गुल्मीको मुसिकोट नगरपालिकालाई निःशूल्क जग्गा दिनेको होड
सारांश
- ७ कात्तिक, गुल्मी ।
- गुल्मीको मुसिकोट नगरपालिकालाई लाखौं मूल्य पर्ने जग्गा दान गर्न स्थानीयवासीको होडबाजी नै चलेको छ ।
- नगरपालिकाले छिट्टै आवश्यक भौतिक पूर्वाधारहरु खडा गर्ने भनेपछि जग्गा दिनेको होड चलेको हो ।
७ कात्तिक, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकालाई लाखौं मूल्य पर्ने जग्गा दान गर्न स्थानीयवासीको होडबाजी नै चलेको छ ।
नगरपालिकाले छिट्टै आवश्यक भौतिक पूर्वाधारहरु खडा गर्ने भनेपछि जग्गा दिनेको होड चलेको हो ।
नगरपालिकाको भवन निर्माणको लागि मुसिकोट ७ निवासी कृष्णप्रसाद सापकोटा, शोभाखर सापकोटा, टिकाराम सापकोटा, बसन्त पन्थ, लोकबहादुर पन्थ, नरबहादुर काफ्ले र गंगाबहादुर पन्थसहितले मुसिकोट-७ गुठिखेत माथी तिम्लेचौरको करिब ११ रोपनी जग्गा निःशूल्क दिने प्रस्ताव गरेका छन् ।
त्यसैगरी गोल्डेन फ्युचर एकेडमी बोर्डिङ तर्फ जाने बाटोको गुठीको करिब १५ रोपनी जग्गा र क्याम्पसलाई प्रदान गरिएको १२ रोपनी जग्गा प्रदान गर्न पनि प्रस्ताव आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ७ को कार्यालयको भवन निर्माणको लागि हालको बसपार्क रहेको पहिलाको गाबिसको करिब ४ रोपनी जग्गा, हालको चौकी नजिकै कनिकेडाँडाको करिब ३ रोपनी सार्वजनिक जग्गा, साविकको वामी-९ शंखरटारीको करिब ३ रोपनी जग्गा तथा महेन्द्र आदर्श माबिको नयाँ भवन पछाडि रहेको ब्यक्तिको करिब ४ रोपनी जग्गाको प्रस्ताव पनि आएको छ ।
त्यसैगरी सभाहल निर्माणको लागि ढावरोडको सार्वजनिक जग्गा करिब ३ रोपनी, बोधिनी खोलास्थित तीन रोपनी ब्यक्तिगत जग्गा दान गर्न पनि प्रस्ताव गरिएको छ ।
खेल मैदान निर्माणको लागि वामी बजार निवासी हरिहर सापकोटाको घर पछाडिको सार्वजनिक जग्गा र ढालबहादुर जिसीको करिव ५ रोपनी जग्गा प्रस्ताव आएको छ ।
बसपार्क निर्माणको लागि पुरानो बसपार्क पछाडि बाँङ्गे भन्ने स्थानमा रहेको सार्वजनिक जग्गा तथा कृष्णहरी सापकोटा, तिलाराम सापकोटा, ढालबहादुर जिसी, तिर्थमणी सापकोटा र कमला कार्कीबाट करिब १० रोपनी जग्गाको प्रस्ताव आएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।
प्रतिक्रिया