामा माग्नु सही नभएको तर्क गरेका छन् । उनले चुनावमा केपी शर्मा ओली अबको प्रधानमन्त्री भनेर भोट मागिएको स्मरण समेत गराए । उनले नेपालको राजनीतिमा भारत या चीन जस्ले हस्तक्षेप गरेपनि चुप नलाग्ने बताए । यीनै सेरोफेरोमा उपप्रधानमन्त्री पोखरेलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः

अहिले सबैको ध्यान प्रधानमन्त्री केपी शर्मा ओलीतिर छ, उहाँको कार्यकालमा जनताले के पाए, कोभिड नियन्त्रणमा कति सफल हुनुभयो ?
सबैभन्दा पहिला केपी शर्मा ओली प्रधानमन्त्री भएपछि सरकार परिवर्तन भएको थिएन, प्रणालीमा परिवर्तन भएको थियो । त्योसँग मिल्ने हिसाबले यसको आधार कार्य गर्नुपर्ने जरुरी थियो । त्यसमा मुलतः तीनवटा विषय थिए । परिवर्तित प्रणाली अनुरुप कानुनहरुलाई संगतिपूर्ण बनाउनुपर्ने थियो । संरचनाहरु बनाउनुपर्ने जरुरी थियो । र, त्यस अनुरुप नीति बनाउनुपर्ने थियो । त्यो आधार कार्य पहिलो काम हो । दोस्रो वर्ष त्यसमा उभिएर कामहरुको प्रारम्भ गरियो । र, तेस्रो वर्ष त्यो प्रारम्भ गरिएका कामहरुको प्रतिफल प्राप्त गर्ने हिसाबले अगाडि बढ्दै थियौं । त्यही बीचमा कोभिड संक्रमणको एउटा डरलाग्दो स्थिति आइलाग्यो । त्योसँग जुध्ने काम गर्दैछौं ।
नेकपाका शीर्ष नेताहरुले त प्रधानमन्त्रीले भनेजस्तो काम गर्न सक्नुभएन त्यसकारण उहाँले दुवै पद छोड्नुपर्छ भन्नुभएको छ, तपाईं के भन्नुहुन्छ ?
यसमा पद छोड्ने नछोड्ने भन्ने कुरा विधि, पद्धति र संगतिपूर्ण रुपमा आउनुपर्छ । कसैलाई त्यस्तो लाग्यो । अहिले हामी बैठकमा छलफल गरिरहेका छौं । त्यो छलफलमा सबै नेताहरुले त्यस्तो भन्नुभयो भन्ने त होइन । तर, केही नेताहरु भन्नु पनि भएको छ । केपी ओली नेकपा संसदीय दलको नेता भएर त्यसको नाताले प्रधानमन्त्री बन्नुभएको हो । अर्को आम निर्वाचनमा पनि पूर्व मेचीदेखि पश्चिमसम्म अबको प्रधानमन्त्री केपी ओली भनेर ब्यानर अगाडि सारेका हौं । अरु पनि नेताहरु हुनुहुन्थ्यो । उहाँहरु पनि चुनाव लड्नुभएको हो । शीर्ष नेताहरु पनि हुनुहुृन्छ । तर, एउटा तथ्य र वास्तविकता के हो भने ‘केपी ओली अबको प्रधानमन्त्री’ भनेर जनतासँग भोट मागिएको हो । यो बिर्सन मिल्दैन । दोस्रो उहाँ संसदीय दलको नेता भएर प्रधानमन्त्री हुनुभएको हो । तेस्रो उहाँ प्रधानमन्त्री भएपछि के के काम भए भनेर मैले अगाडि बताइसकेको छु । यी आधारमा प्रधानमन्त्री बन्नुभएको व्यक्तिलाई अहिले छोड भन्नुमा के लजिक, के आधार त्यसैले यो एउटा आधार पुष्टि नभएको, औचित्यहिन र नैतिक हिसाबले पनि भन्न नसकिने कुरा हो ।
देशमा संकट भएको बेलामा सबैलाई मिलाउन, पार्टीलाई एक बनाउन र जनताको काममा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुभएन नि ?
जनतालाई के भइरहेको भन्ने कुरा त मलाई, तपाईं वा केही के लाग्यो भन्ने कुरा बाहिरै छन् । कोही नेताले यस्तो छ भनेर अतिरिक्त ढंगले बढाइ चढाइ गरेर पनि बढ्ने होइन । कसैलाई चित्त बुझेन भनेर खुम्च्याएर खुम्चिने पनि होइन । हामीले गरेका काम कुरा सबै बाहिरै छन् । अर्को नेताहरुलाई सबै मिलाउने भन्ने कुरा जहाँसम्म छ । हामी के कुरामा मिल्ने भन्दा हाम्रो उद्देश्य, कजबाट निर्देशित हुनुप¥यो । हामी कुन उद्देश्य, लक्ष्यबाट निर्देशित छौं ? त्यसबाट मिल्ने हो । अब ती कुराबाट हामी बिमुख छौ कि छैनौं ? आज गर्नुपर्ने काममा केन्द्रित छौं कि छैनौं । त्यसैले प्रधानमन्त्रीलगायत हामी सबै नेताहरुले उद्देश्यमा केन्द्रित रहेर के गर्छौ भनेका थियौं, त्यसलाई परिभाषित गर्नुपर्छ । त्योभन्दा फरक ढंगले नालीबेली गर्न थाल्यौं भने त्यसले बिग्रह पैदा गराउँछ ।
माधवकुमार नेपाल र प्रचण्डले त प्रधानमन्त्री एकलकाटे हुनुभयो । कुनै नियुक्ति, सरुवा, बढुवा, मन्त्रिमण्ड विस्तारदेखि कुनै काममा छलफल गर्नुभएन एक्लै गर्नुभयो भन्नुभएको छ नि ?
नेकपा केन्द्रीय कमिटिको बैठक २०६७ माघ १४ देखि १९ गतेसम्म भयो । साढेचार सदस्य रहेको केन्द्रीय कमिटि बैठक ४, ५ दिनसम्म लगातार बैठक ग¥यौं । त्यो बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल हुनुहुन्थ्यो । त्यो प्रतिवेदन उहाँले तयार गरेर प्रस्तुत गर्नुभएको हो । त्यो प्रतिवेदन हल सर्वसम्मत पारित गरेको थियो । त्यसमा नेकपाको सरकार बनेपछि के के काम भए भनेर उल्लेख गरिएको छ । सातवटा महत्वपूर्ण कामहरु उल्लेख भएका छन् । आउँदा दिन यो सरकारले यी काम गर्ने भनेर नीतिगत निर्णय गरेको छ । त्यसयता जम्मा ६ महिना बित्दै छ । केन्द्रीय कमिटि बैठक भनेको सचिवालय र स्थायी कमिटिभन्दा पनि माथि हो । महाधिवेशन नभएको बेलामा सर्वोच्च निकाय भनेको केन्द्रीय कमिटि हो । अनि ६ महिना अगाडि पार्टीको केन्द्रीय कमिटिले गरेको नीतिनिर्देशन काम भइरहेको छ भने यो बीचमा केपी ओलीले के त्यस्तो उत्पात र गम्भीर अपराध गर्नुभयो ? र, प्रधानमन्त्री पदबाटै हट्नुपर्ने भयो ? त्यसैले यो भनाइ संगतिपूर्ण होइन ।
माधवकुमार नेपालले त केपी शर्मा ओली भनेको दम्भ र अहंकारी हुन्, आपूmले जे गरेपनि ठि हुने अरुका कुरालाई माइनसन गर्ने भन्नुभएको छ नि ?
यसमा कतिपय व्यक्तिका आफ्ना आफ्ना शैलीगत कुराहरु हुन्छन् । शैलीमा ४, ५ वटा कुराहरुलाई ख्याल गर्नुपर्छ । त्यो जे बोलिन्छ विचारलाई व्यवहारसँग मिलाउने शैली, सिद्धान्त र विचार व्यवहारमा मिलाउने । तथ्यहरुबाट सत्यको खोजी गर्ने । कुनै आग्रहको आधारमा सत्यहरुको ऐलान गर्ने होइन । तथ्यहरुको आधारमा सत्यको खोजी गर्नुभनेको शैलीको कुरा हो । तेस्रो आफ्ना गल्ती कमजोरी छन् भने आत्मालोचित हुने हो । चौथो आमजनता र कार्यकर्तासँग एकाकार हुने । हामी कम्युनिस्ट पार्टीका मान्छेले प्रधानमन्त्रीदेखि नेता, कार्यकर्तासम्म कम्युनिस्ट शैलीमा विचारलाई व्यवहारमा मिलाउने हो । यो चिज प्रधानमन्त्री केपी ओली, माधव नेपाल, झलनाथ खनाललगायत हामी सबैले गर्नुपर्छ । यदि त्यसमा कमीकमजोरी छन् भने सच्याउनुपर्छ । यति ठूलो कम्युनिस्ट पार्टीभित्र विविध अनुभव, अध्ययन, त्याग, विशिष्टता भएका नेताहरु हुनुहुन्छ । सबैमा आफ्ना आफ्ना शैलीहरु छन् । ती आन्दोलनलाई हानी पु¥याउने खालका छन् भने ती आलोचनाका विषय हुन् । जहाँसम्म आन्तरिक मतभिन्नता छन् त्यसलाई एकआपसमा छलफल गरेर टुंग्याने हो । अब त्यसलाई सत्रुबद्ध ढंगले जाइलागेर समाधान हुँदैन । कुनै पनि नेताहरुका केही कमजोरी छन् भने त्यसलाई मित्रबद्ध ढंगले कुराकानी गर्नुपर्छ । तर, कसैको कमजोरी देखिनेबित्तिकै तिमी यो पद छोड भन्ने राम्रो होइन ।
प्रधानमन्त्री विरुद्ध त स्थायी समिति, केन्द्रीय समिति सचिवालय सबैतिर बहुमत छ नि ?
हाम्रो पार्टी कमिटिमा त्यो केन्द्रीय कमिटि, स्थायी कमिटि वा सचिवालयमा होस् । कुनै मतामतको स्थिति भएको छैन । विभिन्न विषयमा बहस, छलफलहरु भएका छन् । त्यसमा आफ्ना आफ्नो मान्यताहरु प्रस्तुत भएका छन् । कसको कति के भनेर तपाईंंहरु जनतामाझ भ्रम सिर्जना गर्दैहुनुहुन्छ, त्यो भ्रम विलकुलै छैन ।
अहिलेसम्म स्थायी कमिटि, केन्द्रीय कमिटि र सचिवालयमा प्रधानमन्त्री बहुमतमा हुनुहुन्छ जनतालाई आश्वस्त पार्नुहोस् न ?
म जनतालाई आवश्त पार्दैछु तपाईंले जोड दिनै पर्दैन । केपी ओली संसदीय दलको सर्वसम्मतिको नेता भएर प्रधानमन्त्री बन्नुभएको छ । उहाँ संसदीय दलको नेता भएकोमा औपचारिक, वैधानिक ढंगले कही कतै च्यालेन्ज छैन । यसको अर्थ के हो ? कुराहरु उठेका होलान् ।
केपी ओलीले दुवै पद छोड्नुपर्छ भनेर प्रचण्डले बारम्बार भन्नुभएको छ नि ?
तपाईंसँगको अन्तर्वार्तामा के भन्नुभयो त्यो हेरौं । तर, केपी ओलीले पदबाट राजीनामा दिनुपर्छ, प्रधानमन्त्री र पार्टी अध्यक्ष छोड्नुपर्छ भनेर कसैले पनि औपचारिक प्रस्तावको रुपमा ल्याउनुभएको छैन । कुराकानी गर्ने सिलसिलामा कुराहरु उठेको हुन सक्छ । यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर । त्यो औचित्यपूर्ण, विधिसम्मत र नैतिक धरातल सुहाउँदा हुनुपर्छ । हो, हाम्रो पार्टी ठूलो छ । विभिन्न पृष्ठभूमि, अध्ययन, अनुभव बटुलेका नेताहरु हुनुहुन्छ । त्यसकारण विचार, बहस, छलफल गर्ने आफ्ना शैलीहरु हुन्छ । यसमा एउटा भनाइ पनि छ, ‘ठूला घरको ठूलै चाला’ भन्ने । त्यसैले फुटेका, जुटेका, जितेका हारेका सबै अनुभव बटुलेका नेताहरु गैरजिम्मेवार कुरा बोल्नुहुन्छ भन्ने म पत्याउँदिन ।
स्थायी कमिटि बैठकमा सबै नेताहरुले खुलमखुला रुपमा प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनुपर्छ भनेका छन् नि ?
यसमा आँखामा आँखा जुधाएर जे भएको हो त्यही भन्न चाहन्छु । हो साथीहरु छलफल गर्ने सिलसिलामा कुराहरु आदि, इत्यादि, गम्भीर खालका त्रुटी भयो भने एउटा जिम्मेवार व्यक्तिले जिम्मेवारी लिनुपर्छ भन्ने कोणबाट कुरा आएका हुन् । ठूलो पार्टी भएकाले केही कुराहरु आक्रोशपूर्ण ढंगले पनि आएको होला । केही आग्रह, पूर्वाह ढंगले होला केही गलत कुरालाई संकेत गर्न पनि खोजिएको होला । तर, यही आधारमा केपी ओली प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हट्ने भन्ने होइन । फेरि केपी ओली कसरी अध्यक्ष हुनुभयो भन्ने पनि कारण छ । दुई पार्टी एक भएपछि पूर्व एमालेका अध्यक्ष अध्यक्ष केपी ओली, पूर्व माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैलाई मिलाएपछि मर्यादा क्रममा पहिलो अध्यक्ष केपी ओली दोस्रो पुष्पकमल दाहाल प्रचण्ड बनाइयो । फेरि अहिले आएर कार्यकारी अध्यक्ष भनेर गाँसिएको छ ।
प्रचण्ड कार्यकारी अध्यक्ष भनेर गत मंसिर ४ मा सम्झौता भएको होइन ?
तपाईंले यसमा अतिरिक्त मेहनत नै गर्नुपर्दैन म भनिहाल्छु नि । नेकपा एक भएदेखि अहिलेसम्म कुनै एउटा अध्यक्ष कार्यकारी अर्को शेरेमुनिअल भनेर कतै लेखेको छ ? दुईवटै अध्यक्ष कार्यकारी हुन् । जहाँसम्म मंसिर ४ को कुरा छ । त्यसमा २०७५ जेठ २ गतेको जुन सहमति थियो । त्यो सहमतिमा अगाडि बढ्नका लागि केही अस्पष्टता नरहोस् भन्नका लागि दुवै अध्यक्ष त्यसमा केपी ओली एक नम्बर, प्रचण्ड दुई नम्बर । मंसिर ४ कुरा भन्दैछु मैले । त्यसपछि एउटा अध्यक्ष मुलतः सरकारको कामलाई नेतृत्व गर्ने र अर्को अध्यक्षले कार्यकारीको हैसियतले पार्टीको कामलाई अगाडि बढाउने । २०६७ मंसिर ४ को कुरा भनेको २०७५ साल जेठ २ गतेको थप ब्याख्या हो । किन भने दुई अध्यक्षमध्ये एउटा कार्यकारी र अर्को सेरेमुनिअल भनेर कहिल्यै भनेको पनि छैन, सोचेको पनि छैन । त्यो हुँदा पनि होइन । दुवै अध्यक्ष कार्यकारी हुन् ।
तपाईंहरुले बालुवाटारमा बसेर कार्य दल बनाएर केपी ओलीलाई सेरेमोनियल अध्यक्ष बनाउने भनेको होइन ?
त्यो कार्यदलका कुरा केही पनि होइन । हामीहरु दुवै अध्यक्षसहित अन्य साथीसँग बसेका थियौं । त्यहाँ छलफलहरु भए, हामीहरुले दुई अध्यक्ष आफूलाई लागेका कुराहरुको सुझावहरु दियौं । किन भने केटाकेटी ख्यालठट्टा गरेर पार्टी एकता भएको होइन । यो राष्ट्रको आवश्यकता, जनता र कार्यकर्ताको चाहना थियो र एकता भयो । अब त्यो एकताको प्रक्रियामा ध्यान नपुगेको भए हिजो ध्यान नपुगेका कुरामा हेक्का राख्नुपर्छ ।
अब स्थायी समिति बैठक केपी ओलीलाई दुवै पदमा यथावत राखेर अगाडि बढाउने सम्भावना छ ?
यसमा केपी ओलीले पटक–पटक नेताहरुकै बीचमा भन्नुभएको छ, ‘प्रधानमन्त्री बन्नको लागि अर्को आम निर्वाचन पर्खनुहोस्, पार्टी अध्यक्ष बन्नको लागि महाधिवेशन पर्खनुहोस्’ । अब यसबीचमा भएका कमीकमजोरी छन् भने आपसमा बसेर छलफल गरेर कहाँनेर सच्याउने हो त्यतातिर लाग्नुपर्छ ।
त्यसोभए अहिले प्रधानमन्त्रीको राजीनामा आउँदैन ?
कुनै पनि चिज सहरमा, लहडमा, आक्रोशमा, बदलामा हुनुहुँदैन । त्यो भनेको केपी ओली एउटा विधि र प्रक्रियाबाट प्रधानमन्त्री हुनुभयो । अर्को पार्टी अध्यक्ष दुईवटा पार्टी मिलेर दुवैलाई अध्यक्ष राख्दा हुनुभयो । अनि यो चिजलाई बिर्सेर योबाट हट् ऊबाट हट भनेर हामी कसैले भन्छौं भने त्यो कस्तो सुनिन्छ ? त्यसले पार्टी, देश र आन्दोलनको हित गर्छ ? केपी ओली प्रधानमन्त्री भएकाले प्रचण्डसहित बसेर राष्ट्रियताको बारेमा सबैदलसँग एक स्वर बनाएर राष्ट्रिय पोजिसन बनाउन सफल हुनुभयो ।
माधव नेपाल र झलनाथ खनालले हामीले कुरा नउठाएका भए नीति कार्यक्रममा आउने थिएन हाम्रो कारणले राखेको भन्नुभएको छ नि ?
यसमा धेरै भन्न चाहन्न । उहाँहरुको योगदान, उहाँहरुले खेलेको भूमिका सबैको सामुन्नेमा छन् । भोलि थाहा नपाउने पनि पाइहाल्छन् । त्यो हाम्रो सचिवालयको बैठक नीति कार्यक्रमको लागि थियो । नीति कार्यक्रम भनेको सरकारको नीति कार्यक्रम हो । राष्ट्रपतिले पढेर सुनाउनुभन्दा अगाडि प्रधानमन्त्रीले नीति कार्यक्रममा यो यो चिज आउँछन् भनेर भन्नुभयो । त्यही सिलसिलामा नक्साको कुरा पनि उल्लेख गर्नुपर्छ भन्नुभयो । त्यसपछि सर्वसम्मतिले पारित भयो त्योभन्दा पहिला नीति कार्यक्रम टुंगिसकेको पनि थिएन । त्यसपछि साझा सहमति भयो र सर्वसम्मतिले पारित भएको हो । अब त्यो चिजलाई कसैले मैले उठाएको भनेर व्यक्तव्य दिनुपर्ने जरुरतै थिएन । अर्को कोही नेताले मैले उठाउन लागेको थिएँ पहिला भन्नुपर्ने केही जरुरतै छैन । यस्ता कुराले हामी नेताहरुको हैसियतलाई देखाउँछ । अनि केपी ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री भएपछि जो अगुवा छ उसलाई सम्झने कुरा आउँछ । हामी बोल्न लाग्दैथियौं उसलाई जस गयो भन्ने कोणबाट कुरा आउँछ भने त्यसले राम्रो सन्देश जाँदैन ।
प्रधानमन्त्री केपी ओलीलाई एक भएर समर्थन दिनेगरी निस्कन सक्नुहुन्छ ?
त्यो नै हुन्छ ।
दुवै पद राख्ने गरी ?
त्यही हुन्छ । अर्कोतिर गएर बिग्रहको बाटो हिड्न हामी तयार हुन्छौं ?
तर, प्रचण्डले त केपी ओलीलाई एक पद छोडाउछु भन्नुभएको छ नि ?
प्रचण्ड कमरेडको कुरा के हो भन्ने म त प्रत्यक्ष बसेर बुझिरहेको छु नि ।
यसबारेमा तपाईं प्रचण्डसँग कुरा गर्नुभएको छ ?
किन गरेको छैन ? हेर्दै जाऔं न अहिले धेरै कुरा किन गर्नु । जुन जे कुरा आउँछ त्यही दिन त्यो प्रष्ट बोलौला नि । तपाईंं अभैm पनि म प्रष्ट रुपमा भन्छु, केपी ओली प्रधानमन्त्री पनि रहनुहुन्छ, पार्टी अध्यक्ष पनि रहनुहुन्छ ।
उहाँले दुईमध्ये एक पद छोड्नुभएन भने प्रचण्ड र माधव नेपालले पार्टी फुटाए भने नि ?
पार्टी फुटाएर दुर्भाग्य निम्त्याउने काम हामीमध्ये कसैले पनि गर्दैनौं ।
त्यसोभए स्थायी समितिबाट निस्किँदा सग्लो भएर निस्कनुहुन्छ ?
बिलकुल सग्लो भएर निस्कन्छौं ।
नेकपा एकीकृत छ भनेर कसैले विश्वास गर्दैन नि ?
पार्टीभित्र बहस चल्यो । बहस हुँदा केही छचल्कियो । कतिपय कुरा बाहिर आउँदा नभएका रंगरोगन लागेर आउँछन् । त्यसलाई कतिलाई दुःखी तुल्याएको छ । कतिलाई मनोरञ्जन भएको छ । कतिलाई खुच्यौं भइराखेको छ । हाम्रो बहस, छलफल केही अस्वस्थ र अमैत्रीपूर्ण जस्तो देखिएको छ । काम गर्दा ढंग, विचार नपु¥याएको कुरामा आलोचना हुन्छ त्यो त स्वाभाविक हो ।
स्थायी समिति प्रचण्ड र माधव नेपालको गठन बन्दन बलियो छ नि ?
त्यो गठबन्दन होइन । केही निश्चित विषयमा केही नेताहरु सँगै बस्न सक्नुहुन्छ । त्यसैले सम्बन्धहरु पुनर्गठित हुन्छन् । बनेका बिग्रन्छन्, बिग्रेकासँग बन्छन् । अहिले कतिपय विषयमा प्रचण्ड, माधव, झलनाथ कमरेडहरु बसेर छलफल गर्नुभएको होला । त्यसले के फरक पार्छ ।
नेपालको राजनीतिमा कहिले भारतले कहिले चीनले खेलिरहेको हुन्छ अहिले चीनको चाहनाअनुसार नेकपा लागेको छ नि ?
हामी नेपाली हौं । हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी हो । हामी हाम्रो सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वाधिनताको पक्षमा छौं । हामी जति भारतलाई एउटा असल छिमेकीको रुपमा हेर्छौ त्यसरी नै चीनलाई पनि हेर्छौं । हाम्रो आन्तरिक मामलामा कसैले हस्तक्षेप गरेको रुचाउँदैनौं । ंराष्ट्रिय एकतामा खलल पुर्याउने गरी भारतले चाहे पनि रुचाउँदैनौं र चीनले चाह्यो भने पनि रुचाउँदैनौं । चीनले होस् या भारतले हस्तक्षेप गर्दछन् भने हामी रुचाउँदैनौं ।
चिनियाँ राजदूतले राष्ट्रपतिदेखि नेकपाका नेताहरुको घरघरमा गएर कोपी ओलीलाई सहयोग गर्न सुझाउनुभयो नि ?
उहाँहरुलाई मात्रै होइन मलाई पनि भेट्नुभएको छ । त्यो भेटमा चिनियाँ राजदूतले स्पष्ट भन्नुभएको छ, ‘तपाईंहरुको आन्तरिक मामला तपाईंहरुले नै मिलाउने हो, हामी हस्तक्षेप गर्न चाहन्नौं खाली नेपालमा राजनीतिक स्थिरता चाहन्छौं’ भनेर ।

(https://www.madisonavenuemalls.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेरी मात्तियो ध्रुवे
फेरी मात्तियो ध्रुवे
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
बंगलादेशमा १ दिनका लागि भोलि ४० मेगावाट विद्युत् निर्यात हुने
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि
चुरोट र मदिरामा मात्र होइन, पेट्रोलियम, खाद्यपदार्थ तथा सिमेन्ट र रडको पनि मूल्यवृद्धि
सबै नागरिकले चैतसम्ममा खोप पाउने सरकारको दावी
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
ठग्स अफ हिन्दुस्तानको सुटिङमा बिषालु सर्प आउँदा हुन्थ्यो भागाभाग
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
विवाह पञ्चमी पर्व देशभर मनाइँदै
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम
निर्मला पन्तको सम्झनामा ‘चिल्ड्रेन पार्क’
निर्मला पन्तको सम्झनामा ‘चिल्ड्रेन पार्क’
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
सभापति देउवाले भने : कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री
प्रचण्ड-ओलीको गोप्य बैठक सकियोः गरे यस्तो सहमति, यी हुन् मुख्यमन्त्री