कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
१७
|
१९ पटक हेरिएको
Shares
कैलालीमा दिनेश भण्डारीको दाबी- विवेकशील साझाले जित्छ, आरजु र नारदमुनिले हार्छन्

सारांश

  • १४ मंसिर, धनगढी ।
  • काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीको जति चर्चा छ, त्यस्तै चर्चा कैलालीको क्षेत्र नम्बर ५ मा पनि रहेछ ।
  • यहाँ विवेकशील साझा पार्टीबाट दिनेश भण्डारीको उम्मेदवारी परेको छ ।

१४ मंसिर, धनगढी । काठमाडौं क्षेत्र नम्बर १ मा विवेकशील साझा पार्टीको जति चर्चा छ, त्यस्तै चर्चा कैलालीको क्षेत्र नम्बर ५ मा पनि रहेछ । यहाँ विवेकशील साझा पार्टीबाट दिनेश भण्डारीको उम्मेदवारी परेको छ । र, उनले कांग्रेस नेतृ आरजू राणाका साथै एमाले नेता नारदमुनि रानासँग प्रतिस्पर्धा गर्दैछन् ।

कैलाली क्षेत्र नम्बर ५ मा धनगढी उपमहानगरपालिकाका सबै वडाहरु समेटिएका छन् । गत स्थानीय चुनावमा नेपाली कांग्रेसले जितेको यस उपमहानगरपालिकामा विवेकशील साझा पार्टीका उम्मदेवार गोपाल हमाल दोस्रो स्थानमा आएका थिए भने एमाले तेस्रो र माओवादी चौथो स्थानमा खुम्चिएका थिए ।

कैलाली ५ मा धनगढी उपमहानरसँगै कैलारी गाउँपालिकाका वडा नम्बर ६ र ९ नम्बर वडाहरु पनि समेटिएका छन् । यीमध्ये वडा नम्बर ६ मा कांग्रेसले जितेको थियो भने ९ मा स्वतन्त्रले जितेको थियो । यहाँ नयाँशक्तिको पनि राम्रो मत आएको थियो ।

स्थानीय चुनावमा धनगढी नगरपालिकामा कांग्रेसका मेयर नृपबहादुर बडले १४ हजार ३२४ मत पाएर जितेका थिए भने दोस्रो स्थानमा आएका विवेकशील साझा पार्टीका हमालले ११ हजार ५२७ मत पाएका थिए । एमालेका रामसमझ रानाले १० हजार २०९ मत पाएका थिए भने माओवादीका मेयर उम्मेदवारले ९ हजार ९४६ र राप्रपाले ८२९ मत पाएका थिए ।

स्थानीय चुनावको मत जोड्दा एमाले र माओवादीको बढी नै देखिए पनि विवेकशील साझा पार्टीका उम्मेदवार दिनेश भण्डारीले संसदीय चुनावमा आरजु राणा र नारदमुनि रानालाई हराउने दाबी गरे ।

भण्डारीले  अन्तरवार्तामा भने- ‘हामी परीक्षण भइसकेका सफल व्यक्ति हौं । उहाँहरु परीक्षण भएका असफल व्यक्तिहरु हुनुहुन्छ । सफल र असफल व्यक्तिहरुबीच कुनै प्रतिस्पर्धा हुन्छजस्तो लाग्दैन ।’

विवेकशील साझाबारे आरजु र नारदमुनिको टिप्पणी

छुट्टाछुट्टै अन्तरवार्ताका क्रममा हामीले आरजू राणा र नारदमुनि रानालाई पनि कैलाली ५ मा विवेकशील साझा पार्टीको अवस्थाबारे सोधेका थियौं ।

कांग्रेस उम्मेदवार आरजु राणाले विवेकशील साझा पार्टीबारे छोटो प्रतिक्रिया दिँदै भनिन्- ‘विवेकशील साझाले कसको भोट काट्छ भन्ने थाहा छैन । तर, उहाँहरुले संविधान पढ्नुभएको भए चुनावमा आउनु नै हुने थिएन । पार्टी दर्ता गर्नै उहाँहरुले हतार गर्नुभएजस्तो लाग्यो ।’
त्यसैगरी भण्डारीका अर्का प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार नारदमुनि रानाले विवेकशील साझाबारे यस्तो प्रतिक्रिया दिए-

‘विवेकशील साझा पार्टीले कांग्रेस र एमाले-माओवादीका केही मत लैजाला । तर, त्यसको खासै असर पर्दैन । स्थानीय तहमा गोपी हमाल लोकपि्रय हुनुभएकाले राम्रो मत ल्याएका थिए । संसदीय राजनीतिमा पार्टी राजनीति प्रधान हो । हमाल विवेकशीलबाट नभई स्वतन्त्र हैसियतमा चुनाव लडेका थिए । अहिले यस क्षेत्रमा विवेकशीलका उम्मेदवार नभइदिएका भए उनलाई खस्ने मत कांग्रेस या वाम गठबन्धनमा आउने निश्चित थियो । उम्मेदवार भएकाले केही मत त ल्याउलान्, दिनेश भण्डारीले । तर, त्यसले खासै असर पार्दैन ।’

कैलाली ५ को अवस्थाबारे हामीले विवेकशील साझा पार्टीका उम्मेदवार एवं व्यवसायी दिनेश भण्डारीसँग विस्तृत कुराकानी गर्‍यौंः

तपाईले कैलाली ५ मा किन उम्मेदवारी दिनुभएको ? पैसा खर्च गर्न कि अरुको भोट काट्न ?

यो क्षेत्रको समृद्धि र विकासका लागि उम्मेदवारी दिएका हौं । भ्रष्टाचार शून्यमा झार्नका लागि हाम्रो उम्मेदवारी हो । हामी एक पैसा पनि खर्च नगरी यो देशको राजनीतिक कोर्ष परिवर्तन गर्न चाहन्छौं । अरु दलले समृद्धि ल्याउलान् जस्तो हामीलाई लागेन । धेरै पटक राज्यव्यवस्था परिवर्तन भयो । तर, जनताको अवस्था कहिल्यै परिवर्तन भएन । मानिसले सन्तानको घाँटी थिच्दै आत्महत्या गर्नुपर्ने अवस्था आयो । छोराछोरीसहित आमाहरु भीरबाट हामफालेर आत्महत्या गरेको पनि हामीले देख्यौं ।

यो क्षेत्रका हामी जिम्मेवार व्यक्ति हौं । लामो समयदेखि यस क्षेत्रमा सामाजिक आन्दोलन गरेका छौं । १२ वर्षदेखि सुदूरपश्चिमका माग सम्बोधन गरिदिनुपर्‍यो भनेर यस क्षेत्रबाट प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवासँग माग गरेका थियौं । १२ वर्षमा पनि खोलो फर्केन ।

प्राकृतिक स्रोत, साधनबाट भरपुर क्षेत्र हुँदाहुँदै पनि मुलुकका अन्य क्षेत्रभन्दा दोब्बर गरिबी छ । १८ घण्टा काम गर्न सक्ने युवाले खाडी देशलाई हरिया बनाइरहेका छन्, हाम्रा डाँडाकाँडा भने उजाड बन्दै गएका छन् । यो अवस्था चिर्नका लागि आएका हौं हामी ।

चुनाव जित्नुहुन्छ त ?

जित्ने सम्भावना प्रबल छ । विकास र समृद्धि सबैलाई चाहिएको छ । हाम्रा पक्षमा युवाको लहर देखिएकाले शतप्रतिशत जित सुनिश्चित छ ।

डा. बाबुराम भट्टराईजस्ता ठूला नेता त नयाँ शक्ति बनाउन सकेका छैनन् तपाईंहरु नयाँ पार्टी खोलेर कसरी सफल हुनुहोला र ?

उहाँहरु व्यक्तिगत अवसरका लागि राजनीति गरिरहनुभएको छ । हामी देशमा समृद्धि चाहन्छौं । अर्को पार्टीले समृद्धिको कोर्ष लिइदिएको भए हाम्रो आवश्यकता थिएन । हामी पूर्णरुपमा व्यवसाय गरेर बसेका मान्छे । म गरिबीबाट हुर्केको मान्छे हुँ ।

हामीजस्तै देशहरुले विगत २५ वर्षमा धेरै ठूलो फड्को मारिसकेका छन् । तिनै देश अहिले हाम्रा युवाको रोजगारीको उत्कृष्ट गन्तव्य भएका छन् । ८/१० वर्षमा देशमा ठूलो फड्को मारेर युवालाई आफ्नै देशमा सिञ्चित गर्न लगाउने हाम्रो योजना छ ।

तपाईंलाई कुन वर्ग को भोट आउला ?

त्यस्तो वर्ग कुनै छैन । समृद्धिका लागि आतुर जनताले हामीलाई भोट दिनेछन् । अब आर्थिक विकासको एजेन्डा मात्र बाँकी छ अब । त्यसका लागि हाम्रा नेताहरुसँग कुनै भिजन छैन । उहाँहरु आन्दोलन गर्न सक्नु हुन्छ । लोकतन्त्र ल्याउनु भएकामा हामी धन्यवाद दिन चाहन्छौं ।

शेरबहादुर देउवाले रेणु दाहाललाई जिताउँछन् र प्रचण्डले रुखमा भोट हाल भन्छन् । यदि त्यसै गर्नु थियो भने किन १७ हजारलाई बलिदान गर्न लगाइयो ? किन टाउकोको मोल तोकिएको थियो ? अब जनता त्यसको औचित्य पुष्टि भएको हेर्न चाहन्छन् ।

चूडामणि शर्माले तीन हजार करोड र गोपाल खड्काले डेढ सय करोड भ्रष्टाचार गरे । तर, गरिबका पक्षमा बोल्ने डा. गोविन्द केसीजस्ता मानिस जिउँदो लास बन्न बाध्य भएका छन् । सुशीला कार्कीजस्ता व्यक्तित्वमाथि महाभियोग लगाइन्छ ।

यो देशले मन्त्रीलाई नै बेरोजगार बनाएको छ । १६ जना एआईजी छन्, तर, ठाउँ-ठाउँमा बम पड्किएको पड्किएकै छ । पैसा हुने नेताहरु हेलिकोप्टर चढेर भोट माग्न आउँछन् । पैसा नहुनेहरु गाडीमा हुइँकिन्छन् ।

०४८ सालमा यस्तै चर्का कुरा गर्थे अहिलेका नेताले । दिनेश भण्डारी पनि त्यस्तै नेता हुन् कि ?

हामीले आफूलाई प्रमाणित गरेर देखाएका छौं । कुनै पनि काम गर्नका लागि इच्छाशक्ति चाहिन्छ । इच्छाशक्ति एट्याचमेन्टबाट आउँछ । तपाईंका छोराछोरी भोकै छन् भने तपाईं १८ घण्टा पनि काम गर्नुहुन्छ । यो इच्छाशक्ति अपनत्वले आउँछ । त्यो अपनत्व हामीसँग छ । किनभने यही नै हाम्रो जन्म, कर्म र अन्तिम सास फेर्ने थलो हो ।

कृषि बजार सूचना प्रणाली हामीले स्थापना गरेका हौं । हाम्रो व्यक्तिगत पहलमा भएको हो त्यो । एक दिनको श्रम विमानस्थललाई भनेर विमानस्थल बनायौं । २/४ जनाको पहलमा विमानस्थल बनाउन सक्छौं भने हामीले पद प्राप्त गर्‍यौं भने के-के गर्न सक्छौं होला ।

राजनीतिक पेशा या लगानी गर्ने ठाउँ होइन । यो त्याग गर्ने ठाउँ हो ।

कुन कुन सेन्टिमेन्टबाट भोट प्राप्त गर्ने ठान्नुभएको छ ?

हाम्रो सेन्टिमेन्ट भनेको विकास र समृद्धि हो । विकास नहुँदा आउने हुन् सेन्टिमेन्टका कुरा ।

के हो यो विकास र समृद्धि भनेको ?

कौडीको भाउमा बिक्री हुन नसकेका प्राकृतिक स्रोत, साधनको परिचालनबाट प्राप्त हुने हो विकास र समृद्धि । पर्यटन विकास पनि त्यसको एउटा माध्यम हो ।

कणर्ाली किनारमा सरकारले जग्गा दियो भने १० वटा सुविधा सम्पन्न रिसोर्ट खोल्न सकिन्छ । र, उत्तरप्रदेशको २२ करोड जनसंख्यालाई आकषिर्त गर्न सकिन्छ । सुदूरपश्चिममा नैनीताल, मसुरीभन्दा राम्रा गन्तव्य छन् । कैलालीमा एक सय ९३ वटा प्राकृतिक तालहरु छन् । तर, हामी अर्बौं रुपैयाँको माछा भारतबाट आयात गर्छौं ।

नेपालमा २० हजार टनभन्दा बढी महको खपत छ । उत्पादन आधा पनि छैन । कैलाली त्यस्तो सम्भावना भएको जिल्ला हो । यसलाई हामी अवसरमा बदल्न सक्छौं । अर्गानिक फार्मिङ गरेर विश्व बजारमा बिक्री गर्न सक्छौं ।

वाम गठबन्धनका एक स्थानीय उम्मेदवारले दुई वर्षमा धनगढीलाई दक्षिण एशियाको व्यापारिक केन्द्र बनाउँछु भन्दै थिए । त्यो हावादारी गफ हो । वाम गठबन्धनको घोषणा पत्रमा पाँच वर्षमा प्रतिव्यक्ति आय पाँच लाख बनाउने उल्लेख छ । जुन देशका पाँच लाख युवा हरेक वर्ष बिदेसिन बाध्य छन्, त्यसवापत लासका बाकस हामी आयात गरिरहेका छौं । यही तरिकाले प्रतिव्यक्ति आय पाँच लाख बनाउने हो ? २५ वर्ष अगाडि उहाँहरुका घोषणा पत्र जे थिए, आज पनि त्यही छन् । वाम गठबन्धन कृषि क्रान्ति, पर्यटन विकास र रोजगारी सिर्जनाका लागि भइदिएको भए हामी सलाम गर्थ्याैं । तर, व्यक्तिलाई चुनाव जिताउने लक्ष्य मात्र छ, त्यस्तो गठबन्धनको ।

तपाईंलेचाहिं किन नगर्नुभएको नि अहिलेसम्म ? तालमा माछा किन नपाल्नुभएको ? अनि कर्णालीमा रिसोर्ट किन नखोलेको ?

मैले गरेको छु । मैले जीर्ण रहेको झपट ताल दिनोस्, म युवालाई रोजगारी दिन्छु भनेको थिएँ, पहिलेका एक मेयरलाई । उहाँले मलाई दिनुभएन । र, निजी ६ बिघा जमिनमा माछापालन गरेर चण्डीगढबाट डुंगा ल्याएर बोटिङ गर्ने सुविधा बनाएको छु । रेस्टुराँ खोलेको छु । फिसिङ गर्न त्यहाँ पाइन्छ । कर्णाली तीरमा रिसोर्ट खोल्न सरकारले लिजमा जग्गा नदिई सम्भव छैन ।

अहिलेसम्म पर्यटन प्याकेज किन बिक्री नगर्नु भएको नि ?

पर्यटन प्याकेज बनाएर दिइरहेका छौं हामीले । सुन्दर सुदूरपश्चिमको नाराका साथ काम गरेका छौं । हामीले आफ्नातर्फबाट गर्न सक्ने कुरा गरेका छौं ।

राजनीतिमा लाग्नुभयो, अब व्यवसाय समाप्त होला नि त ?

हामी आधा समय मात्र राजनीतिलाई दिन्छौं । अहिले चुनावका कारण मात्र शतप्रतिशत समय राजनीतिमा लागेको हो ।

गोपी हमालले मेयरमा धेरै भोट ल्याउनुभएकाले तपाईंहरु हौसिनु भएको हो कि ?

हामी त्यसरी जोसिएर लागेका होइनौं । त्यतिबेला उहाँले चुनाव जित्नुभएको भए धनगढीलाई नेपालकै उत्कृष्ट नगरपालिका बनाउनुहुने थियो । हिजो धनगढी उद्योग वाणिज्य संघलाई एक्सेलेन्स अवार्ड दिलाएका थियौं । विमानस्थल नै बनायौं । निजी क्षेत्रको पहलमा नेपालमा कुनै परियोजना यसरी बनेका छैनन् ।

खुटियादेखि दिपायल जोड्ने ७२ किलोमिटर सडक हाम्रै पहलमा खुलेको हो । अहिले बल्ल शेरबहादुर देउवा त्यस सडकमा आकषिर्त हुनुभएको छ । ०७० सालको चुनावमा उहाँले त्यसलाई एक नम्बर एजेन्डामा राख्नुभएको थियो । त्यसपछि उहाँले कहिल्यै पहल गर्नुभएन । अहिले आरजु राणाले पनि त्यसलाई एक नम्बर एजेन्डामा राख्नुभएको छ । अब त्यो प्रतिबद्धता उहाँका छोराबाट गराउनु नपरोस् भन्ने हामी चाहन्छौं । त्यही भएर हामी आफैं राजनीतिमा लागेका हौं ।

आरजु राणा र नारदमुनि राना तपाईंका कत्तिको बलिया प्रतिस्पर्धी हुन् ?

राज्यशक्तिको दुरुपयोगमा उहाँहरु एकदमै बलियो हुनुहुन्छ । राजनीतिक संगठन जनताको नजरमा ती मान्छे ठीक छन् भन्ने भएपछि मात्र चाहिने हो ।

हामी परीक्षण भइसकेका सफल व्यक्ति हौं । र, उहाँहरु परीक्षण भएका असफल व्यक्तिहरु हुनुहुन्छ । सफल र असफल व्यक्तिहरुबीच कुनै प्रतिस्पर्धा हुन्छजस्तो लाग्दैन हामीलाई । अन्लाईनखबर बाट

प्रतिक्रिया

17 कमेन्ट

    Comment Author

    Mohan Kayasta

    You can dream.

    Comment Author

    Shiva Shrestha

    Sapanama ho bro

    Comment Author

    Suresh Dhami Marmali

    अहीले आएर यो मान्छे ठिक लगन थाल्यो है

    Comment Author

    Keshab Bahadur Chand

    जिते त ठिकै हाे तर अारजु जिताउन लागेपाे अप्ठ्यारो हाे
    नजित्ने भए अन्तिममा अाफ्नाे १-२ हजार भाेट नारदमुनीलाई दिएर अारजु हराउ

    Comment Author

    Narbahadaur Kunwar

    हसाउछ

    Comment Author

    Khadga Khadka

    sapanama hola

    Comment Author

    Amrit Rai

    Hahahahha hasaunu ko pani sima hunchha ni hau!

    Comment Author

    Jban Gurung

    Haha kati hasnu ma ta bhuri phutera marchhu ki malai ni yini thik Lagna thalyo

    Comment Author

    Hari Kharel Nirdosh

    दिउसै सपना न देखे हुन्छ

    Comment Author

    Shiva Bhandari

    थोरै मत ल्याउने ले जित्ने नियम छ र?

    Comment Author

    Madhukar Pandey

    दिउसै सपना देख्ने कस्तो खुस्कत हो

    Comment Author

    Keshav Prashad Poudel

    जसरि पनी आरजु हराउ है !!!

    Comment Author

    Ramesh Wagle

    कस्ता कस्ता कहाँ गए झुसे बारुलाे।

    Comment Author

    Baikuntha Bhandari

    Jamanat jogidaina

    Comment Author

    Hem Tmg

    Haraunu parxa p

    Comment Author

    Rajkumar Dulal

    कच्चा खेल

    Comment Author

    Amar Ghotane

    वाहियत।।।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 17
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?