को हुने मुख्यमन्त्री ? एमालेमा रडाको, पाँच नम्बरमा शंकर पोख्रेललाई हाइसञ्चो

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २० माघ ।
  • मुलुकका सातवटा प्रदेशहरुमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्दैछ ।
  • दुईवटा प्रदेशमा माओवादी केन्द्रको मुख्यमन्त्री बन्दैछन् भने बाँकी ४ वटा प्रदेशमा एमालेका मुख्यमन्त्री बन्दैछन् ।

काठमाडौं, २० माघ । मुलुकका सातवटा प्रदेशहरुमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्दैछ । दुईवटा प्रदेशमा माओवादी केन्द्रको मुख्यमन्त्री बन्दैछन् भने बाँकी ४ वटा प्रदेशमा एमालेका मुख्यमन्त्री बन्दैछन् । तीनवटा प्रदेशमा एकभन्दा बढी मुख्यमन्त्रीका आकाङ्क्षी भएकाले एमालेमा विवाद मच्चिएको छ भने ५ नम्बर प्रदेशमा भने एमाले स्थायी कमिटी सदस्य शंकर पोख्रेलको पहिले नै टुङ्गो लागिसकेकाले उनलाई हाइसञ्चो भएको छ ।

प्रदेश १ को मुख्यमन्त्री कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालबीच विवाद छ । ओली पक्षधर नेताहरुले शेरधन राई र नेपाल पक्षधरका नेताहरुले जीवन घिमिरेलाई मुख्यमन्त्री बनाउन जोडबल गर्दै आएका छन् । १ नम्बर प्रदेशमै पार्टी सचिव तथा प्रदेश नम्बर १ का संयोजनक भीम आचार्य पनि मुख्यमन्त्रीको दौडमा सामेल भएका छन् । आचार्य र राई दुबैले पार्टी केन्द्रले आफूहरुलाई नै मुख्यमन्त्रीमा प्रस्ताव गर्ने दावी छ ।

मुख्यमन्त्रीका दाबेदारहरु अहिले तीब्ररुपमा आफ्नो माहोल सिर्जना गर्न कस्सिएका छन् । सहमति नभए चुनाव गर्नुपर्ने भएपछि मुख्यमन्त्रीका दाबेदार आचार्य र राई प्रदेश सांसदलाई आफ्नो पक्षमा पार्न लागेका छन् । यतिसम्म कि पार्टीभित्रकै सांसदहरु किनबेचसम्म हुनसक्ने अडकलबाजी गर्न थालिएको छ ।

प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाबीच संयुक्त सरकार बन्ने देखिएको छ । मुख्यमन्त्री भने फोरमले बनाउने सहमति भएको छ । तर कसलाई बनाउने भन्नेमा फोरमभित्र पनि विवाद कायम छ । मुख्यमन्त्रीमा लालबाबु राउत र विजय यादवको नाम चर्चामा छ ।

प्रदेश ३ मा राजेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यबीच ठूलो लडाई चलेको छ । मुख्यमन्त्री बन्ने आशामा प्रदेशसभामै चित्त बुझाएका पाण्डेलाई उपाध्यक्ष शाक्यले चुनौति दिएपछि यहाँ पनि विवाद र चलखेल तीब्र भएको छ । यहाँ पाण्डे र शाक्यबीच कडा प्रतिष्पर्धा भएपछि केन्द्रले तेस्रो विकल्प खोजे पनि केही त्यसले सार्थकता पाउने देखिएको छैन । यी दुबै नेताहरु माधव नेपाल पक्षका मानिन्छन् ।

प्रदेश ४ मा पृथ्वी सुब्बा गुरुङ र किरण गुरुङले मुख्यमन्त्रीको दाबी गरेका छन् । यहाँ अध्यक्ष ओली पक्षकै दुई नेताहरु किरण र पृथ्वी सुब्बा नै मुख्यमन्त्रीको दौडमा छन् । दुबै नेताले जसरी पनि आफू मुख्यमन्त्री हुनुपर्ने दावी गर्दै पछाडि नहट्ने संकेत नेतृत्वलाई दिइसकेका छन् । यहाँ पनि नेताहरुबीच साम, दाम, दण्ड र भेदको खेल हुनसक्ने अनुमान लगाउन थालिएको छ ।

प्रदेश ५ मा भने स्थायी कमिटी सचिव शंकर पोखरेल मुख्यमन्त्रीका एक्ला दावेदार हुन् । उनी सर्वसम्मतिबाटै ५ नम्बर प्रदेशमा एमाले संसदीय दलको नेतामा चुनिइसकेका छन् । दाङ– २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिन चाहेका शंकर पोख्रेलले माओवादी वरिष्ठ नेता कृष्णबहादुर महरालाई छोड्न चाहेका थिएनन् । पछि दुबै पार्टीको शीर्ष तहमै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल “प्रचण्ड”ले नेता पोख्रेललाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीसहित प्रदेशमा जान भनेपछि उनी प्रदेशमा उम्मेदवारी दिन राजी भएका थिए । दुई शीर्ष नेताबाटै टुङ्गिएको विषय भएकाले यहाँ एमाले–माओवादी केन्द्र दुबै पक्षका नेताहरुले दावी गर्ने दुस्साहस गरेनन् ।

प्रदेश ६ मा पनि सहमति हुन सकेको छैन । वाम गठबन्धन अन्तरगत माओवादीले प्रदेश सरकार बनाउन लागेको ६ मा पनि दुई जनाको दाबी छ । यहाँ महेन्द्र शाही र नरेश भण्डारीबीच चर्को विवाद देखिएको छ । माओवादी केन्द्रले प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि भने डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ । यद्यपि भट्टको नाममा पनि झिनोमसिनो विवाद कायमै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?