गैरआवासीय नेपाली संघको सहयोगमा पत्रकार पुस्तकालयको शिलान्यास
सारांश
- काठमाडौं, २५ असोज ।
- गैरआवासीय नेपाली संघको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघमा पत्रकार पुस्तकालय तथा स्रोतकेन्द्रको शिलान्यास गरिएको छ ।
- महासंघमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघमा बन्ने पत्रकार पुस्तकालय तथा स्रोतकेन्द्रले पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै सहयोगका लागि गैरआवासीय नेपाली संघप्रति धन्यवाद व्यक्त गरे ।
काठमाडौं, २५ असोज । गैरआवासीय नेपाली संघको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक सहयोगमा नेपाल पत्रकार महासंघमा पत्रकार पुस्तकालय तथा स्रोतकेन्द्रको शिलान्यास गरिएको छ ।
महासंघमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघमा बन्ने पत्रकार पुस्तकालय तथा स्रोतकेन्द्रले पत्रकारको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै सहयोगका लागि गैरआवासीय नेपाली संघप्रति धन्यवाद व्यक्त गरे ।
गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले पत्रकारिता राज्यको महत्वपूर्ण अंग भएका कारण महासंघसँग सहकार्य गरेको बताए । अध्यक्ष भट्टले समृद्ध नेपालका लागि गैरआवासीय संघ लागिपरेको धारणा राखे ।
नेपाल लाइब्रेरी फाउण्डेशनका अध्यक्ष कपिलदेव थापाले आफूहरुले क्यानडामा सिकेको आधुनिक पुस्तकालय सम्बन्धी सीपलाई नेपालका विभिन्न सामुदायिक संघसंस्थामा सहयोग गरिरहेको बताए । उनले नेपालको पत्रकारिता क्षेत्रसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।
महासचिव रमेश विष्टले पुस्तकालयलाई जीवन्त राख्न आगामी दिनमा गैरआवासीय संघको रचनात्मक सहयोगको खाँचो रहेको बताए । त्यस्तै पुस्तकालय स्थापनामा संयोजकको भूमिका निर्वाह गर्ने महासंघकी पूर्वउपाध्यक्ष अनिता विन्दुले पुस्तकालय स्थापना सम्बन्धमा लामो समयदेखि छलफल भएको र आज यसले मूर्तरुप पाएको बताइन् । विन्दुले अबको नौ हप्ताभित्र पुस्तकालय निर्माण सम्पन्न हुने बताइन् ।
गैरआवासीय संघका प्रवक्ता भूषण घिमिरेले गैरआवासीय संघले विगतमै गरेको प्रतिवद्धतालाई मूर्तरुप दिन लागेको बताए । घिमिरेले समाजलाई सही मार्ग देखाउन पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकोले महासंघसँग सहकार्य गर्न लागेको बताए । पुस्तकालय क्षेत्रमा क्रियाशील इन्जिनियर रमेश मैनालीले महासंघमा स्थापना हुने पुस्तकालय विगतका भन्दा आधुनिक हुने जानकारी दिए ।
प्रतिक्रिया