कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ६, २०७६
|
|
३८ पटक हेरिएको
Shares
कोरोना विरुद्ध विश्व व्यापी रणनीतिको खाँचो

सारांश

  • ३१ डिसेम्बर २०१९का दिनदेखी एकाएक चर्चामा आएको र मृत्यु दर न्युनः भए पनि तीब्र संक्रमण दरका कारण हजारौं मानिसको ज्यान माथि धावा बोलिसकेको रोग कोरोना (covid 19) ले विश्व भरि नै आतंक मच्चाएको छ र हाल महामारी घोषित रहेको छ।
  • यसको नियन्त्रणको लागि उद्गम स्थल चाइना देखि युरोप अमेरिका अफ्रिका र एसियाका प्राय सबै मुलुकका सरकारले विभिन्न खालका कार्यक्रम अगाडी सारेका छन।
  • चाइनामा कोरोना प्रकोप सुरु हुँदा रमिते बनिरहेको बाँकि विश्व पछिल्लो समयमा निकै चिन्तित रहेको छ।

३१ डिसेम्बर २०१९का दिनदेखी एकाएक चर्चामा आएको र मृत्यु दर न्युनः भए पनि तीब्र संक्रमण दरका कारण हजारौं मानिसको ज्यान माथि धावा बोलिसकेको रोग कोरोना (covid 19) ले विश्व भरि नै आतंक मच्चाएको छ र हाल महामारी घोषित रहेको छ। यसको नियन्त्रणको लागि उद्गम स्थल चाइना देखि युरोप अमेरिका अफ्रिका र एसियाका प्राय सबै मुलुकका सरकारले विभिन्न खालका कार्यक्रम अगाडी सारेका छन। चाइनामा कोरोना प्रकोप सुरु हुँदा रमिते बनिरहेको बाँकि विश्व पछिल्लो समयमा निकै चिन्तित रहेको छ। चाइनामा नियन्त्रणमा आएको भनिएको कोरोना हाल मध्य पूर्व र युरोप बिशेष गरी इटाली र स्पेनमा भयावह मानिएको छ। कोरोना प्रति बिशेषसचेत रहन दक्षिण एसियाली मुलुकलाई विश्व स्वास्थ संगठनले सचेत गराइ रहेकै छ। तर मानिसलाई आवतजावतमा रोक लगाइ नियन्त्रणमा ल्याइएको कोरोना फेरि दक्षिण एसियाली मुलुक वा अन्यत्र हुदैँ फेरी चाइना प्रवेश गरे के होला?

कुनै मानिसमा कोरोना भाइरस (SARS-CoV-2) को संक्रमण(प्रबेश) पश्चात उक्त भाइरसले आफूलाई उल्लेख्य रुपमा वृद्धि नगरे सम्म पत्ता लगाउन सकिन्न र यो अवधिलाई Window Period भनिन्छ। हामीले पत्ता लगाउन नसके पनि यस अवस्थामा रहेका भाइरस भने एक मानिसवाट अर्कोमा सर्ने सम्भावना भने नीकै नै हुन्छ। यसरी थाहै नपाइ हामी धेरै जनालाई भाइरस सार्ने “बाहक” बनिसकेका हुन सक्छौं। शरीरमा कथम् कदाचित रोग प्रतिरोधात्मक क्षमताको कमि हुन गयो भने भाइरसको संख्याको तीव्र वृद्धि पशचात रोगका लक्षणहरु देखा पर्छन।

मनन गर्नै पर्ने कुरा के भने स्वस्थ वयस्क मानिसमा भाइरसले रोग लगाउने अवस्थामा पुग्नुभन्दा अगाडि नै शरिरले आफ्नो लागि प्रतिरोधात्मक क्षमता विकास गर्न सक्छ तर त्यहि अवधिमा आफ्नोे सम्पर्कमा आउने वालक, वृद्ध , दीर्घ रोगी, अन्य रोगको सङ्क्रमणले पहिले नै विरामी भएका र अङ्ग प्रत्यारोपण गरेका मानिसहरूमा भने सङ्क्रमण फैलिएर मृत्युवरण हुने जोखिम उच्च छ।

इटालीमा मार्च १७ सम्म को स्थिति हेर्दा ३१,५०० वटा कोरोना सङ्क्रमण प्रमाणित भएकाहरू मध्ये २,५०० बढी को मृत्यु भइसकेको छ जुन अन्यत्रको तुलनामा उच्च मृत्यु दर हो। मृत्यु हुनेहरु मध्ये १८ % केसमा Italy National Health Instituteले गरेको अध्ययनले ०.८ % मात्र कुनै पनि पूर्व बिरामी नरहेका स्वस्थ मानिस हरु रहेका थिए भने २५.1% मा कुनै एक रोगको, २५.६%मा दुई रोगको र ४८.५% मा तीन वा बढि अन्य रोगको पूर्व संक्रमण रहेको पाइएको छ भने मृत्यु हुनेहरुको औसत आयु ७९.वर्ष रहेको छ।

(तथ्याङ्क स्रोत ISS Italy National Health Institute) समाजको परिकल्पना नै स्वस्थ व्यक्तिले अशक्त र आश्रितको सुरक्षा गर्ने भनेर भएको हुन्छ तसर्थ संसारमा कुनै समाज नहोला जहाँ मात्र स्वस्थ मानिसहरु रहेका होउन्। बाहक बनेर हामी आफैले आफ्ना प्रियजनको लागि खतरा भित्र्याइ रहेको हुन सक्छौं जसको लागि हामी सचेत रहन जरुरी छ। सामान्यतः कोरोना सङ्क्रमण देखि रोगका प्रारम्भिक लक्षण देखिन करिब दुई देखि तीन साता लाग्ने गर्छ। तसर्थ एउटा पनि विरामी नदेखिएको देशमा किन यस्तो (लक डाउन वा विद्यालय र सार्वजनिक क्षेत्रमा भिडभाड र जमघटमा प्रतिबन्ध, एसइइ र विश्वविद्यालयका परिक्षा स्थगन आदि)कदम भन्दै सरकारले चालेको पछिल्लो कदम प्रति प्रश्न उठाउनेहरुले एउटा सङ्क्रमण पुस्ट्याई पर्खिनु कतिको महँगो पर्न जान्छ भन्ने हेक्का राख्न जरूरी हन्छ। बरु सरकारले सक्दछ भने सबै क्षेत्रमा एकैसाथ बिदा दिने, अत्यावस्यक क्षेत्रको पहिचान गरि संबद्ध क्षेत्रका जनशक्तिलाई उचित तालिम र सतर्कताअपनाएर मात्र कार्य सम्पादनको जिम्मा दिने र मानवीय आवत जावतलाई समेत सके सम्म कम गर्ने प्रयास गर्नु पर्दछ। विद्यालय वा शैक्षिक संस्थानहरु बन्द हुँदा केहि हद सम्म रोग फैलिने सम्भावना कम भए पनि प्रभावकारी नहुन सक्छ किन कि परिवारका अन्य सदस्य जो अन्य क्षेत्रमा काम गरी रहेका छन उनिहरु पनि बाहक बनिरहेका हुन सक्छन। अहिले एक क्षेत्र बन्द गर्यो अर्को क्षेत्रमा काम गर्ने मानिसले भाइरस बोकि रहेका हुन सक्छन र भोली दोस्रो क्षेत्र बन्द गर्ने बेला पहिले बन्द गरेको क्षेत्रका मानिस काममा जान थाल्दा भाइरस लुकामारी गर्दै समुदायमा कायमै रहिरहन सक्छ। जनस्वास्थ संकायमा कुनै रोगको यस्तो अवस्थालाई ईन्डेमिक (शाब्दिक अर्थ स्थानिय) भनिन्छ। राइनो भाइरसले गर्दा हुने रुघालाई यसप्रकारको रोग मान्ने गरिन्छ (रुघा जस्तै लक्षण धुलो वा ढुसिको एलर्जीका कारण पनि हुन सक्छ) र कुनै पनि समयमा समाजमा कोहि न कोहि रुघावाट प्रभावित भइ नै रहेका हुन्छन्। तर कोरोनालाई हामी त्यस किसिमको सुबिधा दिने हैसिएत वा सामर्थ्य (हाल लाई) राख्दैनौं किनकी यसको विरुद्धको खोप जनमानस सम्म पुग्न अझै धेरै समय लाग्ने देखिन्छ भने यसको विरुद्धमा सामुहिक प्रतिरोधात्मक क्षमता (herd immunity) वृद्धि भइ इन्डेमिक अवस्थामा आउन लाखौं जिवनको मूल्य पर्न सक्छ।

तसर्थ नेपाल वा अन्य कुनै मुलुकले एकल प्रयासले मात्र हैन संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ संगठन लगायतको पहलमा विश्व व्यापि एकिकृत कार्ययोजना लागु गरी विश्व भरि नै एकै समयको सामन्जस्यता मिलाई उचित समयसीमाको लक डाउन वा सेल्फ क्वारेन्टाइन गर्न सके मात्र कोरोना विरुद्ध विश्व व्यापि नियन्त्रण सम्भव देखिन्छ। (कपिल देव खतिवडाको फेसबुक वाल बाट)

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?