खेलमा पस्ने वित्तिकै खेलाडी च्याम्पियन हुँदैन : प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यान्वयनको प्रारम्भिक चरण भएकोले आफ्ना अनुभवबाट सिक्दै यसलाई मजवुद बनाउनुपर्ने बताएका छन् ।
- अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नुपर्ने बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यान्वयनको प्रारम्भिक चरण भएकोले आफ्ना अनुभवबाट सिक्दै यसलाई मजवुद बनाउनुपर्ने बताएका छन् ।
अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नुपर्ने बताए ।
“मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवास जस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्” प्रधानमन्त्री ओलीले भने, “अहिले तिनलाई व्यबहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हुनसक्छौं । खेलमा पस्ने वित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघीयता त्यस्तै नयाँ खेल हो । तर यसमा हामी च्याम्पियन सावित हुनेछौं ।”
संघीयता कार्यान्वयनका लागि सरकारले गति बढाउनुपर्छ । “हामी गलत बाटोमा गएका छैनौ । संघीयता कार्यान्वयनमा गति बढाउन बाँकी छ” प्रधानमन्त्री ओलीको भनाइ छ ।
संघ, प्रदेश र स्थानीय तहको सहकार्यबाट देशलाई अगाडि बढाउनुपर्नेमा प्रधानमन्त्री ओलीको जोड छ ।
बैठकमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्ना धारणा राखेका छन् । बाँकी तीनवटा प्रदेशका मुख्यमन्त्रीले आज सोमबारको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । बैठक आज १० बजे सिंहदरबारमा बस्नेछ ।
बैठकमा संघीयता कार्यान्वयनका लागि विभिन्न मन्त्रालयबाट भइरहेका कामका विषयमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयका सचिवले जानकारी गराएका थिए ।
प्रतिक्रिया