कोही अटोमेटिक पेस्तोल बोक्ने र कोही प्रहरी बनाउने भन्दै ठग्ने
सारांश
- काठमाडौं, ३१ भदौ ।
- दाङमा प्रहरीले युएसए अटोमेटिक पेस्तोल बोक्ने र प्रहरी बनाइदिन्छु भनी लाखौं ठग्नेलाई पक्राउ गरेको छ ।
- जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
काठमाडौं, ३१ भदौ । दाङमा प्रहरीले युएसए अटोमेटिक पेस्तोल बोक्ने र प्रहरी बनाइदिन्छु भनी लाखौं ठग्नेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माका अनुसार घोराही उपमहानगरपालिका १३ बडहरा बस्ने २७ वर्षीय वीरबहादुर चौधरीलाई भदौ ३० गते बेलुकी साढे ७ बजेतिर घोराही उपमहानगरपालिका १५ स्थित बुद्धि ग्यारेजनजिकैबाट पक्राउ गरिएको हो । चौधरीले अवैध हतियार बोकेर हिडिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीको शरीर खानतलासी गर्दा शरीरको बायाँतर्फ पाइन्टको बेल्टमा छिपाएको “मेड इन युएसए” लेखेको ७.६५ क्यालिभरको अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ र गोली ४ राउण्ड बरामद गरिएको छ । चौधरीले चलाएको रा४प २४६६ नं. (Check here) को २२० सीसीको कालो रङको पल्सर मोटरसाइकल पनि बरामद गरी अनुसन्धान भइरहेको छ 
त्यसैगरी प्रहरी बनाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ । दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा १ चरिकोट घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने ५१ वर्षीय कालीबहादुर लामालाई प्रहरीले पक्राउ गरेको हो ।
लामा र उनका केही साथीहरुले सल्यानको शारदा नगरपालिका वडा नं.३ बडाखोलाका भीमसेन भण्डारीको छोरा २० वर्षीय गणेश भण्डारी समेतका व्यक्तिहरुलाई नेपाल प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा भर्ति गराई दिन्छु भन्दै प्रत्येक व्यक्तिबाट २ लाख ५० हजार ठगी गरेको बताइएको छ । ठगीमा संलग्न कालीबहादुर लामालाई पनि भदौ २७ गते काठमाडौं महानगरपालिका वडा नं. ५ महाराजगंजमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया