के छन् त प्रधानन्यायाधीश राउतका चुनौती ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २१, २०८१
|
|
३५ पटक हेरिएको
Shares
के छन् त प्रधानन्यायाधीश राउतका चुनौती ?

सारांश

  • काठमाडौं ।
  • सर्वाेच्च अदालत बार एसोसिएसनको अध्यक्ष हुँदा न्यायालयमा विकृति मौलाएको छ भनेर औंला ठड्याउने प्रकाशमानसिंह राउतले त्यही न्यायालय प्रमुखको शपथ लिएर सर्वोच्च अदालत प्रवेश गरेका छन् ।
  • बारको अध्यक्ष हुँदा उनले देखेको न्यायालयको विकृति नियन्त्रणमा पहिलो चुनौती देखिएको छ ।

काठमाडौं । सर्वाेच्च अदालत बार एसोसिएसनको अध्यक्ष हुँदा न्यायालयमा विकृति मौलाएको छ भनेर औंला ठड्याउने प्रकाशमानसिंह राउतले त्यही न्यायालय प्रमुखको शपथ लिएर सर्वोच्च अदालत प्रवेश गरेका छन् । बारको अध्यक्ष हुँदा उनले देखेको न्यायालयको विकृति नियन्त्रणमा पहिलो चुनौती देखिएको छ ।

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहणपछि पदभार ग्रहण गरेलगत्तै न्यायालय अब लयमा फर्किने बताए । उनले यसअघि संसदीय सुनुवाइ समितिमा पनि बिचौलिया र अदालतभित्र हुने भ्रष्टाचारमा सूक्ष्म निगरानी संयन्त्र निर्माणदेखि भ्रष्टाचार नियन्त्रणका लागि अलग्गै संयन्त्र बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । त्यसो त यसअघिको न्यायालयभित्र हुने विकृति र विसंगति नियन्त्रणका लागि गठित समितिको सदस्यसमेत भएकाले अब उनको काँधमा न्यायालय सुधार गर्नुपर्ने चुनौती देखिएको छ ।

कानुन व्यवसायीको पृष्ठभूमिबाट सर्वोच्च अदालतमा नियुक्त भएका उनी १६ चैत २०८२ सम्म प्रधानन्यायाधीश हुनेछन् । राउत १७ साउन २०७३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन् । सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्ष भइसकेका उनी वरिष्ठ अधिवक्ता हुँदा सर्वोच्च अदालतमा नियुक्त भएका थिए । सर्वोच्च अदालतमा न्यायाधीशका रूपमा काम गरेको ८ वर्षपछि उनले न्यायपालिकाको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

१७ साउन २०७३ मा न्यायाधीश बनेका उनी छोटो समयमै न्यायालयको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् । २०७३ सालमा हालकै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार थियो । सोही समयमा त्यतिबेलाका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ सम्मिलित न्यायपरिषद् बैठकले राजनीतिक भागबन्डाका आधारमा ११ जना न्यायाधीशको नाम सिफारिस गरेको थियो ।

२०७२ फागुनमा न्यायपरिषद् बैठकले ११ जना न्यायाधीशको नाम सिफारिस गर्दा राउतलाई त्यतिबेलै प्रधानन्यायाधीशको वरीयताक्रममा राखिएको थियो । कानुनमा स्नातक गरेका राउत कानुन व्यवसायमा हुँदा देवानी, फौजदारी एवं संवैधानिक मामिलामा रुचि राख्ने एवं विभिन्न सार्वजनिक र निजी संस्थाहरूमा कानुनी सल्लाहकारका रूपमा संलग्न भइसकेका छन् ।

गत ३१ भदौमा संवैधानिक परिषद्को बैठकले सर्वोच्चको वरिष्ठतम् न्यायाधीश रहेका राउतको नाम प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । संवैधानिक परिषद्ले सिफारिस गरेको नाममा संसदीय सुनुवाइ समितिले राउतका विषयमा १० दिनको समय दिएर उजुरी आह्वान गरेको थियो । राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा परेका सबै उजुरीको भद्र र शालीन तरिकाले जवाफ दिएपछि उनी संसदीय समितिबाट सर्वसम्मतले अनुमोदन भएका थिए ।

विगतमा प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि समय लाग्ने गरेको थियो । यसपटक भने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकाश पाएलगतै उनको उत्तराधिकारीका रूपमा राउतको नाम एक महिनाअघि नै संवैधानिक परिषद्को बैठकले सिफारिस गरेको थियो । ओमप्रकाश मिश्रको अवकाशपछि यसपटक मात्रै निवर्तमान प्रधानन्यायाधीशको अवकाशको भोलिपल्ट नै नवनियुक्त प्रधानन्यायाधीशले कार्यभार सम्हाल्ने अवसर मिलेको हो ।

राउतका पालादेखि अब करिब ११ वर्ष कानुन व्यवसायीको पृष्ठभूमिबाट सोझै सर्वोच्च अदालतमा नियुक्त न्यायाधीशहरू नै न्यायपालिकाको नेतृत्व गर्ने रोलक्रममा छन् । अब उनीपछि निरन्तर रूपमा कानुन व्यवसायीबाट सिधै सर्वाेच्चको न्यायाधीशमा नियुक्त भएका व्यक्तिहरूले कम्तीमा २०९२ सालसम्म न्यायालयको नेतृत्व सम्हाल्नेछन् ।

राउत, सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँल कानुन व्यवसायीको पृष्ठभूमि रहेका न्यायाधीश हुन् । त्यस्तै, नहकुल सुवेदी र नृपध्वज निरौला (संसदीय सुनुवाइबाट अनुमोदन हुन बाँकी) मुख्य रजिस्ट्रारबाट सिधै न्यायाधीशमा नियुक्त भएका हुन् । त्यस्तै, टेकप्रसाद ढुंगाना कानुन मन्त्रालयको सचिवका रूपमा उच्च अदालतमा नियुक्ति पाउँदै सर्वाेच्च आएका हुन् । यसअघि छिटफुट रूपमा कानुन व्यवसायी पृष्ठभूमिबाट नियुक्त भएकाहरूले नेतृत्व पाएका थिए । कानुन व्यवसायी पृष्ठभूमिबाट अनुपराज शर्मा र सुशीला कार्कीले मात्र यसअघि प्रधानन्यायाधीशको जिम्मेवारी पाए ।

के छन् त प्रधानन्यायाधीश राउतका चुनौती ?
राउतले यसअघि न्यायपालिकाका विकृति, विसंगति’bout अध्ययन गर्न सर्वोच्च अदालत बार एसोसिएसनले गठन गरेको समितिमा रहेर काम गरेका थिए । साढे ३ वर्षअघि सर्वोच्च अदालतकै न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायपालिकाका विकृति विसंगति’bout अध्ययन गर्न गठित समितिमा उनी सदस्य थिए । सो समितिले न्यायालयमा विकृति र विसंगति रहेको कुरा औंल्याएको छ ।

प्रतिवेदनले न्यायाधीश स्वयं, कानुन व्यवसायी, सञ्चारकर्मी, राजनीतिकर्मी, एनजीओकर्मी, समाजसेवी बिचौलियाको स्वरूपमा देखिएको प्रतिवेदनको ठहर छ । आफैं सम्मिलित सो प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने चुनौती नवनियुक्त प्रधानन्यायाधीश राउतसमक्ष छ । यसअघिका प्रधानन्यायाधीशले सो प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ कुनै ध्यान दिएनन् । अब भने प्रधानन्यायाधीश राउतले आफैंले बनाएको प्रतिवेदन कसरी कार्यान्वयन गर्छन् ? त्यो भने हेर्न बाँकी नै छ ।

न्याय प्रशासनको दैनिक कामकाजमा संलग्न भएका र जिल्ला तहबाट आएकाले निवर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायसेवाका कर्मचारीलाई विश्वासमा लिएर काम गरेका थिए । राउतमा त्यो पृष्ठभूमि नभएकाले कर्मचारीहरूको कार्यशैली र स्वरूप बुझेर न्यायपालिकाको नेतृत्व गर्ने चुनौती पनि उनका सामु देखापर्नेछ ।

साथै, अहिले सुरु भएको बार–बेन्च द्वन्द्वको चुनौती पनि उनका सामु देखिएको छ । तर, राउत कानुन व्यवसायीको पृष्ठभूमिबाट आएकाले यो घटाउन भने उनले सहज रूपमा भूमिका खेल्न सक्नेछन् । यसअघि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको विषयलाई लिएर बार र बेन्चबीच टसल हुँदै आएको थियो । नेपाल बारले उठाउँदै आएको न्यायपरिषद् नियावली संशोधनका विषयमा उठेको विवाद निरुपण गर्न बारले दबाब दिइरहेको छ । अहिले न्यायालय (बेन्च) र कानुन व्यवसायी (बार)का बीचको सम्बन्धमा चिसोपन देखिएको छ । उनीहरू एक आपसमा प्रतिस्पर्धी देखिएका छन् । सो विषयलाई पनि अहिलेका प्रधानन्यायाधीश राउतले निरुपण गर्नुपर्ने चुनौती बाँकी नै छ ।

त्यस्तै, राउतका लागि अर्को चुनौती भनेको सर्वोच्चमा लामो समयदेखि रिक्त रहेको न्यायाधीश नियुक्तिको विषय रहेको छ । एकातिर सर्वोच्चमा थुप्रिएका २६ हजार मुद्दाको चाङ र अर्कातिर न्यायाधीश नियुक्ति गर्नुपर्ने चुनौती राउतसमक्ष छ । यो प्रमुख एजेन्डा हुनुपर्ने देखिन्छ । ५ देखि १२ वर्षसम्मका मुद्दा अभियान फाँट खडा गरेर सुनुवाइ थाले पनि प्रभावकारी रूपमा फछ्र्योट हुन सकेका छैनन् । राउतको काँधमा यसलाई पनि घटाउनुपर्ने चुनौती छ । त्यसका लागि न्यायाधीश नियुक्ति पहिलो प्राथमिकतामा पर्नुपर्नेछ ।

यसअघि न्यायपरिषद्ले सर्वोच्चमा दुई जना न्यायाधीश नियुक्तिको सिफारिस गरिसकेको भए पनि अब चार जना न्यायाधीशको नाम सिफारिस गर्नुपर्नेछ । त्यसो त न्यायपरिषद् नियमावली संशोधनको विषयलाई लिएर यतिखेर कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन आन्दोलनमा छ । बारलाई मिलाएर तत्काल न्यायाधीश नियुक्त गर्न नसके सर्वोच्चमा मुद्दाको चाङ थुप्रने र भागबन्डाको दौडमा राउतको समय बित्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विधेयकमाथि सङ्घर्ष समितिको विमति
विधेयकमाथि सङ्घर्ष समितिको विमति
नेपालले पायाे एकदिवसीय मान्यता,क्रिकेटमा एेतिहासिक सफलता !
आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपालद्वारा चीन ५० रनले पराजित
आइसिसी महिला टि–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपालद्वारा चीन ५० रनले पराजित
नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधन
नेपाली काँग्रेसका संस्थापक नेता एवं पुर्व मन्त्री रामहरि जोशीको निधन
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
खेलको पहिलो ओभरमै नेपालललाई अर्को सफलताः सोमपालले लिए अर्को विकेट
साउदी अरब जाने कामदारको तलब ३९ हजार
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित
मन्त्रीको नाम टुंगो लगाउन बोलाइएको माओवादी हेडक्वार्टर बैठक स्थगित
एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव छैन्ः नेता नेपाल
एकतन्त्रीय कम्युनिष्ट शासन नेपालमा सम्भव छैन्ः नेता नेपाल
मुख्यमन्त्री पाण्डेले भने : सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ
मुख्यमन्त्री पाण्डेले भने : सम्पदालाई आयआर्जनसँग जोड्नुपर्छ
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?
आफ्नाे पोर्न जीवनबारे छोराछोरीलाई बताउँछिन या बताउँदिनन् सनी ?

तपाईंले छुटाउनुभयो कि?