कोरोना संकटः चीनबाट नेपाल फर्किन १८० जनाको निवेदन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २०, २०७६
|
|
१७ पटक हेरिएको
Shares
कोरोना संकटः चीनबाट नेपाल फर्किन १८० जनाको निवेदन

सारांश

  • काठमाडौं।
  • उत्तरी छिमेकी मुलुक चीनमा फैलिएको रहस्यमयी कोराना भाइरसले महामारीको रुप लिएपछि स्वदेश फर्किन नेपालीहरुले बेइजिङस्थित नेपाली  दूतावासलाई निवेदन दिएका छन्।
  • दूतावासले शनिबार नेपाल फर्किन चाहनेलाई निवेदन दिन आह्वान गरेपछि चीनको हुबोइ प्रान्तमा रहेका १८० जना नेपालीले स्वदेश फर्किन निवेदन दिएको जनाएको छ।

काठमाडौं। उत्तरी छिमेकी मुलुक चीनमा फैलिएको रहस्यमयी कोराना भाइरसले महामारीको रुप लिएपछि स्वदेश फर्किन नेपालीहरुले बेइजिङस्थित नेपाली  दूतावासलाई निवेदन दिएका छन्।

दूतावासले शनिबार नेपाल फर्किन चाहनेलाई निवेदन दिन आह्वान गरेपछि चीनको हुबोइ प्रान्तमा रहेका १८० जना नेपालीले स्वदेश फर्किन निवेदन दिएको जनाएको छ। हुबोइ प्रान्तको वुहान शहरमा पहिलो पटक कोरोना भाइरस देखा परेको थियो। अहिले सो भाइरसबाट सबैभन्दा प्रभावित सो शहर बनेको छ। तर, चीनका सबै शहर कोरोना भाइरस प्रभावित भइसकेका छन्। चीनमा आइतबारसम्म ३०४ जनाको सो भाइरसकै कारण मृत्यु भइसकेको चिनियाँ अधिकारीहरुले बताएका छन्।

चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपालले त्यहाँ रहेका नेपालीलाई स्वदेश फर्काउन तयारी गरेको हो। नेपालले उनीहरुलाई स्वदेश फर्काउने तयारी गरेपछि बेइजिङस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहनेबाट आवेदन मागेको थियो।

चीनबाट फर्किन चाहनेले आवेदन दिए पनि नेपालमा त्यसको आवश्यक तयारी पूरा नहुँदा कहिले फर्काइन्छन् भन्नेबारे भने निश्चित भएको छैन।

चीनबाट फर्किएका सबैलाई कम्तिमा १५ दिनसम्म छुट्टै राखेर उपचार गर्नुपर्ने भएकाले सरकारले त्यसको चाँजोपाँजो मिलाउन सकेको छैन।

सरकारले यसरी चीनबाट फर्काइएकाहरुलाई राख्ने चाँजोपाँजो मिलाउन सेनाको सहयोग लिने तयारी गरेको स्रोतले बतायो। सेनासँग स्वास्थ्य मन्त्रालय, परराष्ट्रमन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकारीहरुको लगातार बैठक चलिरहेको छ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट फर्काइएकाहरुलाई राख्ने स्थानबारे छलफल भइरहेको जानकारी दिए। तर कहाँ राख्ने भन्ने यकिन भइनसकेको उनले बताए।

सेनासँग यस्तो महामारीमा केही मानिसहरुलाई २१ दिनसम्म छुट्टै राखेको अनुभव छ। २०७१ मा अफ्रीकी मुलुकमा इबोला भाइरसको संक्रमण फैलिएपछि त्यहाँबाट फर्केका १५ जना सेनाको टोलीलाई सेनाले त्यतिबेला टोखास्थित सेनाको तालिम सेन्टरमा २१ दिनसम्म राखेको थियो। तर, यो पटक संख्या धेरै भएकाले सेनाको अस्पताल, तालिम केन्द्र वा अन्य स्थानमा कहाँ राख्ने भन्नेमा छलफल जारी छ।

चाटर्ड विमानमाफर्त चीनबाट नेपालीलाई फर्काउने तयारी भइरहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसअघि नै जानकारी दिइसकेका छन्। तर, उनीहरुलाई राख्ने स्थान निक्र्यौल नहुँदासम्म भने फर्काउने सम्भावना छैन।

चीनबाट संसारका अन्य मुलुकहरुले आफ्ना नागरिकको उद्धार गरेपछि नेपाललाई पनि आफ्ना नागरिकको उद्धार गर्न दबाब परेको छ। भारतले आइतबारसम्म आफ्ना ३०० नागरिकलाई उद्धार गरी सकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?