कोटेश्वर जाम चाँडै स्थायीरुपमै हट्ने
सारांश
- काठमाडौँ, २३ माघ ।
- दैनिकरुपमा कोटेश्वरको जामको सास्ती भोग्नेलाई खुशीको खबर छ अब स्थायीरुपमै उक्त जामको समस्याबाट मुक्ति पाउनेछन् ।
- कोटेश्वरको जाम हटाउनका लागि काठमाडौँ र भक्तपुर जिल्लाको संगमस्थल मनोहरा नदीमा निर्माणाधिन करिडोरमा सुकुम्बासी समस्या, घर जग्गा टहरा लगायतका समस्याको समाधान खोजी समाधान खोज्ने कार्यमा तीव्रता दिइने भएको छ ।
काठमाडौँ, २३ माघ । दैनिकरुपमा कोटेश्वरको जामको सास्ती भोग्नेलाई खुशीको खबर छ अब स्थायीरुपमै उक्त जामको समस्याबाट मुक्ति पाउनेछन् । कोटेश्वरको जाम हटाउनका लागि काठमाडौँ र भक्तपुर जिल्लाको संगमस्थल मनोहरा नदीमा निर्माणाधिन करिडोरमा सुकुम्बासी समस्या, घर जग्गा टहरा लगायतका समस्याको समाधान खोजी समाधान खोज्ने कार्यमा तीव्रता दिइने भएको छ ।
उक्त करिडोर ३० मिटरको नदी, ९ मिटर ग्रीनरी (हरियाली क्षेत्र) तथा ११ मिटरको करिडोर (बाटो) जडिबुटीको मनोहरा पुलदेखि पेप्सीकोलाको पुलसम्मको करिडोर आयोजना आगामी चार महिनाभित्रमा सम्पन्न गराई यातायात सञ्चालनमा ल्याईने भएको छ । उक्त करिडोरमा यातायात सञ्चालन भए पछि कोटेश्वरको जामको स्थायी समस्या समाधान भएसँगै उपत्याकावासीले जामको सास्तीबाट छुटकारा पाउने भएका छन् ।
मनोहरा जग्गा एकिकरण आयोजनामा कालिका – थोदुङ जेभीले एक बर्ष अघि रु ५० करोडको लागतमा दुई वर्ष्भित्रमा सम्पन्न गर्ने गरी उक्त आयोजना ठेक्का लिई काम अघि बढाएको थियो । निर्धारित समयभन्दा अगावै करिडोर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको उक्त निर्माण कम्पनीले करिडोरको करिव ८० प्रतिशत काम सम्पन्न गरेको छ ।
यसको साथै बालकुमारीदेखि मनोहरा करिडोर समेत तत्कालै सञ्चालनमा आउने भएको छ । उक्त स्थानमा काठमाडौँ महानगरपालिका तर्फको निर्माण प्रकृया तिव्र गतिमा अघि बढिरहेको छ भने भक्तपुर तर्फको निर्माण कार्य सम्पन्न भई हाल सञ्चालनमा आइसकेको छ । त्यस्तै मनोहरा नदीमा निर्माण हुने बेलिब्रिज समेत टेण्डरको प्रकृयामा गइसकेका कारण आगामी दिनमा कोटेश्वरको जामबाट उपत्यकावासीले छुटकारा पाउने प्रायः निश्चित भएको छ ।
बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको नेतृत्वमा नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली कांग्रेसका नेता अष्टकुमार कवे, मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सूर्य्विनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठ, शसस्त्र प्रहरी प्रमुख पुरुषोत्तम थापा, आयोजना प्रमुख इन्द्रमान सुवाल, सडक विभाग भक्तपुरका इन्जिनियर कर्ण केसी लगायतको टोलीले त्यहाँको वस्तुस्थिती, कामको प्रगति, उपलब्धी, समस्या लगायतका बारेमा छलफल तथा स्थलगत निरिक्षण पश्चात समस्यालाई समाधान गर्दै करिडोर निर्माण कार्य तिव्र गतिमा अघि बढाउने निर्णयमा पुगेको हो ।
छलफलमा सांसद बस्नेतले उक्त आयोजनामा १५ वटा घर तथा टहराहरुमा रहेको मुख्य समस्यालाई समाधान गर्न आपसी छलफल तथा वार्ताको माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले करिडोर निर्माणमा भएका सबै समस्या समाधान गर्न तथा आवश्यकमात्रामा निर्णय लिन सम्बन्धीत निकाय, जनप्रतिनिधि, नगरपालिका लगायतका सरोकारवाला निकायहरुलाई आग्रह समेत गरे
प्रतिक्रिया